तस्वीर- खामाप्रेस

अन्तर्राष्ट्रिय

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँगको सीमालाई मान्यता नदिने

By खबरहब

February 23, 2024

काबुल- अफगानिस्तानको तालिबान सरकारले पुनः पाकिस्तानसँगको सीमालाई मान्यता नदिने घोषणा गरेको छ । तालिबान सरकारमा उपविदेशमन्त्री रहेका शेर अब्बास स्टनिकजाइले आफूहरुले ड्युरन्ड लाइन भनिने पाकिस्तानसँगको सीमालाई मान्यता नदिने घोषणा गरेका हुन् ।

लोगर प्रान्तमा सोभियत संघका सैनिक अफगानिस्तानबाट बाहिरिएको ३५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै स्टनिकजाइले अफगानिस्तान–पाकिस्तानबीचको सीमालाई नमान्ने घोषणा गरेका हुन् ।

सन् १८९३ मा तत्कालीन बेलायती शासन रहेको भारतका प्रतिनिधि सर मोर्टिमर ड्युरण्ड र अफगानिस्तानका आमिर अब्दुर रहमान खानबीच दुई मुलुकबीचको सीमा छुट्याउन २ हजार ४ सय किलोमिटर रेखा खिचिएको थियो । सोही सीमा रेखालाई ड्युरन्ड लाइन भन्ने गरिन्छ ।

खामा प्रेसका अनुसार त्यसयता अफगानिस्तानको सत्तामा आएका प्रायः सबै सरकारले यस सीमालाई मान्यता नदिने बताउँदै आएका छन् ।

यस सीमाले अफगानिस्तान र पाकिस्तान दुबैतर्फ बसोबास गर्ने पश्तुन जातीय समुदायको साँस्कृतिक एवम् पारिवारिक सम्बन्धमा बाधा उत्पन्न गरेको अफगान पक्षको बुझाइ रहेको छ ।