माओवादी नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध लिखित प्रतिवेदन पेश गरेपछि त्यसले पार्टी पङ्क्ति तरङ्गित छ । अध्यक्ष दाहालले उपमहासचिव समेत रहेका शर्माको असहमतिलाई ‘अगुल्टो ठोसाइ’ भने पनि अन्य नेताहरू शर्माविरुद्ध उत्रिएका छन् । माओवादी बागमती प्रदेश बैठकमा पनि यसको बाछिटा देखियो । यी सबै समस्याको निदान पदाधिकारीको बैठकले गर्ने भनिएको छ । के माओवादी नेतृत्वमा विकल्प खोज्ने बेला भएकै हो ? सरकारबाट सडकमा पुगेको माओवादीभित्र कस्तो सुधार र शुद्धीकरण सम्भव छ ? यिनै विषयमा सो पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलसँग कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश :
तपाईंहरू सरकारबाट हटेर प्रमुख प्रतिपक्षको बेन्चमा पुगिसकेपछि ‘जनतासँगको हाम्रो सम्बन्ध कमजोर भएछ टुट्दै गएको छ, जनताको बीचमा फर्किनुपर्छ’ भन्ने सामूहिक निष्कर्षमा पुग्नु भएजस्तो देखिराखेको छ । अब जनता माझमा के एजेण्डा लिएर फर्कने हो ?
गएको १८ महिनादेखि कमरेड प्रचण्डको नेतृत्वमा कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर हामीले सरकार चलाएका थियौँ । प्रचण्डजी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित भएर सरकारको कामलाई व्यवस्थित गर्न खोजेको थियो, त्यो सबैका सामू छर्लङ्गै छ ।
सामन्ती शोषणको एउटा जो अवशेष छ- त्यसलाई हटाउन कानून बनायौं । २८ हजार पीडितहरूको पहिचान भयो । ५ देखि ६ हजार बीचका मानिसले न्याय पाए । पीडितहरूको कोणबाट धेरै ठूलो विषय हो । यही सरकारले सामाजिक सुरक्षा भत्ता व्यवस्थित बनाउनुका साथै भारतमा बिजुली बेच्ने प्रक्रिया शुरू गर्यो । बङ्गलादेशमा बेच्न प्रक्रिया मिलाउने क्रम जारी नै छ ।
यही सरकारले सन्तुलित परराष्ट्र नीतिको लागि प्रयत्न गर्यो । राष्ट्र संघका महासचिवलाई नेपालमा ल्याएर यहाँको शान्ति-प्रक्रियाका बाँकी काम अगाडि बढाउने एउटा वातावरण मात्र बनाएन, जलवायु परिवर्तनका मुद्दाहरूलाई बुझ्न र विश्वबीच पुर्याउन पनि महत्वपूर्ण भूमिका खेल्यो ।
भ्रष्टाचार विरुद्ध सुशासन कायम गर्नको लागि एकपछि अर्का फाइलहरू उठेर कार्यान्वयनको दिशामा अगाडि बढे । भुटानी शरणार्थीको समस्यामा नेपालीलाई नै शरणार्थी बनाएर बेच्ने खेल, ललिता निवास, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला लगायत कुराहरू आए । सो उपर कारबााही प्रक्रिया अगाडि बढाइयो । कतिपय मानिसहरू पक्राउ परे । त्यही पृष्ठभूमिमा सरकार परिवर्तन गराउने कामहरू गरिए । त्यसैले, राम्रो काम गर्दागर्दै र त्यो दिशामा गइरहँदा यो सरकार बदलिएको छ ।
दुई ठूला दल मिल्ने बित्तिकै नयाँ गठबन्धनलाई जलप दिन संविधान संशोधनका कुराहरू उठाइएका छन् । अहिले हामीले जनतालाई भन्ने धेरै विषयहरू छन् । मूल कुरा भनेको यति ठूलो युगान्तकारी परिवर्तनपछि पनि जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको समस्या हल हुन सकेको छैन । यस्तो बेलामा निराशा भजाएर कोही पूरै पछाडि फर्किने, कोही ०४७ को नजिक-नजिक पुग्ने अवधारणा राखेर गइरहेका छन् ।
हाम्रो पदाधिकारी बैठकमा वा स्थायी कमिटी बैठकमा अध्यक्षले ‘खुलेर कुरा राख्नुहोस्, आफूलाई लागेका कुरा भन्नुहोस्’ भन्नुभयो । ‘हाम्रा समस्या र चुनौती कहाँ हुन् र कसरी समाधान गर्ने भन्ने विषय लिएर आउनुहोस्’ भन्नुभयो
पहिलो कुरा त यति बेला संविधान रक्षाको प्रश्न महत्वपूर्ण हो । जनताको बीचमा हामीले गरेका राम्रा काम प्रचारप्रसार गर्नुपर्छ । गल्ती र कमी-कमजोरीका विषय पनि छन् । हिजो भएका कमी-कमजोरी स्वीकार गर्ने तथा जनता समस्यामा केन्द्रित भएर जाने हो । अब सीधै जनतामा गएर आन्दोलन गर्ने भन्ने हाम्रो भाष्य हैन ।
पछिल्लो स्थायी कमिटी र केही बैठक नियाल्दा तपाईंहरूले यो बीचमा गरेका कामहरूको ब्रान्डिङ गर्न र पार्टीभित्रकै नेताहरूलाई चित्त बुझाउन नसकेको देखियो, अहिले धमाधम एउटाले अर्कोको आङ कन्याउने र छारो उडाउने काम किन भइरहेको छ ?
