राजनीति

माओवादीको विधान सम्मेलन : ‘बमवार्ड द हेडक्वार्टर’ को तयारी

By ज्ञानु घिमिरे

January 23, 2024

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले फागुन १ देखि विधान सम्मेलन गर्दैछ । माओवादी नेताहरू यतिखेर सम्मेलनको तयारीमा जुटेका छन् ।

फागुन १ देखि ३ सम्म हुने सम्मेलनको तयारीका लागि विधानको मस्यौदा लेखन तथा अध्ययनको काम अन्तिम अवस्थामा पुगेको महासचिव देव गुरुङले खबरहबलाई बताए । गुरुङका अनुसार विधान सम्मेलनमा विधान पारित गर्ने तथा नीतिगत कुराहरूमा छलफल हुनेछ । राजनीतिक सांगठनिक प्रतिवेदनमा पनि छलफल हुनेछ ।

माओवादीको शब्दकोषमा एउटा पदावलि छ,‘बमवार्ड द हेडक्वार्टर’। चीनमा सर्वहारा सांस्कृतिक क्रान्तिका बेला पार्टी नेतृत्वविरुद्ध चलेको अन्तरसंघर्षलाई यो पदावलिले सम्झाउँछ।

हुन त अहिले माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा बोल्न सक्ने आँट भएको नेता जन्मेको छैन । तर, प्रचण्डको कार्यशैलीविरुद्ध पार्टीभित्र ठूलो असन्तुष्टि गुम्सिँदै गएको छ । यो असन्तुष्टि विधान सम्मेलनमा प्रकट हुने संकेतहरु देखिएका छन् ।

पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाका अनुसार २८ पुसमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा रहेको सात सदस्यीय मस्यौदा समितिले प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो ।

प्रचण्ड निकट स्रोतका अनुसार हाल उनले त्यो मस्यौदालाई सानो टिम बनाएर केलाइरहेका छन् ।

विधान सम्मेलनमा माओवादीले गत महाधिवेशनले लिएको कार्यदिशालाई थप व्याख्या र छलफल गरेर परिमार्जन गर्ने माओवादी सचिव राम कार्की बताउँछन् । साथै विधानमा प्रस्ताव गरिएका कुराहरू छलफलमा जाने उनको भनाइ छ ।

कार्कीले खबरहबसँग भने, ‘गत महाधिवेशनले लिएको कार्यदिशाको बारेमा थप छलफल र परिमार्जन भएको छैन । महाधिवेशनले जुन लाइन लिएको थियो,त्यो लाइनमा पार्टी हिँडेको छ छैन, त्यसको समीक्षा हुन्छ ।’

माओवादीले पुस २०७८ मा महाधिवेशन गरेको थियो । त्यसमा कार्की र अध्यक्ष प्रचण्डले भिन्नाभिन्नै राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए । तर कार्कीको दस्ताबेज अध्ययन नगरी अध्यक्ष प्रचण्डले तयार गरेको दस्ताबेज पारित भएको थियो ।

रूपान्तरण अभियानको समीक्षा हुने माओवादीले चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाएको थियो । विधान सम्मेलनअघि पार्टीलाई कस्तो बनाउने भन्नेबारे जनतासँग छलफल गर्ने भन्दै उसले भदौ १७ देखि मंसिर १७ गतेसम्म जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो।

जनतासँग माओवादी विशेष अभियान भनेर ६ हजार ७ सय वडामा पुगेर माओवादीले चार महिने अभियान चलाएको थियो। विधान सम्मेलनमा रूपान्तरण अभियानको पनि समीक्षा हुने नेताहरुले बताएका छन् । साथै नेताहरुको कार्य विभाजनको विषयमा समेत छलफल हुने बताइएको छ । प्रवक्ता सापकोटाले भने, ‘अभियानको निर्मम समीक्षा हुन्छ।’

उनले खबरहबलाई भने, ‘हामीले चार महिने अभियानमा सबै जनतासँग भेटेर सल्लाह सुझाव, गुनासा र प्रश्न समेत लिएका छौ । यसलाई विधान सम्मेलनमा गम्भीर तरिकाले बहस गछौं ।’

चार महिने अभियान सकेर विधान सम्मेलनमा फर्किने घोषणा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले २१ साउन २०८० मा गरेका थिए । उनले भनेका थिए, ‘यो बैठकबाट निक्लँदै गर्दा यो भन्न सक्छौँ कि हामी एक ढिक्का भएका छौँ, विधि पद्दतिभन्दा बाहिर जाने छैनौं । माओवादी अब फेरि जाग्नेछ ।’

