समाचार

चैते धानमा किसानको आकर्षण

By खबरहब

April 23, 2024

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् ।

चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनको भनाइ छ ।

बर्सेनि चैते धान रोप्दै आएका घर्तीले हिजो रोपाइँ सकेका छन् । उनले भने, ‘सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिलेदेखि नै चैते धानखेती गर्दै आएका छौँ ।’

चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँखेती गर्दै आएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताए । उनले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोपेका छन् ।

बङ्गलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त छन् । चार रोपनी जग्गामा रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उनको भनाइ छ । उनले स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गरे ।

चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफूलगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उनले बताए । वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयवासीले बर्खेभन्दा चैते धानबाट धेरै आम्दानी गर्ने गहतेरा निवासी चूर्ण डाँगी बताउँछन् । चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुने गरेको छ । जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।