हो, हामीले आफूले गरेका राम्रा कामको ब्राण्डिङ गर्न सकेनौँ । यसबीच आठौं महाधिवेशन त गर्यौं, तर संगठनात्मक ढङ्गले त्यसले देखाएको कुरामा आधारित भएर, कार्ययोजना बनाएर जाने काम गरेनौँ । त्यसले गर्दा पार्टीमा अहिले समस्या छ ।
त्यो समस्या समाधान अहिलेको आवश्यकता हो । यति बेला जनतासामू जाने, सँगै पार्टी पङ्क्तिसँग पनि गाँसिने सन्दर्भ छन् । हाम्रो पदाधिकारी बैठकमा वा स्थायी कमिटी बैठकमा अध्यक्षले ‘खुलेर कुरा राख्नुहोस्, आफूलाई लागेका कुरा भन्नुहोस्’ भन्नुभयो । ‘हाम्रा समस्या र चुनौती कहाँ हुन् र कसरी समाधान गर्ने भन्ने विषय लिएर आउनुहोस्’ भन्नुभयो ।
हाम्रा साङ्गठनिक क्षेत्रमा भएका कमी-कमजोरीहरूलाई जनवादको माध्यमद्वारा हल गरेर फेरि केन्द्रित हुन्छौँ । अब त्यसो गरिरहँदा एकातिर हामीले हाम्रा उपलब्धिको जगेर्ना गर्नुपर्ने, आर्थिक परिवर्तनको एउटा महाअभियान सञ्चालन गरेर देशलाई आत्मनिर्भरताको दिशामा लैजानुपर्नेछ । समाजवादको आधार तयार गर्नुपर्नेछ र त्यो अनुकूल पार्टी बनाउने दिशामा पनि जानुपर्छ ।
पार्टीलाई संस्थागत र व्यवस्थित ढङ्गले चलाउने, पार्टीमा देखा परेका वैचारिक स्पष्ट पार्ने, पार्टीमा देखा परेका विकृति-विसङ्गति हल गर्न सांस्कृतिक रूपान्तरणको एउटा अभियान सञ्चालन गर्ने लगायत विषयहरू हाम्रा अघि छन् । समाजवादउन्मुख अवस्थालाई केन्द्रबिन्दुमा राखेर यो दिशामा अगाडि जान्छौँ ।
पार्टीभित्र चलिराखेको बहस र पोखिएको असन्तुष्टि चाहिँ ‘हामीले १० वर्षे युद्धको राप र तापलाई बिर्सियौँ’ भन्ने चिन्ता हो कि ‘संसदीय राजनीतिमा मैले अवसर पाइनँ’ भन्ने वितृष्णाको कटाक्ष हो ?
