देश/प्रदेश

मधेस सरकारसँग ४ बुँदे सम्झौता पश्चात् युवाले तोडे अनशन, मुख्यमन्त्रीले खुवाए जुस

By खबरहब

August 23, 2024

जनकपुरधाम– नयाँ कमला पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरूको अनशन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर तोडाएका छन् ।

अनशनमा बसेका युवाहरूसँग मधेस सरकारले ४ बुँदे सम्झौता गरेपछि अनशनकारी युवाहरू अनशन तोड्न तयार भएका थिए । सम्झौतापछि मुख्यमन्त्री सिंहले अनशनमा बसेका युवाहरूलाई जुस खुवाउँदै अनशन तोडाएका हुन् ।

मधेस सरकार नयाँ कमला पुल निर्माण गर्न प्रदेश सरकार तयार रहेको भन्दै अनशनमा बसेका युवाहरूसँग सम्झौता गरेको हो ।

यसका साथै नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व.२०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट बेहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सम्झौता गरिएको हो ।

नयाँ कमला पुल निर्माणको माग गर्दै भदौ ४ गते देखी युवाहरू सामूहिक रूपमा आमरण अनशनमा बसेका थिए ।