स्टोरी

प्रचण्डको मोर्चा छाडेर किन ओलीतिर ढल्किए उपेन्द्र यादव ?

By ज्ञानु घिमिरे

July 23, 2024

काठमाडौं – गत वर्ष असार ४ गते समाजवादी मोर्चा घोषणा हुँदा सदस्य रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एक वर्षमै मोर्चाबाट बाहिरिएका छन्।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा बनेको थियो। तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा हुन्जेल निष्क्रिय यो मोर्चा अहिले सक्रिय हुँदा उपेन्द्र यादव भने बाहिरिएका छन्।

उपेन्द्रले समाजवादी मोर्चा छोडेनन् मात्रै उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा उभिएका छन्।

यही असार ३० गते ओलीले सरकारको नेतृत्व लिए। तर गत वैशाख २३ गते पार्टी फुटाइदिएपछि प्रचण्डसँग रुष्ट यादवले त्यसबेलैदेखि समाजवादी मोर्चा छाडिसकेका थिए। त्यसयता यादवले मोर्चाको कुनै कार्यक्रममा भाग लिएनन्। यादव मोर्चामा नरहेको पुष्टि माओवादी केन्द्रका महासचिव देव गुरुङले गरेका छन्।

‘समाजवादी मोर्चाको कुनै तुक छैन। खाली चर्चाका लागि मात्रै भयो। विचार, सिद्धान्त र नीति, विधि नमिलेसम्म के को मोर्चा र एकता ?’

जसपा अध्यक्ष यादव समाजवादी मोर्चा नाममात्रैको भएकाले यसबारे चर्चा गरेर समय बर्बाद गर्नुको अर्थ नहुने बताउँछन्।

‘समाजवादी मोर्चाको कुनै तुक छैन। खाली चर्चाका लागि मात्रै भयो। विचार, सिद्धान्त र नीति, विधि नमिलेसम्म के को मोर्चा र एकता ?’, यादव प्रश्न गर्छन्, ‘प्रचण्डजीले पूर्वमाओवादीलाई त एकै ठाउँमा ल्याउन सक्नु भएको छैन। बरु फुटेका छन् उहाँकै कारण।’

नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई समाजवादी मोर्चामा छैनन्। यादवले मोर्चामा भट्टराई नभएको प्रसंग निकाल्दै भने, ‘प्रचण्डजी आफ्नो चक्रब्यूहमा आफैँ फस्नुभएको छ। बाबुरामजीलाई हेर्नु न, यस्ता मान्छे (प्रचण्ड) सँग सजग हुनुपर्छ।’

प्रचण्डसँग किन रिसाए उपेन्द्र ?

पार्टी विभाजनको चोटः  २३ वैशाखमा जसपा नेपाल विभाजित भयो। जसपाका सह–अध्यक्ष अशोक राईले सात जना संघीय सांसदसहित निर्वाचन आयोगमा जसपा नामका नयाँ पार्टी दर्ता गरे। त्यसबेला प्रचण्ड सरकार ढालेर कांग्रेस र एकीकृत समाजवादीसहितको नयाँ सरकार बनाउन उपेन्द्र यादव लागेको सूचना पाएपछि देशलाई स्थायित्व दिन पार्टी विभाजन गरेको राईको तर्क थियो।

पार्टी विभाजनपछि प्रचण्डले अशोक समूहलाई साथमा लिए। उपेन्द्रलाई तत्कालै सरकारबाट बिदा गरे। यादव पक्षका नेताका अनुसार एक पटक त प्रचण्डले यादव पक्षलाई बोलाएर ‘तपाईँहरू सरकारबाट निस्किनुस्, नत्र निकाल्नु..’ भनेकोसम्म दाबी गर्छन्। त्यसपछि यादवसहित एक राज्यमन्त्रीले वैशाख ३१ गते राजीनामा दिए।