इतिहासले हाम्रा कामको पनि मूल्याङ्कन र समीक्षा गर्न जरुरी छ । यही पार्टी हो- जसले सामन्तवाद र राजतन्त्र विरुद्धको संघर्षमा जनयुद्धमार्फत एउटा ठूलो तरङ्ग ल्यायो । एउटा युगान्तकारी परिवर्तन सम्भव भयो, त्यसलाई संविधान निर्माणमा पनि नीतिगत र संस्थागत गरियो ।
हामी सत्तामुखी भयौँ । गठबन्धन गरेर सत्तामा जान थालियो र त्यसमा पनि भागबन्डाका कुरा आउन थाले । यी सबै कुराले विभिन्न प्रकारका असन्तुष्टि बढ्दै गए
संविधान निर्माण गरेको ७ वर्ष पूरा भएको छ, आठौं वर्षमा छौँ । त्यतिबेला अनेक समस्या र मुद्दाहरू थिए । पार्टी चलायमान हुनुपर्थ्यो, गतिशील हुनुपर्थ्यो, यसलाई अझ विस्तार गरेर लिएर जानुपर्थ्यो । यही प्रक्रियामा जाँदा विश्व र नेपाली समाज पनि बदलिएको, अहिले हाबी भएको पुँजीवादले समाजमा जस्तो परिवर्तन ल्याएको छ- त्यसको विश्लेषण गरेर ठोस योजना बनाएर जानुपर्थ्यो ।
त्यता ध्यान कम भयो र सत्तामुखी भयौँ । गठबन्धन गरेर सत्तामा जान थालियो र त्यसमा पनि भागबन्डाका कुरा आउन थाले । यी सबै कुराले विभिन्न प्रकारका असन्तुष्टि बढ्दै गए । तर, अहिले नेतृत्वको वरिपरि एकताबद्ध भएर सबैले कमी-कमजोरीको जिम्मेवारी लिएर समाजवादउन्मुख बाटोमा जानुपर्छ । यो मार्ग चित्रलाई हामीले ठीक ढङ्गले व्यवस्थापन गर्यौँ भने समस्याहरू हल हुन्छन् भन्ने लाग्छ ।
गएको भदौमा पार्टी अध्यक्ष दाहालले प्रधानमन्त्री हुँदा ‘हामीले १०/१५ वर्षको बीचमा धेरै सम्मेलनहरू गर्यौँ, बैठक भेलाहरू गर्यौँ, तर केही गर्न सकेनौँ, पार्टी जनताबाट झन् झन् सानो हुँदै गयो’ भन्नुभएको थियो । अहिले त झन् पार्टी नेतृत्वमाथि डरलाग्दो आक्षेप लगाउने प्रतिस्पर्धा छ । यस्तो स्थितिमा जनतामाझ के लिएर जानुहुन्छ ?
जब धेरै समस्या आउँछन्, तब हामीले जनवादी केन्द्रीयताको सिद्धान्त अवलम्बन गरेका छौँ । त्यसमा जनवादलाई बढी प्राथमिकता दिनुपर्छ । त्यसको आधारमा केन्द्रीकरण गरेर जानु पर्छ ।
यो अहिले सुरु गरेका छौँ । सबैलाई बोल्न दिनुपर्छ । यति ठूलो बलिदानको संस्कृतिबाट आएको पार्टी हो । अहिले देशको परिस्थितिले कस्तो भूमिका माग गर्छ- त्यस्तै गरी पार्टी तयार हुनुपर्छ । नेताहरू बीचका समस्या उनीहरू नै एकापसमा मिलेर समाधान गर्नुपर्यो ।
युवाहरूलाई देशभित्र रोजगारी दिन सक्ने वातावरण बनाएर दीर्घकालीन ढङ्गले आर्थिक रूपान्तरणको महाअभियान चलाउनुपर्छ । अब जलवायु परिवर्तनले ल्याएका ठूला ठूला मुद्दा छन् । विज्ञान प्रविधिले ल्याएका ठूला इश्यूहरू छन् । सामाजिक सञ्जालमा आएका धेरै समस्याहरू छन्
आलोचना आत्मआलोचना गरेर हुँदैन । नेताहरू मात्र बसेर हल हुँदैन भने कार्यकर्ताहरू सँगै बसेर पो गर्ने हो कि ! एकातिर यो मोडेलमा जानुपर्ने छ ।
यतिबेला नेतृत्वबाट पार्टी रूपान्तरणको प्रक्रिया, पार्टी एकता र पार्टीले गरेका निर्णयलाई कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने हो । गरेको कामको मूल्याङ्कन सङ्गठनले गर्छ । हामीले त्रुटि गर्यौँ, जहाँ कमजोरी गर्यौँ, त्यसलाई सच्याएर लिएर जाने त्यो भन्दा अर्को कुनै विकल्प छैन । नियतजन्य समस्या छन् भने समस्या नै हुन्छ, तर परिस्थितिजन्य छन् भने हल हुन्छ ।
माओवादीसँग जोडिएको एउटा प्रश्न- संसदीय राजनीतिमा आइसके पछाडि पार्टी प्रदूषित भयो। पार्टी अध्यक्षले पनि बैठकमा स्वीकारेको भनिएको छ । मुख्य कुरो त पार्टी नेतृत्वको कार्यशैली र पार्टी नेतृत्वको व्यवहारमै ठोक्किएको रहेछ नि !
पहिलो कुरा- हामीले हामीले एक्काइसौँ शताब्दीमा नेपाली विशेषताको समाजवाद भनेर आठौँ महाधिवेशनबाट सम्प्रेषण गर्यौँ । त्यसलाई ठोस र मूर्त बनाएर त्यसको वरिपरि जानुपर्छ । किनकी हाम्रो सारा व्यवहारलाई विचारले पदप्रदर्शित गर्नुपर्छ ।
दोस्रो- हामीले त्यो कार्यदिशालाई कार्यान्वयन गर्ने कोणबाट पार्टीभित्र सांस्कृतिक क्षेत्रमा जुन खालको भ्रष्टीकरणको समस्या आएको छ, त्यसलाई सामान्य आचारसंहिता बनाएर मात्र हुँदैन । त्यसलाई कसरी समाधान गर्ने भनेर सांस्कृतिक रूपान्तरणसँग सम्बन्धित विषयलाई पनि प्राथमिकता दिनुपर्छ ।
तेस्रो कुरा- पार्टीलाई विधि र पद्धतिमा चलाउनुपर्छ । संस्थागत गर्नुपर्छ । त्यो परिपार्टीलाई अवलम्बन गर्नुपर्छ ।
चौथो- अहिले तीन तहका सरकार छन् । हामी संघ र प्रदेश सरकारमा छैनौँ । १२२ वटा पालिकाका स्थानीय सरकारमा छौँ । त्यहाँ नमूना ढङ्गले काम गर्नुपर्छ र संसदलाई जनताको बीचमा लैजाने मुखर संस्थाको रूपमा अगाडि बढाउनुपर्छ ।
अर्को कुरा; अब हामीले सुरु गरेका भ्रष्टाचार विरोधी जुन अभियान छन्- त्यसलाई जनस्तरबाट अगाडि बढाउनुपर्छ । यतिखेर संविधान संशोधनको नाउँमा समानुपातिक समावेशीतालाई चाहिँ अलिकति आक्रमण गर्न खोजिएको छ । अहिले भएका व्यवस्थालाई परिवर्तन गर्ने वातावरण बनाउन खोजिएको छ । संविधान रक्षा र कार्यान्वयनको निम्ति हामीले व्यापक छलफल गरेर आवश्यक भएका जन परिचालनका कार्य योजनाहरू बनाएर जानुपर्छ ।
जो कूटनीतिज्ञहरू आउँछन्- उहाँलाई नभेटी कोही फर्किँदैनन् । अहिले देशको लागि, हाम्रो पार्टीको लागि र समाजवादी आन्दोलनको लागि पनि उहाँले एक अवधि ठीक ढङ्गले काम गर्नुपर्छ
अर्को यो परिवेशमा युवाहरूलाई देशभित्र रोजगारी दिन सक्ने वातावरण बनाएर दीर्घकालीन ढङ्गले आर्थिक रूपान्तरणको महाअभियान चलाउनुपर्छ । अब जलवायु परिवर्तनले ल्याएका ठूला ठूला मुद्दा छन् । विज्ञान प्रविधिले ल्याएका ठूला इश्यूहरू छन् । सामाजिक सञ्जालमा आएका धेरै समस्याहरू छन् । त्यसैले एउटा जनताप्रति उत्तरदायी भएको पार्टीको कोणबाट हेर्दा अहिले यी सबै विषयलाई व्यवस्थित गरेर गयौँ भने मात्रै हामी त्यो दिशामा सफल हुन्छौँ ।
यसको अर्थ तत्कालका लागि प्रचण्डको विकल्प छैन भन्ने हो ?
