मनोरञ्जन

‘गाउँ आएको बाटो’को ट्रेलर : दयाहाङको चोयाको पेसा संकटमा

By खबरहब

May 23, 2024

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको ‘फिल्म गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार कमलपोखरीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा विकासले गाउँले पेसालाई निस्तेज गरेको देखाइएको छ । गाउँमा पालको बिक्रीसँगै दयाहाङ राई (बाबु) को चोयाको सामाग्री बनाउने पेसा संकटमा परेको देखाइएको छ । छिमेकमा टेलिभिजन हेर्न जाँदा छोरा प्रसन राई (बिन्द्रे) लाई हेपेको प्रसङ्ग पनि ट्रेलरमा देख्न सकिन्छ । 

दुर्गम गाउँमा मोटर बाटो पुगेपछि सामान्य आर्थिक अवस्था भएकाको जीविकोपार्जन अझ कठिन हुँदै गएको विषय ट्रेलरले बोलेको छ । दुर्गम गाउँको एक राई परिवारमा आधारित कथामा फिल्म बनेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा बाबु र बिन्द्रे हाबी छन् । 

बाबुको श्रीमतीको भूमिकामा पशुपति राईलाई देख्न सकिन्छ । मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता अमोद राई हुन् । सञ्जु राई, नरहाङ राई, भीम राई र देवराज राई भने कार्यकारी निर्माताका रुपमा रहेका छन् । 

जेठ २५ गते यस फिल्मको प्रदर्शन मिति तोकिएको छ । यो विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाउन सफल फिल्म हो ।