तस्बिर : एपी

अन्तर्राष्ट्रिय

मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

By खबरहब

May 23, 2024

काठमाडौं– बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ५० जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । 

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दृश्यलाई देखिन्छ । 

गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्समा सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा  वर्णन गरे । 

पीडितका आफन्तहरूले हावाको तीव्र बेगकाका कारण स्टेज खसेको बताएका छन् । भिडियो सामाग्रीमा सैनिकहरू जमिनमा छरिएका भग्नावशेष र अभियान पोस्टरहरूले भरिएको मैदानमा मेडिकल टोलीहरूले शवहरू भ्यानमा सार्दै गरेको देखिएको थियो ।  

कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेद्वार लोरेनिया क्यानावतीका लागि चुनावी र्‍याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो । कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेदवारहरूले पनि भाग लिएका थिए ।

मेक्सिकोको मौसम विज्ञान शाखाले घटनाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यहरूमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो ।