अमेरिका मोहले ५५ लाख डुबाएका नारायणको पीडा – ‘गाँसबास नै गुमाएँ’

By सीता न्यौपाने

October 23, 2024

काठमाडौं – रुकुमपूर्व सिसे गाउँपालिका–५ का नारायण छन्तेल (३७) तल्लोबाटो हुँदै अमेरिका पुग्ने सपना देख्दा ५५ लाख रुपैयाँ ऋणमा डुबेका छन् ।

गाउँमा घरलौरी मानिस अमेरिका गइरहेका थिए । सो देखेर छन्तेलमा पनि अमेरिका पुग्ने सपना पलाएको थियो । त्यहीबखत आफ्नो निकै निकट साथीले अमेरिका जाने सपना देखाएपछि त रहरमा थप पखेटा लागेको थियो ।

अब छन्तेलले आफूले गर्दै आएको व्यवसाय चटक्कै माया मारेर रकम जुटाउन थाले । जीविको निर्वाह ठिकै थियो, तर सन्तानको भविष्य राम्रो होस् भन्ने चाहनाले उनमा तल्लो बाटो भएपनि अमेरिका जाने भूतसवार भयो ।

विभिन्न देश हुँदै अमेरिका प्रवेश गर्ने योजना दुई वर्षसम्म पनि पूरा हुन नसकेपछि दशैँको केही दिनअघि उनी नेपाल घर फर्किएका छन् ।

दुई वर्ष खाडी मुलुकमै नियमित काम गरेका श्रमिक पनि शानले घर फर्कन्छन् । तर, छन्तेलसँग आँसु, निराशा र थकान मात्रै बाँकी रह्यो । खुसी होउन् पनि कसरी ? अमेरिका मोहले जसको टाउकामा ५५ लाख रुपैयाँ ऋणको बोझ बोकाएको छ ।

छन्तेल सकुशल घर त फर्किएका छन्; तर अब के गर्ने, कहाँबाट के काम सुरु गर्ने ? उनी अन्यौलमा छन् । ‘अमेरिका सपना देखाउने’ साथीहरू यतिबेला फरार छन् । त्यसले उनीमाथि झनै निराशा थपिएको छ । उनलाई देशविदेश गराउँदाको खर्च काटेर ‘बाँकी पैसा मात्रै फिर्ता देऊ’ भन्दा पहिले ‘हुन्छ’ भनेर फुत्किएका साथीहरू अनुहार लुकाएर भागेका छन् ।

यत्तिका गोता खाँदा पनि उनलाई अझै साथीहरू सम्पर्कमा आउने र आफ्नो पैसा फिर्ता हुने आशा छ । यही आशाले प्रहरीमा उजुरी दिन पनि गएका छैनन् ।

नारायणलाई अमेरिका पुर्‍याउने आश्वासन दिँदै ५५ लाख रुपैयाँ ठगेका भनिएका आशिष देवकोटा र प्रकाश खड्का ।

खबरहबसँग कुरा गर्दै उनले आग्रह गरे, ‘साथी ! तिमीहरू नभाग, बचेखुचेको मेरो पैसा फिर्ता देऊ । तिमीहरूलाई थाहै छ – त्यो पैसा मैले चर्को ब्याजमा लिएको ऋण हो ।’ उनले आफूलाई प्रहरीकहाँ जान बाध्य नपार्न पनि आग्रह गरेका छन् ।

तेस्रो बाटो हुँदै अमेरिका जाने योजना कस्तो थियो ? छन्तेलले आफ्नो अनुभव यसरी सुनाएका छन् :

घरलौरी अमेरिका रहर

परिवारमा मेरी श्रीमती सीता मल्ल र एक ६ वर्षका छोरा छन् । अङ्ग्रेजी विषय लिएर मैले १२ कक्षा (प्लस टु) सकेको छु ।

आफ्नै इलेक्ट्रिसियन, प्लम्बर र टायल मार्बलको पसल थियो । आशिषकुमार देवकोटाले फोनमा कुरा गरेर ‘म पनि जाँदैछु, तिमी पनि हिँड, नेपालमा बसेर काम छैन । अमेरिका गएर टन्न कमाउनुपर्छ, तीन महिनाभित्र अमेरिका लैजान्छु’ भन्यो ।

देवकोटा पहिले देखिकै चिनजानका साथी हुन् । उनी जिल्ला प्रशासन कार्यालयमा गाडी चलाउने काम गर्थे । सदरमुकाम जाँदा साथीभाइहरूसँग बोल्दा–बोल्दै उनी पनि साथी भएका थिए । उनको दाइको टिभी केबल थियो । गइराख्थेँ । भाइको नातो लगाएर स्नेह गर्थे ।

देवकोटाको घर रुकुम पश्चिम खलङ्गा हो । एकअर्कालाई चिनेको १० वर्ष भैसकेको थियो । एक कलमै उसको कुरामा विश्वास गरे । यस्तो विश्वासको मानिसले ‘व्यापार व्यवसाय तुरुन्त छोडेर आइहाल’ भनेर काठमाडौं बोलाएपछि आँखा चिम्लिएर त्यसै गरेँ । अहिले भइरहेको व्यवसाय भन्दा धेरै गर्छु भन्ने सोचेर पसल बेचेँ । राम्रै हुन्छ र राम्रो गर्नुपर्छ भनेरै उसको भनाइमा मानेँ ।

यहाँ गाउँमा ‘अमेरिका जान नसक्ने त मान्छे नै होइन’ जस्तो भइसक्यो । एक घर छोडेर अर्को घरको मान्छे अमेरिका गएका छन् । त्यसकै भूत लागेर म पनि जान्छु भन्ने भयो । यहाँका धेरै मानिसहरू तल्लो बाटो भएरै अमेरिका पुगेका छन् ।

उसले अमेरिका पुर्‍याउन सकेन, तर मेरो पैसा फिर्ता त गर्नुपर्‍यो । उसलाई दिएजति पनि मागेको छैन । केही प्रतिशत माग्दा उसले ‘सुरुमा दिन्छु’ भनेको थियो । तर अहिले भागेर हिँड्यो । मैले ब्याजमा लिएको पैसा हो । कसरी मन मार्न सक्छु ? मेरो साहूले मलाई छोड्दैन ।

हुँदाखाँदाको पसल बेचेँ । यो दुई वर्ष अमेरिका छिर्ने भनेर पाएको दुःख आफ्नो ठाउँमा छ । अर्को ब्याज बढेको बढ्यै छ, त्यो ऋण कसरी तिर्ने ? अब के गर्ने ? कसरी परिवार हेर्ने ? कहाँबाट के सुरु गरौँ ? सोच्न सकिरहेको छैन ।

अनि शुरु भयो नारकीय यात्रा…

मैले पहिले दुबईको भिषा लगाएँ । २०८९ साउन १९ गते हिँडेको म दुबईमा १३ दिन बसेँ । दुबईमा हामी अमेरिका हिँडेका आठ जना थियौं ।

त्यहाँ एक फ्ल्याटमा १३ दिन राखेर अफ्रिका लगे । अफ्रिकामा एयरपोर्टमै पैसा तिरेर तीन महिनाको भिषा लगाउन सकिने रहेछ । अनअराइभल भिषा भन्ने हुने रहेछ । तान्जानिया भन्ने ठाउँमा पुगियो ।

त्यहाँ एक कोठामा आठ महिना राख्यो । बाहिर निस्कन पाइँदैनथ्यो । खाँदै, बस्दै र सुत्दै त्यत्रो महिना बितायौं । नेपालदेखिकै टिकट बनाएर टर्की लगे । टर्की एयरपोर्टभित्रै १९ दिन बसेँ । त्यहाँ बस्दा मलाई अमेरिका पुर्याउने जिम्मा लिएकाहरूले केही गरेनन् । टिकट बनाइदिएनन् । डकुमेन्ट नै छैन त कहाँ जाने ?

त्यहाँ प्रहरीले त्यति धेरै सोधखोज गर्दैन । दिउँसो त झन् कत्ति पनि गर्दैन । रातिमा भने जोगिनुपर्ने रहेछ । शंका लागेपछि मात्रै प्रहरीले पक्राउ गर्छ । १९ दिनको दिन मलाई पक्राउ गरे । र, भोलिपल्ट नेपाल पठाइदिए । विभिन्न देशबाट तल्लो बाटो अमेरिका हिँडेका २५० जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

भारत, अफ्रिका र पाकिस्तान लगायतका देशहरूबाट थियौँ । देवकोटाले जे जे भने – त्यही त्यही गर्दै गएँ । पहिले दुबई जाने बेला १० लाख रुपैयाँ तिरेँ । त्यसपछि अगाडि अफ्रिका जाने बेला अर्को १० लाख रुपैयाँ तिरेँ । अफ्रिका आठ महिना बसेपछि फेरि पाँच लाख रुपैयाँ तिरेँ । टर्की पुर्याउँदा अब काम हुन्छ भनेर अर्को पाँच लाख रुपैयाँ तिरेँ ।

टर्कीबाट प्रहरीले नेपाल फिर्ता पठाइदियो । नेपाल फर्केको १२ दिनमा फेरि दोस्रोपटक दुबई लगे । त्यहाँ १० दिन राखेर उज्वेकिस्तानको भिषा लगाएर लगे । त्यहाँ मलाई एक्लै लगे । त्यहाँ पुगेपछि १५ लाख रुपैयाँ थप्न लगाए ।

प्रकाश खड्काले नेपालबाट डकुमेन्ट बनाउने काम गर्थ्यो । खड्काले नै १५ लाख रुपैयाँ थप्न लगाएर आफू भने ब्राजिल गएछ । मेरो पैसाले विदेश गएर त्यो मान्छे सम्पर्कविहीन भयो । आशिष र प्रकाश दुवै सम्पर्कविहीन भए ।

घरबाट पैसा मगाएर भिषा थप्दै बसिरहेँ । प्रत्येकपल्ट १०० अमेरिकी डलर तिर्नुपर्थ्यो । केही गर्लान्, सम्पर्कमा आउलान् भन्ने आश गर्दै तीन महिना बिताएँ । म त्यहीँ हुँदाहुँदै उनीहरू सम्पर्कविहीन भए ।

आशिष अमेरिका छिर्‍यो । उनीहरू पनि इक्वेडरको भिषा निकालेर गए भन्ने सुनेँ । मेरो पैसा प्रयोग गरेर उनीहरू अमेरिका गए । मलाई अलपत्रै छोडिदिए । प्रकाशले मेरो ‘४० लाख रुपैयाँ आशिषलाई दिएको छु’ भनेर मेसेज पठायो । त्यसपछि त्यो नम्बरबाट मलाई ब्लक गर्‍यो ।

पैसा नगदी, काम उधारो

उनीहरूले किरण गौतमको नाममा पैसा जम्मा गर्न लगाउँथे । गौतमले ‘प्रकाशले लिएको छ’ भन्थे ।

तीनपुस्ते निकाल्दा किरण गौतमको ट्रान्जेक्सनमा ५/७ करोड रुपैयाँ देखिएको छ । गौतमसँग चिनजान थिएन । आशिषले नै ‘गौतमको खातामा जम्मा गर्दिनू’ भन्थे । अर्को पाँच लाख शालिकराम बानियाँको खातामा जम्मा गर्न लगाए ।

२५ लाख किरणको खातामा, पाँच लाख शालिकराम र १५ लाख रुपैयाँ राजेन्द्र चन्द भन्नेको खातामा जम्मा गर्न लगाए । एकै व्यक्तिमा ट्रान्जिक्सन धेरै देखिन्छ भनेर फरक–फरक व्यक्तिको खातामा जम्मा गर्न लगाउँथे ।

