म्याग्दी- धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सी खोलो बग्न थालेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा हिमपहिरोले थुनिएको बाक्सीखोलो तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताए ।
‘आज दिउँसो करिब १:३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिँदा दुईतिहाइ पानीको मात्रा घटेको थियो,’ उनले भने, ‘दिउँसो ४:३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ ।’
खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताए ।
बोक्सी खोलो हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ ।
- हिउँको पहाड नै खस्यो, तीन घण्टादेखि थुनियो घट्टेखोला
- मुस्ताङको थासाङमा हिमपहिरो : हेर्नुस् चार तस्बिर
- मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
यसअघि २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौँरीगाई मरेका थिए । पछिल्लो पहिरोबाट मानवीय र पशुधन क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।