आर्थिक

नेप्से ७५ अंकले बढ्दा पनि २० कम्पनीको शेयर मूल्य घट्यो  

By खबरहब

July 23, 2024

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) नयाँ सरकार आउने चर्चा चलेदेखि सरकार गठन भएयता बुल ट्रेन्डमा छ । लामो समयसम्म नेप्सेले २२ सयको विन्दुलाई पार गर्न नसकिरहेको अवस्थामा अहिले भने नेप्सेले २५ सयको विन्दुसमेत पार गरेको छ । 

आज मंगलबार नेप्सेको बुल ट्रेन्ड कायम रहँदा नेप्से ७५.३३ अंकले बढ्दा पनि २० कम्पनीको शेयर मूल्य भने घटेको छ । पुरा बजार आज एकै दिन ३.०२ प्रतिशतले बढेर २५६३.४३ विन्दुमा पुग्दा २० कम्पनीको शेयर भने घटेको हो । 

आज १४ अर्ब बढीको कारोबार हुँदा २२० कम्पनीको शेयर मूल्य भने बढेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने सोमबारकै मूल्य नै कायम छ । मंगलबार १३ वटा समूहमध्ये सबै समूह बढ्दा बीमा समूहमा उछाल आएको छ । आज एकैदिन जीवन बीमा समूह ५१८.९९ अंकले बढेर १२ हजार १७०.३४ विन्दुमा र निर्जीवन बीमा समूह ५२५.०७ अंकले बढेर १२ हजार ५२०.०१ विन्दुमा पुगेको छ । 

समूहअन्तरगत बढ्ने प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूह ५.०६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्यूचअल फण्ड १.११ प्रतिशतले बढेको छ । आज ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर १ लाख ७१ हजार ३८७ पटक किनबेच भएको छ । 

आज एकैदिन ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने बाँकी २ कम्पनीको शेयर पनि साढे ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

 आज कारोबार भएकामध्ये ५ भन्दा बढी कम्पनीको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । गणपति लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेर १९३७ रुपैयाँ ३० पैसा कायम भएको छ ।