उज्वेकिस्तानबाट टर्की फर्किएँ । त्यहाँबाट त केही होला भन्दै बसेँ । देवकोटाको टिकट बनाउने ‘ब्ल्याक आइ जर्नी’ ट्राभल काठमाडौंमा छ, त्यहाँको वनर नवीन मुखिया छन् । आशिषले मेसेज गरी ‘ट्राभलमा सबै भनेको छु, अब त्यसले काम गर्दिन्छ’ भन्यो । नवीनले ‘काम गर्दिन्छु’ भनेपछि टर्की एयरपोर्टमा थप २६ दिन बसें ।

टर्की एयरपोर्ट विश्वकै केन्द्र हो । २० डलरले एक दिनलाई खान बस्न पुग्छ । दिनभरि सुते पनि कसैले केही भन्दैन । रातमा प्रहरीले केरकार पार्छ, जोगिनुपर्छ । लुक्दै बसेको हुँ । यता र उता गर्दै ठाउँ परिवर्तन गर्दै बस्नुपर्छ ।

दोस्रोपटक पनि टर्कीबाट नेपाल फर्किएँ । त्यसपछि पनि आशिषले सम्पर्क गर्‍यो । ‘नवीनलाई भनेको छु, त्यसले सबै काम गर्छ । डकुमेन्ट लगेर दिनू, पैसा त्यहाँ ट्राभलमा दिएको छु । तिम्रो केही पैसा त्यसले दिन्छ’ पनि भन्यो ।

नेपाल आएर नवीनसँग कुरा राखँे । ‘हुन्छ म काम गर्छु’ भन्यो । धेरैपटक गएँ, तर पछि उसले ‘मलाई दिएको हो र पैसा ?’ भन्न थाल्यो । अब पैसा त उसको खातामा जम्मा गरेको होइन, उसलाई दिएको पनि होइन ।

नवीनले ‘एक लाख रुपैयाँसम्म हेर्न सक्छु’ भन्यो । तर आशिषले ‘नवीनले १० लाख दिन्छ’ भनेको थियो । अहिले भर्खरै नेपाल आइपुगेँ । दुईवटा दशैँ बाटोमै बित्यो । न यता, न उताको भैयो ।

ऋणको साँवाब्याज ५५ लाख रुपैयाँ पुग्यो । १० लाख रुपैयाँभन्दा बढी रकम यता र उता गर्दा सकियो । मैले खाएको र हिँडेको खर्च मागेको छैन । त्यो बाहेक अमेरिका पुर्याउन लिएको फिस पुर्याउन नसकेपछि फिर्ता गर्नुपर्‍यो भन्ने मेरो कुरा हो ।

आफन्त र साथीभाइसँग ब्याजमा काढेको पैसा हो । दुःख गरेर एउटा सानो घर र एउटा जग्गा किनेको थिएँ । केटाकेटीको भविष्य राम्रो होला भनेर विदेश जाने योजना बनाएका थियौं ।

वैदेशिक रोजगार विभागमा गएर उनीहरूको तीन पुस्ते निकाल्न लगाएँ । उजुरी गरेको छैन । मेरो साथी हो, मेरो ऋणमा लिएको पैसा खाएर उसले भाग्न मिल्दैन । त्यसकारण प्रहरीकहाँ उजुरी दिन गएको छैन ।

यसरी भागेर हुँदैन । मेरो पैसा फिर्ता देऊ । नत्र मैले उजुरी गरेँ भने तिमीहरू स्वतः डिपोर्ट हुन्छौ, मलाई एक्सनमा जान बाध्य नपार्नू ।

अरू पनि ४० लाख, ४५ लाख रुपैयाँ बुझाएकाहरू पनि थुुप्रै छन् । मैले ४५ लाखमा १५ लाख रुपैयाँमात्रै भए पनि देऊ भनेको हो । कमसेकम केही ऋण तिर्न पुग्छ । अब यहाँ जिरोबाट सुरु गर्नुपरेको छ ।

किरण गौतम पनि भेटिएको छैन । उसलाई अरू साथीहरूले उजुरी गरिसकेका छन् ।

पटकपटक बैंक खातामा रकम जम्मा गरिदिएका भौचरहरूः