मधेसमा पनि असहयोगः मधेस प्रदेश सरकारमा पनि प्रचण्डले असहयोग गरेपछि सरोजकुमार यादव नेतृत्वको मधेस सरकार ढलेको थियो। अशोक राई पक्षसँग प्रचण्ड मिलेर जसपाबाट मुख्यमन्त्री बनेका यादवलाई माओवादी र एमालेले असहयोग गरे। त्यसपछि जेठ २३ गते एमाले, माओवादी, एकीकृत समाजवादी र जनमतले विश्वासको मत नदिँदा सरकार ढल्यो।

त्यो बेला कांग्रेसले यादवलाई सहयोग गरेको थियो। मधेसमा जसपा नेपालको सरकार ढलेपछि जनमत पार्टीको तर्फबाट सतिश सिंह मुख्यमन्त्री बनेका छन्। कांग्रेस-एमाले मिल्दा पनि मधेसमा आफ्नो भाग सुरक्षित रहेको जनमत प्रवक्ता शरदसिंह यादव बताउँछन्।

कसरी आए ओलीको कित्तामा उपेन्द्र ?

उपेन्द्र सत्ता केन्द्रित नेतामध्ये एक हुन् । उनी आफैँ पटकपटक मन्त्री बनिसकेका छन् । तर यस पटक भने उनले बाहिरै बसेर ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिए ।

कतिपयले यादवको यो कदमलाई प्रचण्डसँगको रिस फेर्ने रुपमा हेरेका छन् । यसबारे यादव भन्छन्, ‘सरकारको स्थायित्व र देश विकासका लागि लोभ नगरी सरकारलाई समर्थन दिएँ ।’

आफ्नो पार्टी फुटाउन ठूला पार्टीले भूमिका खेलेको ओली लक्षित टिप्पणीबारे उनको बुझाइ फरक छ । ‘म गुण र दोषका आधारमा चल्ने मान्छे हो । मलाई त्यस्तो लागेको छैन । उहाँसँग म निरन्तर संवादमा छु । तर मैले बाहिर बसेर साथ दिन्छु भनेको छु’, यादवले भने । उनले पार्टी फुटाउन ओलीले भन्दा बढी भूमिका प्रचण्डले खेलेको संकेत गरे ।

बाहिरबाटै समर्थन : केन्द्र सरकारमा सामेल नहुने बाहिरबाटै समर्थन गर्ने यादव बताउँछन् । ‘म बाहिरबाट समर्थन गरेर रचनात्मक सुझाव दिन्छु । मैले सरकारमा रहन्न भनेको छु’, उनले खबरहबलाई भने, ‘मेरो स्वार्थ छैन । देश भूमरीमा जान लागेको थियो । म पहिलेबाटै ठूला दल मिलेर अन्यले समर्थन गर्ने गरी सरकार बनाऊँ भन्ने पक्षमा थिएँ । खासमा मैले भनेको कुरा पुगेको छ ।’

मधेसमा प्रतिपक्ष : मधेस प्रदेश सरकारमा उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतको राजनीतिक र वैचारिक द्वन्द्व छ । उपेन्द्र सीकेलाई रोक्ने पक्षमा थिए । तर मधेसमा सीकेको पकड बलियो भएपछि उपेन्द्र आत्तिएका बताइन्छ । त्यहीकारण जसपा र जनमत मधेस सरकारमा रहँदा पटक-पटक विवाद आए । त्यहीकारण उपेन्द्र मधेसमा प्रतिपक्षीमै रहने बताउँछन् ।

मधेशमा जनमतको नेतृत्वमा उपेन्द्र सरकारमा जान चाहँदैनन् । उनी आफैँले नेतृत्व गरेर जाने बाटो बनाउन खोजिरहेका छन् । तर ओलीले साथ नदिएपछि प्रतिपक्षमा बस्ने निर्णयमा पुगेका छन् ।

यता जनमतका अध्यक्ष सीके राउत मधेसमा जनमतले बलियो साथ पाएर सरकार चलाएकाले मन्त्रिमण्डल फेरबदल हुने सम्भावना नभएको बताउँछन् । उनले केही समयअगाडि खबरहबलाई भनेका थिए, ‘केन्द्र सरकार जनमतको प्राथमिकतामा छैन । हामी प्रदेशमा उपलब्धिमूलक काम गर्छौं ।’

