सांकेतिक तस्बिर

समाचार

डेंगु सङ्क्रमित बढेपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान

By खबरहब

July 23, 2024

मुग्लिन– डेंगु सङ्क्रमण बढेसँगै यहाँको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । 

गाउँपालिकाले केही दिनअघि मात्रै मुग्लिन र शान्ति बजार क्षेत्रमा डेंगु रोगसम्बन्धी सचेतनासँगै ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले जानकारी दिए।

गाउँपालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गरिने उनले  बताए । स्वास्थ्य शाखा प्रमुख देवकोटाले भने, ‘गाउँपालिकाको सबै वडा र टोलहरूमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने  छौँ ।’

गाउँपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार साउनको एक हप्तामा मात्रै २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सोमबार मात्रै सात जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । इच्छाकामना गाउँपालिकामा जेठदेखि डेङ्गु सङ्क्रमण देखिन थालेको र अहिलेसम्म ५८ जनामा देखिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिए। उनका अनुसार सङ्क्रमित बिरामीमध्ये वडा नं ५ को मात्रै ५५ जना छन् । बाँकी वडा नं ३ र ४ का तीन जनामा डेङ्गु सङ्क्रमण भएको छ । 

अतिक्रमितमध्ये अधिकांश मुग्लिन बजारमा बसोबास गर्नेहरू छन् । उनका अनुसार गाउँपालिकाको बजार क्षेत्रमा सङ्क्रमणको बढी जोखिम छ । सङ्क्रमितहरूको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज अधिकारीले बताए । 

अस्पतालमा डेङ्गुको निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ ।