ब्रेकिङ स्टोरी

मधेश सरकारबाट बाहिरियो जनमत, केन्द्रबाट पनि बिदा हुने तयारी !

By ज्ञानु घिमिरे

January 23, 2024

काठमाडौं– जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । जनता समाजवादी पार्टीले चरम दमन गरेको र काम नै गर्न नदिएको भन्दै जनमतले दुई जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको हो ।

जनतमतबाट मधेश सरकारमा शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सहभागी छन् । उनीहरू दुबैले मंगलबार लिखित पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

सात दलीय गठबन्धन सरकारमा जनमत पार्टी पनि संलग्न छ । तर, मधेशमा जसपाका तर्फबाट मुख्यमन्त्रीमा सरोजकुमार यादव छन् । मुख्यमन्त्री यादवले आफ्ना मन्त्रीहरूलाई चरम दमन गरेको र काम नै गर्न नदिएको जसपाका अध्यक्ष सीके राउतले बताए ।

उनले खबरहबलाई भने, ‘हामीलाई राम्रो व्यवहार गरिएन । यहाँहरूलाई थाहा नै छ । हाम्रो पार्टीबाट शिक्षामन्त्री हुनुहुन्छ । उहाँलाई थाहा नदिइकन मुख्यमन्त्री र जसपा पार्टीले मनपरी गरिरहेको छ । हामी अब के गर्ने ?’

मधेश कृषि विश्वविद्यालयको उद्घाटन समारोहमा जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर जनमतलाई थाहा नै नदिइ उद्घाटन गरिएको जनमत पार्टीको भनाइ छ ।

अध्यक्ष राउतले भने, ‘हाम्रो शिक्षा मन्त्रीलाई थाहा नै नदिईकन आफूखुसी गरिरहेको छ । हामी यस्तो सरकारमा बसेर के गर्ने ? हामी जनताको काम गरिरहेका छौँ । हामीलाई बिना जानकारी जे मन लाग्छ त्यही गरेर किन बस्ने ?’

पार्टी उपाध्यक्ष नरेन्द्र चौधरीले भने, ‘व्यवहार सच्याउन बारम्बार भनिएको भए पनि सुधार भएन । यस्तो सरकारमा बसेर के फाइदा ?’

सप्तरीबाट ०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउत र जसपा अध्यक्ष यादवबीच प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा यादवलाई राउतले पराजित गरेका थिए । यहाँदेखि नै राउत र यादवबीच टकराव सुरु भएको हो ।

यस्तै, उपनिर्वाचनमा पनि गठबन्धन हुँदाहुँदै राउतले यादवविरुद्ध उम्मेदवारी दिएका थिए । यद्यपि, राउतले भने आफूले यादवलाई सधैं सम्मान गर्ने भएपनि यादव आफूविरुद्ध लागेको आरोप लगाउँदै आएका छन् ।

उनले खबरहबलाई भने, ‘मेरो मुखबाट तपाईँले कहिल्यै उहाँका बारेमा नराम्रो सुन्नुभएको छ ? मैले जहिले पनि उहाँलाई ‘एप्रिसिएट’ गरेको छु । तर उहाँमा त्यो प्रवृत्ति देखिएन ।’

यसैबीच, जनमतले संघीय सरकारबाटसमेत बिदा हुने तयारी गरेको छ । प्रधानमन्त्रीले जुनसुकै बेला फिर्ता बोलाए पनि आफूहरु सरकारबाट फिर्ता हुन तयार रहेको राउतको भनाइ छ ।

राउतले भने, ‘केन्द्रीय सरकारमा पनि हामीलाई लोभ छैन ।’

यता उपाध्यक्ष चौधरीले पनि केन्द्र सरकारबाट बाहिरिनका लागि पनि जसपाले तयारी गरिरहेको जानकारी दिए ।

उनले भने, ‘हामी जनताको सेवक हौँ । अन्याय हुन्छ भने बसिँदैन ।’

पछिल्लो विकसित घटनाक्रमबारे खबरहबले जसपा अध्यक्ष उपेन्द्र यादवका साथै पार्टीका अन्य पदाधिकारीलाई बारम्बार सम्पर्क गर्न खोज्दा सफल हुन सकेन ।