मनोरञ्जन

बेपत्ता हुँदा १७ दिनसम्म एउटै ट्राउजर लगाएँ : गुरुचरण

By खबरहब

July 23, 2024

काठमाडौँ– भारतीय टेलिसिरियल ‘तारक मेहता का उल्टा चश्मा’का ‘सोढी’ पात्रका नामले दर्शकमाझ परिचित गुरुचरण सिंह २५ दिन बेपत्ता हुनुका कारण खुलासा गरेको कारण चर्चामा छन् । उनले सो दौरानमा रेल स्टप र बसपार्कमै रात बिताएको घटना सेयर गरेका छन् ।

गुरुचरणका अनुसार बेपत्ता भएकै दौरानमा उनले  १७ दिनसम्म एउटै ट्राउजर लगाएका थिए । लुगा फोहर भएपछि धोएको चिसो टिसर्ट कयौँ पटक लगाएको उनको भनाइ छ ।

आफूले मुस्किलका साथ ती दिनहरू बिताएको बताउँदै उनी भन्छन्, ‘सुत्ने ठाउँ थिएन । रेलमा यात्रा गर्दै मैले निद्रा पूरा पनि गरेँ ।’

किन बेपत्ता थिए गुरुचरण ? गुरुचरणको दाबीअनुसार ‘तारक मेहता का उल्टा चश्मा’बाट उनलाई सन् २०२० मा जानकारी नदिई निकालिएको थियो । त्यसयता उनी कामविहीन जस्तै छन् ।

गत अप्रिल २२ मा उनी प्लेनमा दिल्लीबाट मुम्बई पुगेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भए । उनको परिवारले दिल्ली प्रहरीलाई खोजी गर्न रिपोर्ट पनि दर्ता गराएको थियो ।

तर, उनी मे १८ मा घर फर्किए । प्रहरीको अनुसन्धानले उनी व्यक्तिगत समस्याका कारण अध्यात्मको खोजीमा बेपत्ता भएको पुष्टि गरेको छ । घटनाको करिब तीन महिनापछि उनले यसबारेमा मिडियामा खुलेर कुरा गर्न लागेका छन् ।

उनका अनुसार बेपत्ता हुनुको प्रमुख कारण आफूले नजिक ठानेका साथीहरूबाट असहयोग हो । इन्डियन एक्सप्रेससँगको कुराकानीमा उनले काम नपाइरहेको अवस्थामा साथीहरुबाट सहयोग नभएपछि कसैलाई थाहै नदिई बेपत्ता हुने निर्णय गरेको बताए ।

उनले भने, ‘एक समय आउँदो रहेछ सबै टाढा हुने रहेछन् । काम खोज्ने कोसिस गर्दा पनि नजिकका मानिसहरुबाट म निकै दुखित भएँ । मलाई निरन्तर रिजेक्सन मिलिरहेको थियो ।’

आत्महत्याको बाटो गलत लागेका कारण बेपत्ता हुने सोच पलाएको उनको भनाइ छ । सिमला आसपासको क्षेत्रमा पुगेको बताउँदै उनी भन्छन्, ‘म जहाँ गएँ भगवान् भरोसामै हिडेँ ।’

आफू ऋण तिर्न नसकेर बेपत्ता भएको हल्लाको उनले खण्डन गरेका छन् । आजको मितिसम्म पनि नियमितरुपमा ऋण तिर्दै आएको उनको दाबी छ ।