स्टोरी

काम माग्दा २८ ठाउँबाट अस्वीकृत एक बहिरा युवाको प्रश्न- संविधानमै रोजगारी दिने भनेर किन झुक्याएको ?

By सीता न्यौपाने

September 23, 2024

२०५२ साउन ६ गते कर्ण भट्टचनको जन्म भयो । काठमाडौंमा जन्मिएका उनी घरका कान्छा सन्तान हुन । उनका अरु ५ जना दाजुभाइ दिदीबहिनी छन् । उनका बुवा बाहिरफेर काम गर्छन भने आमा गृहिणी हुन् । 

सामान्य घरपरिवार जन्मिएका उनी जन्मजात नै नसुन्ने थिएनन् । १० वर्षको उमेरमा ठूलो बिरामी परे । कति डिग्रीको ज्वरो थियो भन्ने यकिन जानकारी नभएपनि ज्वरोको कारण श्रवणशक्ति नै गुमाउनु परेको थियो । बुबाआमाले धेरै ठाउँमा उपचारको लागि लगेपनि उनको सुन्ने शक्ति फर्किएन । 

छोराले सुन्न नसक्ने भएपछि अभिभावक निकै चिन्तामा डुबे । अझ उनले आफूले पढ्दै आएको विद्यालय नै छोडेर बहिराहरूले पढ्ने साङ्केतिक भाषामा पढाइ हुने स्कुलमा जानुपर्‍यो । जन्मदै नसुन्ने भएको भए सुरुदेखि कै तयारी हुन्थ्यो । बिरामी भएर अचानक झेल्नुपरेको परिस्थितिले परिवारमा पीडा थपेको थियो । 

आर्थिक रूपले पनि कमजोर परिवारमा अपाङ्गता भित्रिएपछि निकै कष्ट भयो । तर भट्टचनको अभिभावकले हार मानेनन् । छोराको पढाइ राम्रै थियो । पढ्यो भने आफैं गरेर खान्छ भन्ने आत्मविश्वास बलियो बनाएर छोरालाई बहिराहरूले पढ्ने नक्साल भैरव माध्यामिक विद्यालयमा पठाए । 

कर्णले त्यहीँबाट स्कुल तहको अध्ययन पूरा गरे । र हाल त्यहीँ कलेजमा स्नातक (बीएड) पहिलो वर्षमा अध्ययन गर्दै छन् । उनी स्नातकोत्तरसम्म पढ्न चाहन्छन् । तर साङ्केतिक भाषामा स्नातकसम्म मात्रै पढाइ हुन्छ । स्नातक सकिँदासम्म स्नातकोत्तर तहको कलेज सञ्चालन हुन्छ कि भन्नेमा उनी आशावादी छन् । 

स्नातक तहमा पढ्ने सामान्य मानिसले राम्रै सङ्घसंस्था वा निजीक्षेत्रमा पनि काम गर्न पाएका छन् । तर बहिरा भएकै कारणले सबै क्षेत्रमा प्रवेश सहज छैन । बहिराले गर्न सक्ने कामहरू के–के हुन सक्छन् भनेर उनले तयारी गर्न थाले । 

बहिरा भएपनि विद्यार्थी जीवनपछि आफैं जागिर खाएर आत्मनिर्भर हुनु थियो । यी सबै विषयलाई मध्यनजर गर्दै उनले वेटरको तालिम लिए । तर दुखको कुरा त्यो तालिम केही पनि काम लागेन । कुनैपनि होटलले उनलाई वेटरको रुपमा काममा राखेनन् । 

जागिर माग्न गएको २८ ठाउँबाट उनी ‘रिजेक्ट’ भए । जहाँ जाँदा पनि स्टाफ छ भन्ने जवाफ आएको उनी बताउँछन् । 

उनी भन्छन्, ‘सीपमूलक तालिम लिएपछि जागिर खान सजिलो हुन्छ भन्ने थियो । तर बहिराको लागि त्यो सम्भव रहेनछ । बहिरालाई काम दिएर आफैंलाई दुख हुन्छ भन्ने रहेछन् ।’ यदि सबै रोजगारदाता वा मानिसहरूले बहिरासँग झन्झट मान्ने हो भने हामीले कसरी जीवन चलाउने ? उनी प्रश्न गर्छन्, ‘हामीले नबाँच्नु ?होटल, भाटभटेनी सुपरमार्केट, विग मार्केटलगायत धेरै ठाउँमा काम माग्न गए । तर कसैले मलाई काम दिएनन् । वेटरमा काम गर्ने धेरै इच्छा थियो । तर होटलहरुले पनि कसैले काम दिएन’

रोजगार नपाएर भौँतारिएर बसिरहेको बेला काठमाडौँ महानगरपालिकाले बोलायो । काम त कामै हो । सरसफाइ गर्नुपर्ने भएपनि काम गरेको पारिश्रमिक दिएको छ । केही पनि नहुन भन्दा बेरोजगार बस्न भन्दा काम दिएको छ । उनले खुसी भएरै काम गरिरहेका छन् । 

 शनिबार नक्साल भगवती मन्दिरको सरसफाइको काम गर्दैको अवस्थामा भेटिएका कर्णले खबरहबसँग बहिरालाई राज्यले नै अपहेलना गरेको गुनासो गरे ।

 उनले भने, ‘अपाङगता भएकाहरुमध्ये बहिराहरुलाई सरकारले धेरै विभेद गरेको छ । शारीरिक रूपले कष्ट भोगेकाहरूलाई मात्रै अपाङ्गता मानेको छ ।’‘अरु अपाङ्गता शारीरिक रुपमा देख्दा नै कमजोर देखिन्छन् । हामी हेर्दा कष्टमा देखिदैनौँ, उनले भने ‘हातखुट्टा राम्रै छ । सामान्य मानिससरह देखिन्छौ । त्यसकारणले पनि हाम्रो पीडा अथवा कष्ट देखिदैन । तर नसुन्नु पनि ठूलो पीडा हो । हामीमा कमजोरी नभएको भए, काम पाउन किन यति मुस्किल हुन्थ्यो ?’ 

निजीक्षेत्रले काम दिने भए सरकार–सरकार भन्नै नपर्ने भन्दै उनले सरकारलाई हामी जस्तै बहिरा नबनिदिन आग्रह गरेका छन् ।

 ‘अपाङ्गताको क्याटागोरी छुट्याएको छ, त्यहि अनुरुप बहिरालाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रमहरू ल्याउनु पर्यो,  । हामी काम गर्न सक्छौं, हामीलाई रोजगारको व्यवस्था गरिदिनुपर्यो ।’ 

आफ्नै नागरिकलाई हेला नगर्न उनले अनुरोधसमेत गरेका छन् । आफ्नो खुसीले वेटरको काम गर्न मन लागेको थियो । तर कुनै पनि होटलले काममा नराखेपछि उनी महानगरमा दैनिक ज्यालादारीको काममा छन् । बहिराहरुका लागि महानगरले मन्दिर र सम्पदाको सरसफाइमा लगाएको छ । 

यो सय दिनको जागिर हो । आएको दिन ज्याला हुन्छ, नआएको दिनमा हुँदैन । दैनिक ८ घण्टा काम गर्ने हो । बिहान ७ देखि ११ बजेसम्म कामको निर्धारित समय हो । एक घण्टा खाना खाने समय हुन्छ । १२ बजेबाट सुरु भएर ३ बजेसम्म गर्नुपर्छ । दैनिक ज्याला ७४० रुपैयाँ छ । त्यसमा एक प्रतिशत सरकारलाई बुझाउनुपर्छ ।

यो सय दिन सकिएपछि कहाँ जाने ?कर्ण अलमल हुँदै भन्छन् – ‘केही टुङ्गो छैन ।’ कान नसुन्ने भनेर धेरै मानिसहरुले हेला गर्ने अनुभव सुनाउँदै उनले भने, ‘बहिराले पढेर पनि खासै फाइदा रहेनछ । पढेको छु, तर काम कसैले दिँदैन । त्यस्तो देख्दा मन दुख्छ ।’

