समाचार

थापाथली अस्पतालबाट बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी

By खबरहब

February 23, 2024

काठमाडौं – थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको हो । बच्चा खोजिका लागि प्रहरी टोली खटाइएको उनले बताए ।

प्रहरीका अनुसार काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको हो । अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले लिएको उजुरीमा उल्लेख छ ।

बच्चा लिएको केही समयमा ती महिला फरार भएको बताइएको छ । शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ ।