समाचार

रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते 

By खबरहब

May 23, 2024

मुगु– बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ ।

घाइते चालक तथा जिप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।