सांकेतिक तस्बिर

समाचार

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो…

By खबरहब

April 23, 2024

चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा परेका छन् ।

सोमबार सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालयका इन्चार्जसमेत रहेका असई मोहनसिंह रावलले चेकजाँच गर्दा बन्दुकबाट गोली निस्किएपछि निलम्बनमा परेका हुन् ।

असई रावलको हातमा रहेको बन्दुकबाट अचानक गोली चल्दा एकजना सिपाहीं घाइते भएका छन् ।  यही वैशाख १५ गते हुन लागेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्था तयारीका क्रममा असई रावलले हतियार चेकजाँच गर्दै थिए ।

अचानक बन्दुकबाट गोली चलेपछि प्रहरी जवान पुदल सिंह राना घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । उक्त बन्दुक उनै जवान रानाले असई रावललाई बुझाएका थिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका एक अधिकृतले हतियारको अवस्था चेकजाँच गर्दा तलमाथि भएर घटना भएको बताएका छन्।