काठमाडौं– कैलाली, नवलपरासी पूर्व र सुनसरीकाे सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका-२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-५ बेलवा बस्ने २५ वर्षीय कालु बिकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, नवलपरासी पूर्वकाे गैंडाकोट नगरपालिका-१५ मुक्तिनाथ टोलस्थित सडकमा प्रदेश.३- ०३-००१ प ६०३४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय होम बहादुर गुरुङको सोमबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, सुनसरीकाे हरिनगरा गाउँपालिका-१ गोडियारी टोलस्थित सडकमा भुटाहा चोकबाट फुलचोकतर्फ जाँदै गरेको प्र १-०५२ प ३८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय वीरेन्द्र बहदारको मृत्यु भएको छ ।
मोटरसाइकले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पारस अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।