समाचार

शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार आवश्यक : उपमहासचिव शर्मा

By खबरहब

March 23, 2024

खोटाङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन्। 

पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ आएका नेता शर्माले समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए। 

‘देशमा राजनीतिक अस्थिरता छ । राजनीतिक अस्थितरताले जनतामा निराशा छाएको छ । यसलाई निराकरण गर्न राष्ट्रिय सहमति आवश्यक छ’, उनले भने, ‘राजनीतिक दलहरूले एजेण्डामा सहमति गर्नुपर्यो । राजनीतिक दलले सहमति नगरी देशले निकास पाउँदैन ।’

देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रवृत्ति मौलाएको प्रति इङ्गित गर्दै उनले विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताए । ‘नेताहरूले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुपर्यो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको सरकार भ्रष्टाचार नियन्त्रण अभियानमा छ । योसँगै परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुपर्यो’, उनले भने, ‘सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ ।’

नेता शर्माले देशमा प्राप्त उपलब्धि समाप्त पार्ने खतरा रहेको पनि बताए। ‘संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिताजस्ता उपलब्धि माओवादीको दशवर्षे जनयुद्धको बलमा स्थापना गरिएको हो । 

नेता शर्माले जनप्रतिनिधिले सामाजिक न्याय, न्याय सम्पादन, निष्पक्षता र जनमुखी काम गर्नुपर्नेमा जोड दिए । 

दिक्तेलस्थित भवनगैरामा निर्माण गरिएको प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेता शर्माले सहिदहरूको सपना पूरा गर्न हरेक नेतृत्वले पहलकदमी लिनुपर्ने बताए।

उहाँले प्रतिष्ठानको भवनसँगै सोही भवनमा स्थापना गरिएको पुस्तकालयसमेत उद्घाटन गरे। प्रतिष्ठानको छ आना जग्गामा निर्माण गरिएको चारतले पक्की भवनमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको कार्यालयसमेत राखिएको छ ।

भवन निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ मा रु २० लाख, आव २०७६-७७ मा रु एक करोड २० लाख, आव २०७८-७९ मा रु १० लाख गरी रु एक करोड ५० लाखमा बजेट बिनियोजन गरेको थियो । प्रतिष्ठानका अध्यक्ष सुरेश राईले भवनका लागि आव २०८९-८० मा कोशी प्रदेश सरकारबाट प्राप्त रु ७५ लाख र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट आव २०७९-८० मा रु १० लाख प्राप्त भएको बताए। 

प्रदेशबाट प्राप्त रु ७५ लाखबाट वृत्तचित्र निर्माण, दुईवटा ल्यापटप, एउटा क्यामेरा र एक प्रोजेक्टर खरिद गरिएको प्रतिष्ठानले जनाएको छ । सोही रकमबाट भवनको माथिल्लो तलामा ट्रस निर्माण, कुर्सी र टेबल खरिद, भवन कलरिङ, रु तीन लाखको पुस्तक, रु दुई ५० हजार पुस्तक छपाइमा खर्च भएको थियो र साथै द्वन्द्वपीडितको सामाजिक, आर्थिक अवस्था सर्वेक्षण तथा प्रतिष्ठानको वेबसाइट निर्माण पनि सोही रकमबाट गरिएको थियो । 

नगरपालिकाबाट प्राप्त रु १० लाख रकमबाट नगरपालिकाभित्र रहेका २५ जना द्वन्द्वपीडितलाई रु १५ हजारका दरले उपलब्ध गराइएको जनाइएको छ । विसं २०७५ पुस २७ गते तत्कालीन प्रदेशसभा सदस्य (वर्तमान प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’, सहिद माता जयन्तादेवी कार्की र सहिद पत्नी शान्ति श्रेष्ठले संयुक्तरूपमा भवनको शिलान्यास गरेका थिए ।