उहाँ लामो संघर्षबाट स्थापित व्यक्तित्व हो । ३५ वर्षदेखि उहाँले हाम्रो पार्टीको प्रत्यक्ष नेतृत्व गरिरहनुभएको छ । पार्टीभित्र लामो समयदेखि अध्यक्षमा रहिरहेकाा कारण विकल्प खोज्नुपर्छ भनेर र पार्टीभित्र र बाहिर पनि कुरा उठिरहेको छ ।
अहिले राम्रो काम गर्दा गर्दै उहाँलाई पदबाट हटाइएको छ र उहाँको नेतृत्वमा ठूला-ठूला परिवर्तन देशले देखेको छ, भोगेको छ । यही कारण मुलुक अगाडि बढेको छ । प्रचण्डलाई अहिले पदको आवश्यकता मैले देख्दिनँ । किन कि उहाँ राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा स्थापित व्यक्तित्व हो ।
माधव कमरेडसँग ०७९ को चुनाव अगाडि नै पार्टी एकता गर्ने भने बहस भएको संयन्त्र बनाउने भनेको थियो । विविध कारणले ढिला भएको थियो
जो कूटनीतिज्ञहरू आउँछन्- उहाँलाई नभेटी कोही फर्किँदैनन् । अहिले देशको लागि, हाम्रो पार्टीको लागि र समाजवादी आन्दोलनको लागि पनि उहाँले एक अवधि ठीक ढङ्गले काम गर्नुपर्छ । र आफू पछाडि यति दुख गरेर बनाएको यो पार्टीलाई ठीक ढङ्गले अवतरण गर्नुपर्छ, विश्रामको कुरा हैन ।
समाजवादी मोर्चाको नाममा संसद्मा आफ्नो हस्तक्षेपकारी प्रभाव जमाउन अध्यक्ष प्रचण्ड यतिबेला माधव नेपाल र विप्लवलाई प्रधानमन्त्रीको ललिपप देखाएर बेग्लै खेलोफड्कोमा देखिनुहुन्छ । एकातिर घरमा विवाद देखिनु, अर्कातिर यसखाले गतिविधिले झन् आत्मघात निम्त्याउँदैन र ?
समाजवादी मोर्चा अलि पहिले नै बनेको हो । त्यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । यो बीचमा विप्लवजीको पार्टीको तर्फबाट पनि पार्टी एकता गर्ने निर्णय चाहिँ गर्नुभएको छ । तर, अहिले तुरुन्तै एकता गरी हाल्ने भनेर कार्यान्वयनको क्रममा मैले देख्दिनँ ।
माधव कमरेडसँग ०७९ को चुनाव अगाडि नै पार्टी एकता गर्ने भने बहस भएको संयन्त्र बनाउने भनेको थियो । विविध कारणले ढिला भएको थियो । मुलुकमा एउटा नयाँ खालको ध्रुवीकरण गरेर वामपन्थी, देशभक्त प्रगतिशील शक्तिहरूलाई एकसाथ लिएर अघि बढ्नुपर्छ । ‘दुई दलीय प्रणालीमा लानुपर्छ, पुरानो शासकीय प्रबन्धमा फर्किनुपर्छ’ भनेको बेलामा अहिले भएका बहसलाई हिजो आँखाबाट हेर्नु हुँदैन ।
यतिबेला यो दिशालाई पनि व्यवस्थित गर्नुपर्छ । अहिले हाम्रो महेन्द्र रायजीहरूसँग एउटै पार्टी बन्ने आधार बनिसकेको छ । अरूसँग बनिहाल्ने स्थिति छैन । हाम्रो बीचमा कार्यदिशागत समानता पाइन्छ, तर एक अर्काको बीचमा मोर्चा बनाएर काम गर्दै पार्टी एकतासम्म जानका लागि एउटा मार्गचित्र चाहिन्छ ।
हामी त्यो निर्माणको प्रक्रियामा सघन ढङ्गले छलफल गरिरहेका छौँ । पार्टी निर्माणको प्रश्न र समाजलाई समाजवादसँग जोड्ने प्रश्न उपलब्धिको जगेर्ना गर्ने कामसँग हाम्रो पार्टीका प्रश्न र मोर्चाका प्रश्नहरू पनि गाँसिएका छन् ।