समाचार

राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्छ : रक्षामन्त्री उप्रेती

By खबरहब

June 23, 2024

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री उप्रेतीले मुलुकमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै तीन वटै सुरक्षा संयन्त्रबीच समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले अहिले विदेशबाट आएको सुरक्षाकर्मीले इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई जानकारी नरहने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे । रक्षा मन्त्रालयको विशेष चासोमा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक अघि बढेको उनले बताए।

मन्त्री उप्रेतीले विदेशमा गएर एउटै राहदानी र मुद्रा भए हुन्छ भन्ने र नेपालमा आएर सेनाको विरोध गर्ने कुरालाई पनि नयाँ विधेयकले नोटिस गर्ने जिकिर गरे  । उनले अन्तर्राष्ट्रिय प्रचलन अनुसार हतियार लिएर सीमामा सेना उभिने कुरालाई राम्रो नमानिने बताए ।

उनले असामान्य अवस्थामा सरकारको निर्णयमार्फत राष्ट्रपतिबाट घोषणा भएपछि सेना परिचालन गर्ने व्यवस्था रहेको भन्दै सीमामा केही दुरीमा बसेर निगरानी भने गर्न सकिने बताए ।

मन्त्री उप्रेतीले द्रुतमार्ग मुलुकको गेम चेन्जर परियोजना रहेको भन्दै यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न सेनाले काम गरिरहेको उल्लेख गरे ।