फाइल फोटो

आर्थिक

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

By खबरहब

April 23, 2024

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर झण्डै आईपीओकै मूल्यमा किन्न पाइन्छ । पछिल्लो समयमा कतिपय कम्पनीहरूले प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर जारी गरिरहँदा ४ वटा कम्पनीको शेयर भने १५० रुपैयाँ भन्दा कममा खरिद-बिक्री भइरहेको छ ।

त्यसरी आइपीओको मूल्यमा दोस्रो बजारमा कारोबार हुनेमा एउटा हाइड्रोपावर छ भने अन्य ३ वटा वाणिज्य बैंकहरू छन् । हाइड्रो घाटामा भएपनि वाणिज्य बैंकहरू भने नाफामै रहँदा पनि उनीहरूको शेयर मूल्य १५० भन्दा कम पुगेको छ । 

ऋणमा रहेको हिमाल दोलखा हाइड्रोको मूल्य १३१ मात्रै 

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य निकै तल झरेको छ । दोस्रो बजारमा हिमालको शेयर प्रतिकित्ता १३१ रुपैयाँ ५० पैसामा कारोबार भएको छ । पछिल्लो एक वर्षको अवधिमा पनि हिमालको शेयरमा लगानीकर्ताको धेरै आकर्षण देखिँदैन । एक वर्षको अवधिमा हिमालको शेयर बढीमा २२० रुपैयाँ र घटीमा ११६ रुपैयाँसम्म प्रतिकित्ता कारोबार भएको छ । 

हिमालको २ करोड ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये ४८.७५ प्रतिशत सर्वसाधारणको छ भने ५१.२५ प्रतिशत प्रवर्द्धकको छ । हिमालको मार्केट क्यापिटल ३ अर्ब ६८ करोड २० लाख रहेको छ । 

चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार सो कम्पनी घाटामा रहेको छ । कम्पनीको खुद घाटा ११ करोड ४५ लाख ४७ हजार रुपैयाँ रहेको छ । हिमालको प्रतिशेयर आम्दानी पनि ऋणात्मक छ । हिमालको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ २४ पैसा छ । 

कुमारी बैंकको मार्केट क्यापिटल ३४ अर्ब 

३४ अर्ब ८२ करोड ७९ लाख मार्केट क्यापिटल रहेको कुमारी बैंकको शेयर पनि दोस्रो बजारमा प्रतिकित्ता १५० भन्दा कम मूल्यमै पाइन्छ । वाणिज्य बैंक भएपनि कुमारीको शेयर पछिल्लो एक वर्षको अवधिमा बढीमा १९५ रुपैयाँ ८० पैसामा र कम १३२ रुपैयाँसम्ममा भएको थियो ।

कुमारीको २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता शेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ४९ प्रतिशत सर्वसाधारणको र ५१ प्रतिशत प्रवर्द्धकको छ । 

कुमारीको मार्केट क्यापिटल ३४ अर्ब ८२ करोड ७९ लाख रुपैयाँ बराबरको छ भने बैंकले चालु आवको दोश्रो त्रैमाससम्ममा ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेको छ । उक्त अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा छ । ९ महिनाको अवधिसम्ममा कुमारीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा रहेको छ । 

लक्ष्मी सनराइज बैंकको २३ करोड कित्ता शेयर सूचीकृत 

लक्ष्मी सनराइज बैंक लिमिटेडको २३ करोड १८ लाख ७१ हजार ५४६ कित्ता शेयर नेप्सेमा सूचीकृत छ । यसको पनि प्रतिकित्ता शेयर भने १५० रुपैयाँ भन्दा कम मूल्यमै खरिद-बिक्री भइरहेको छ । 

लक्ष्मीको शेयर प्रतिकित्ता १४८ रुपैयाँ ७० पैसामा किनबेच भइरहेको छ । पछिल्लो एक वर्षमा लक्ष्मीको एक वर्षमा बढीमा २०८ र कम १४६ रुपैयाँ ३० पैसासम्म कारोबार भएको छ । 

लक्ष्मीको मार्केट क्यापिटल ३४ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबर छ । लक्ष्मीले चालु आवको तेस्रो त्रैमाससम्ममा ८० करोड २६ लाख ३३ हजार रुपैयाँ नाफा गरेको छ । तेस्रो त्रैमाससम्म आउँदा सो बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा छ ।

१३७ रुपैयाँमा प्रभु बैंकको शेयर 

प्रभु बैंक लिमिटेडको शेयर प्रतिकित्ता १३९ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ । २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता रहेको प्रभुको शेयर ४९ प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत प्रवर्द्धकको छ । 

एक वर्षमा प्रभुको शेयर बढीमा २०६ र घटीमा १३५ रुपैयाँ ८० पैसासम्म पुगेको छ । प्रभुको मार्केट क्यापिटल ३२ अर्ब ४६ करोड ५० लाख रुपैयाँ बराबर छ ।

प्रभु बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ८६ करोड ७१ लाख २४ हजार रुपैयाँ नाफा गरेको छ भने पछिल्लो ९ महिनाको अवधिसम्म प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६० पैसा रहेको छ