जनमत प्रवक्ता शरदसिंह यादव मधेसमा जनमतले नै लामो समय सरकारको नेतृत्व गर्ने गरी सहमति भएको दाबी गर्छन् । उनले खबरहबलाई भने ,‘हामी केन्द्र सरकारमा सहभागी नहुनुको करण पनि मधेसमा परिणाम आउने गरी काम गर्न हो । हामी लामो समय मधेसको नेतृत्व गर्छौं ।’

उपेन्द्र जनमत नेतृत्वमा सरकारमा जान चाहँदैनन् । बरु आफैँले नेतृत्व गरेर जाने बाटो बनाउन खोजिरहेका छन् । तर ओलीले साथ नदिएपछि प्रतिपक्षमा बस्ने निर्णय गरेको स्रोत बताउँछ ।

यता एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि मधेसमा जनमतले नै सरकार चलाउने सहमति भएको बताउँछन् । उनले खबरहबलाई भने, ‘मधेसमा जनमतको नेतृत्वमा सरकार अगाडि जान्छ । यही सहमति हो । उपेन्द्रजी सरकारमा सामेल नहुने भन्नु भएको छ ।’

संविधान संशोधनमा आशावादी : कांग्रेस-एमालेसहित साना दल सरकारमा गएर संविधान संशोधनबाट केही परिवर्तन हुने बहस चलेको छ । त्यो कुरा दुई दलको सात बुँदे सहमतिमा पनि उल्लेख छ । संविधान संशोधनको विषय सुरुमानै जसपाले उठाएको हो । त्यहीकारण आशावादी भएर सरकारलाई समर्थन गरेका यादवले बताए ।

राजनीतिक स्थिरता दिन र संविधान संशोधनको नाराले तानेको जसपा प्रवक्ता तथा मधेस प्रदेश सांसद मनिस सुमन बताउँछन् । उनले भने, ‘गुण र दोषका आधारमा सरकारलाई सहयोग रहन्छ । हामीलाई मन्त्रिमण्डलमा जाँदैनौँ । सरकारलाई सहयोग गर्छौं ।’

देउवासँको निकटता : अशोक राईले पार्टी विभाजन गरेका बेला आलो घाउ लिएर उपेन्द्र बूढानीलकण्ठ पुगेका थिए । त्यसबेला प्रचण्ड र ओलीले दिएको चोटबाट बनेको घाउलाई मलहम लगाउने काम देउवाले गरेका थिए । देउवाल मधेस प्रदेश सरकारमा विश्वासको मत दिनसमेत लगाए ।

मधेस प्रदेश जोगाइदिन  उपेन्द्रले कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसाको सहयोग मागे । जेठ १  मा देउवा निवास बूढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका नेता महन्थ ठाकुर र शरदसिंह भण्डारीसहितलाई भेला गराएर उपेन्द्रले मधेसमा सहयोगको प्रस्ताव नै गरे ।

ओली र प्रचण्डका कारण पार्टी विभाजन भएको आक्षेप लगाउने उपेन्द्रले देउवासँग सहकार्यको संवाद जारी राखेको कांग्रेस नेता बताउँछन् ।

तर देउवा लचिलो भए पनि माधव र लोसपाले उपेन्द्रलाई साथ नदिने बताए । माधव त्यसबेला सरकारमा थिए भने लोसपाले अगाडिका घटनामा उपेन्द्रले आफूलाई उपेक्षा गरेको भन्दै सहकार्यमा तयार भएनन् ।

त्यसपछि उपेन्द्र देउवासँग नजिक भए । ओली र प्रचण्डका कारण पार्टी विभाजन भएको आक्षेप लगाउने उपेन्द्रले देउवासँग सहकार्यको संवाद जारी राखेको कांग्रेस नेताहरू बताउँछन् ।

गृहमन्त्री बन्नुअगाडि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपेन्द्रले नयाँ सरकारलाई समर्थन गर्ने तर मन्त्रीमण्डलमा समावेश नहुने गरी तयार भएको बताएका थिए । उपेन्द्रलाई ओलीभन्दा देउवाले बढी साथ दिएको नेताको अभिव्यक्तिले नै पुष्टि गर्छ ।