भरतपुर- भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते (मार्च १ तारिख) मा हुँदैछ । भ्रमण वर्षमा यहाँ आउने पर्यटकका लागि विभिन्न प्याकेजसँगै दुर्लभ पाटेबाघ सहजै देख्न पाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले एकाधले मात्रै बाघ देख्ने अवसर पाउँछन् ।
निकुञ्जले भ्रमण वर्षसँगै यहाँ आउने पर्यटकका लागि खोरमा बाघ देखाउने व्यवस्था गर्दैछ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार भरतपुर महानगरपालिकाको देवनगर रेष्जपोष्ट नजिक दक्षिणकाली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा खोर निर्माण सम्पन्न गरिएको छ ।
बाघ हेर्नका लागि मचान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तिवारीका अनुसार अब केही दिनमा मचानको काम सम्पन्न हुन्छ । निकुञ्जले रु ५० लाख खर्च गरेर त्यहाँको वन्यजन्तु उद्धार केन्द्रमा बाघका लागि खोर निर्माण सम्पन्न गरेको छ ।
सँगै महानगरपालिकाको सहयोगमा मचान र पहुँच सडक निर्माण हुँदैछन् । उनको भनाइमा भ्रमण वर्ष उद्घाटन अघि नै त्यहाँ बाघ लगिनेछ । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा एउटा पोथी र तीन भाले बाघ खोरमा छन् ।
यसैगरी, सौराहामा दुई भाले छन् । ती बाघ हिंस्रक बनेपछि नियन्त्रणमा लिएर खोरमा राखिएको छ । तीमध्येबाट वा थप हिंस्रक बाघ नियन्त्रण गर्नु परेमा त्यसलाई खोरमा ल्याइँदै छ । पर्यटकलाई मचानबाट बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको हो ।
भ्रमण वर्षलाई लक्षित गरी मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल र बीस हजारी तालमा सरसफाइको काम भइसकेको छ । भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जिप सफारीको पुराना रुटमा पनि सरसफाइ गरिसकेको छ । पर्यटकीयस्थलमा नक्सा म्याप राख्ने काम गरिएको उनले जानकारी दिए ।
निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसेमैदानलाई पनि व्यवस्थित बनाउने काम भइरहेको छ । मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्वारलाई शृङ्गार गर्ने काम गरिएको छ भने निकुञ्जको मुख्यालय कसरामा सरसफाइ र रङ रोगनको कार्य भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने पर्यटकले सहजै बाघ देख्न पाऊन् भन्ने उद्देश्यले देवनगरको वन्यजन्तु उद्धार केन्द्रमा महानगरले समेत लगानी गरेर बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको बताए ।
त्यहाँ मचान निर्माण र पहुँच मार्गका लागि महानगरपालिकाका तर्फबाट काम धमाधम भइरहेको उनको भनाइ छ । उनले भने, “अब निकुञ्ज घुम्न आउनेले बाघ देखिनँ भन्न पर्दैन ।” भ्रमण वर्षमा आउने स्वदेशी र विदेशी पर्यटकको प्रमुख गन्तव्य निकुञ्ज भएको जनाउँदै उनले निकुञ्ज प्रवेश गर्ने नाका र भ्रमणका गन्तव्यमा पर्यटकका लागि सहजीकरणको काम भइरहेको जानकारी दिए ।