तस्बिर : एपी

अन्तर्राष्ट्रिय

ताइवानलाई घेरा हाल्दै चीनको युद्धअभ्यास सुरु

By खबरहब

May 23, 2024

काठमाडौं– तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको सपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर दुई दिने अभ्यास सुरु गरेको छ । चीनले ताइवानविरुद्ध यति ठूलो युद्धअभ्यास गरेको यो पहिलो पटक हो ।

यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो । वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो ।

तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए ।  चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न छन् ।

चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले यो अभ्यास सुरु गरेको हो । चीनले यस अभ्यासलाई ‘ज्वाइन्ट सोर्ड(२०२४ ए’ नाम दिएको छ । यसका अलावा ताइवान, किनमेन, मात्सु, वुकिउ र डोंग्यिन टापुहरूमा पनि अभ्यास भइरहेको छ ।

ताइवानका नवनियुक्त राष्ट्रपति लाइ चिङ–टेले चीनलाई सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् ।