ब्रेकिङ स्टोरी

१५ यात्रु अचेत भेटिए, ११ यात्रु भेटिएनन्‌

By खबरहब

August 23, 2024

काठमाडौं– तनहुँको आबुखैरेनी गाउँपालिका-२, ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरप्लेटको बसबाट उद्दारकर्मीहरूले १५ अचेत यात्रुलाई निकालेको जानकारी दिएका छन्‌ । ११ यात्रु हराइरहेका छन्‌ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा शुक्रबार बिहान साढे ११ बजेतिर युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बरप्लेटको बस ऐनापहराबाट खसेको थियो ।

बेनीटार प्रहरी चेकपोष्टबाट दुर्घटनास्थलमा उद्दार निम्ति खटिएका प्रहरी हवल्दार ईश्वर थापाका अनुसार अहिले सुरक्षाकर्मीहरूले सचेत र अचेत दुबै यात्रुहरूलाई सडकमा उतार्दैछन्‌ । पाँच जना यात्रुलाई अस्पतालतर्फ पठाइएको छ ।

बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । बस रहेको स्थानबाट सडकसम्म उक्लन निकै कठिन रहेकाले उद्दारमा खटिएका सुरक्षाकर्मीहरूले एक पटकमा एक यात्रुलाई बोकेर ल्याइरहेका छन्‌ ।

घटनास्थलमा ट्राभल एजेन्सीका प्रतिनिधि आएका र निजले सो बसमा ३९ जना यात्रु रहेका बताएका छन्‌ । हराएका यात्रु खोजी गर्न गोताखोर टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।