सबै केन्द्रीय सदस्यले धारणा राख्ने महासचिव गुरुङका अनुसार विधान सम्मेलनमा माओवादी केन्द्रका सबै केन्द्रीय सदस्यको धारणा लिइने छ । माओवादी हाल तीन सय ७३ केन्द्रीय सदस्य छन् ।

गुरुङले भने, ‘सबै केन्द्रीय सदस्यको सुझाव राख्ने र घनिभूत छलफल गर्ने कार्यक्रम छ ।’

छलफल भएका विषयहरू सर्वसम्मत रूपमा पारित हुने कुरामा नेतृत्व ढुक्क छन् । तर, युवा पुस्ताले माओवादीका बारेमा विगतदेखि वर्तमान अवस्थाको विषयमा गम्भीर भएर सोच्न र सुझाव दिन माओवादी सचिव राम कार्की आग्रह गर्छन् ।

उनी भन्छन्, ‘कम्तीमा पनि माओवादीका युवा साथीहरूले समाजमा भएको कुरा जस्ताको त्यस्तै राख्न सक्नुपर्छ । जनताप्रति माओवादीमा चरम निराशा देखिएको छ ।’

नेतृत्व हस्तान्तरणको कुरा उठाउने दोस्रो तहका नेताको तयारी प्रचण्डले २०४८ सालदेखि नै पार्टी एकलौटी ढङ्गले चलाउँदै आएका छन् । ‘बाजेले मर्ने बेलामा ढुकुटीको चाबी सन्ततिलाई जिम्मा लगाएजस्तो स्ववेच्छाले नेतृत्व हस्तान्तरण कहीँ पनि हुँदैन । तल्लो तह र नयाँ पुस्ताले यसलाई रिप्लेस गर्न सक्नुपर्छ, माओवादीका एक पदाधिकारीले भने,’ चुनौती हटाएर अगाडि बढ्ने हो ।’

नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको कुरा अघि बढ्ने माओवादी दोस्रो तहका नेताको भनाइ छ । यसमा पार्टी सचिव राम कार्की पनि सहमत छन् । उनी भन्छन्, ‘राजनीतिक घम्साघम्सी गर्न लाचार रहनु हुँदैन । आफ्ना विरोधी र आफ्ना उत्तराधिकारी पनि आफैंले चुन्ने परम्परा रहनुहुँदैन । म त कुरा उठाउने हो ।’

तर, विधान सम्मेलनमा तत्काल नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको कुरा नउठ्ने महासचिव गुरुङ बताउँछन् । उनले खबरहबसँग भने ‘व्यक्तिको र पात्रको विषयमा कुरा चल्दैन । विधि र विधान बनाउने कुरा हो ।’

तर,सम्मेलनमा नेतृत्वको विषयमा पनि बहस गर्ने अर्को धारको तयारी छ । महासचिव देव गुरुङको कार्यशैलीप्रति जनार्दन शर्मा र वर्षमान पुन लगायतका नेताहरु असन्तुष्ट छन् । त्यस्तै प्रचण्डसँग राम कार्की र जनार्दन शर्मा लगायतका नेताहरू असन्तुष्टछन् । उपाध्यक्ष नाराणकाजी श्रेष्ठ पनि प्रचण्डसँग सन्तुष्ट छैनन् ।

समय ७० वर्ष कटेका नेताहरू घ्यार घ्यार गरुञ्जेल नेतृत्वमा बसिनरहने चर्चा माओवादीभित्र विगत जनयुद्धकालदेखि नै चलेको थियो । तर, त्यसका लागि नेतृत्व अहिलेसम्म तयार नभएको पार्टी सचिव राम कार्कीले पटक–पटक कुरा उठाउँदै आएका छन् ।

प्रचण्डले अझै ७–८ वर्ष नेतृत्व छाड्ने कुरा नरहेको स्रोतको भनाइ छ ।यसअघि पार्टीका सबै तहमा २० प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने भनिए पनि केन्द्रीय समितिमा १० प्रतिशत मात्रै आरक्षणको व्यवस्था गरिएको छ ।

माओवादीका एक पदाधिकारीले भने, ‘अध्यक्ष प्रचण्डको नेतृत्व अझै ७–८ वर्ष निरन्तर रहन्छ ।’