समाचार

मोरङमा लरी पल्टिँदा तीन जनाको मृत्यु

By खबरहब

February 23, 2024

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा लरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन् ।

आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उनले बताए। लरी पल्टिँदा तीन जना बालकबालिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताए ।

बिहान ७ बजे उद्योगतर्फ जाँदै गरेको लरी दुर्घटना भएको थियो। उक्त लरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन् ।