उनको शिक्षक हुने सपना छ । हाल शिक्षक सेवाको लाइसेन्सको तयारी गर्दैछन् । लाइसेन्स लिएर आफूजस्तैलाई पढाउने योजना बनाएका छन् । उनी काठमाडौँ युवा विकास समितिको पूर्वअध्यक्ष समेत हुन् । 

बहिराहरुका लागि सबैभन्दा धेरै साङ्केतिक भाषाको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

 ‘भाषाकै कारणले हामीले अवसरबाट बञ्चित हुनुपरेको छ । बहिराहरुले आफूले चाहेको काम गर्न पाएका छैनन् । यदि अवसर पाउने हो भने हामी कुनै पनि काम गर्न सक्छौ, उनले भने, ‘अवसरको सिर्जना गरिदिएर आफूले देखेको सपना र लक्ष्य अनुसारमो काम गर्न पाइयोस् ।’ बाँच्नकै लागि अगाडि जे आउँछ, त्यहि काम गर्नुपर्दा आफूले मन लगाएर काम गर्न नसकेको स्वीकार्दै उनी भन्छन्, ‘खर्च जुटाउनकै लागि मन नलागेको काम गर्नुपरेको छ । रोजगारीको व्यवस्था हरेक नागरिकको मौलिक हक हो भनेर संविधानमा लेखेर पनि कार्यान्वयन गर्न नसक्नु भनेको सरकार असफल हुनु हो ।’ 

 त्यसमाथि अपाङ्गताको व्यवस्था नगर्नु भनेको मानवतामाथिकै प्रश्न भएको उनको ठम्याइ छ । कर्ण छिट्टै विवाह गर्ने योजनामा छन् । आफ्नै घरबेटीकी छोरीसँग प्रेमसम्बन्धमा रहेको उनले खुलाए । उनकी प्रेमिका पनि आफुजस्तै बोल्न सक्दिनन् । हाल उनीहरु  सँगै पढिरहेका छन् । 

 बहिराहरुसँग काम गर्न सजिलो महानगरको श्रम बैंक अन्तर्गतका निरीक्षक मनोज केसी बहिराहरुसँग काम गर्न निकै सहज हुने बताउँछन् । 

भन्छन्, ‘नसुन्नेहरुसँग काम गर्न वा लगाउन गाह्रो होला भन्ने लागेको थियो । तर उनीहरुसँग काम गर्न निकै सहज हुने रहेछ । मेहनत गर्ने मामिलामा निकै अगाडिछन्, र काम ठग्ने भन्ने स्वभाव छैन ।’ ‘विस्तारै उनीहरुको भाषा पनि बुझ्न थालिएको छ । सबैजना खुसी भएर काम गर्छन् । यहाँ काम गर्ने एसएलसी, प्लसटु र स्नातक पढ्दै गरेका छन् । समग्रमा सबैजना शिक्षित छन् ।  सबैजना मिलनसार छन्, झैझगडा गरेको आजको दिनसम्म थाहा छैन’ उनले भने ।  

कतिपय मन्दिर र गुठीहरुमा काम गर्न जाँदा खाजाको व्यवस्था गरिदिने केसीले बताए ।

 उनले भने, ‘कसैले खाना पनि व्यवस्था गरिदिँदाश्रमिकहरुलाई सहुलियत पनि हुन्छ ।’प्रधानमन्त्री रोजगार कार्यक्रम र महानगरको श्रम बैंक अन्तर्गतको यो कार्यक्रम भदौ १६ गतेबाट सुरु भएको हो । 

महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा ‘महानगर स्वर्णिम योजना’ अन्तर्गत ‘श्रम बैंक’ योजना सञ्चालन गरेको छ । रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमार्फत रोजगारको व्यवस्था गरिएको छ । 

यसश्रम बैंकमा सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, शहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुन्छन् । यसै योजना अन्तर्गत ४१ जना बहिराहरूले सम्पदा संरक्षण तथा सरसफाइको काम गरिरहेका छन् । 

आज साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

दोभाषे : उर्गिन नम्डुल तामाङको सहयोगमा