फाइल फोटो

आर्थिक

काकडभिट्टा नाकाबाट १५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

By खबरहब

July 23, 2024

झापा– पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०–८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा   १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा  काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताए । यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ ।  सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा यही नाका भएर ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको छ ।

सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषि वस्तुमध्ये एक हो । आव २०८०–८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए ।