आर्थिक

अर्थसंक्षेप : १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली, नेप्सेमा भारि गिरावट

By खबरहब

September 23, 2024

काठमाडौं– सरकारले करिब १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली प्रदान गरेको जनाएको छ । यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ५९.०२ अंकले घटेसँगै नेप्से परिसूचक २५२९.३३ विन्दु कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालसम्म कसैलाई पनि बजार विश्लेषकको मान्यता नदिएको बताएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले चालु आर्थिक वर्षको हालसम्म एक लाखभन्दा बढी पशुमा खोरेत रोगको खोप लगाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केबरमा रहेको ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।

 यस्ता छन आजका आर्थिक समाचारहरूः

१० लाख ग्राहकलाई निःशुल्क बिजुली

सरकारले करिब १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली प्रदान गरेको जनाएको छ । मासिक रुपमा २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरेलु ग्राहकलाई सरकारले निःशुल्क रुपमा बिजुली प्रदान गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको नेपाल विद्युत् प्राधिकरणका अनुसार, मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकवर्गले बिजुली निःशुल्क पाएका हुन् । घरेलु, औद्योगिक र सबै खाल गरेर प्राधिकरणका ५६ लाखभन्दा बढी ग्राहक छन् । त्यसमध्ये विपन्न र कम बिजुली खपत गर्ने ग्राहकले निःशुल्क बिजुलीको उपभोग गरिरहेको प्राधिकरणले जनाएको छ । विपन्न १० लाख घरेलु ग्राहकले निःशुल्क बिजुलीको उपभोग गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

उनका अनुसार, मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकले निःशुल्क बिजुली उपभोग गरेका हुन् । ५ एम्पिएर क्षमताको मिटर जडान गरेका विपन्न ग्राहकले निःशुल्क बिजुलीको सेवा पाएका हुन् । प्रतियुनिट औसत ३ रुपैयाँका दरले २० युनिट बिजुलीको मासिक बिजुली महसुल ६० रुपैयाँ हुन आउँछ ।

त्यसआधारमा हिसाब गर्दा घरेलु ग्राहकले निःशुल्क बिजुली बाल्दा वार्षिक रुपमा झन्डै पौने एक अर्ब रुपैयाँ दायित्व थपिएको घोषले बताए । १० लाख ग्राहकले मासिक रुपमा ६ करोडभन्दा बढीको बिजुली निःशुल्क पाएका हुन् । प्राधिकरणले गाउँगाउँका विपन्न र कमजोर आय भएका ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराएको हो ।

दसैँ तिहारमा खाद्यान्न अभाव नहुने, सहुलियत पसल सञ्चालन

यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको छ । 

मार्तडी शाखामा चार हजार र  पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकास्थित कोल्टी शाखामा दुई हजार ३०० क्वीन्टल चामल मौज्दात रहेकाले दसैँ  तिहारमा खाद्यान्नको कमी नहुने शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले जानकारी दिए ।

उनले विगतमा जस्तो खाद्य अभावका कारण कतिपय नागरिकले महँगो चामल किन्न बाध्य हुने अवस्था यसपटक नआउने बताए । ‘वर्षायाममा सडकबाटो बन्द हुने हुँदा ढुवानी समस्याले यहाँ हरेक चाडपर्वमा खाद्यान्नको चरम अभाव हुने गरेको थियो । यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएकाले चामल अभाव हुने सम्भावना न्यून छ’, भण्डारीले भने ।  

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आजको कारोबार कतिमा ? 

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन चारसय रुपैयाँले बढेर १ लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

नेप्से ५९ अंकले घटेर २४०० विन्दुको नजिक, कारोबार कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २४०० विन्दु नजिक पुगेको छ । आज नेप्से ५९.०२ अंकले घटेसँगै नेप्से परिसूचक २५२९.३३ विन्दु कायम भएको छ । अब नेप्से ३० अंकले घटेमा नेप्सेले २४०० विन्दुमा आउने छ । आज प्रि–ओपन सेसनमा १९ अंकले बढेर सुरु भएको शेयर बजार खुल्नासाथ निरन्तर ओरालो लागेको छ । आज दिनभरमा बजारले एक पटक पनि माथि जान सकेन ।

बजार खुलेपनि राताम्य भएको बजार बन्द हुँदा भने ५९ अंकले घटेर बन्द भयो । बजार बन्द हुनुभन्दा २० मिनेट अगाडि नेप्से परिसूचक २५१७ विन्दुमा रहेको थियो । तर बजार बन्द हुनु भन्दा २ मिनेट अगाडि बजार केही माथि गएर बन्द हुँदा भने २५२९ विन्दु कायम रह्यो ।  सोमबार नेप्से २.२८ प्रतिशतले घट्ता ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर कारोबार भएको छ । 

आज १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  सोमबार ३२९ कम्पनीको शेयर किनबेच हुँदा ७७ हजार १५३ पटक शेयर किनबेच भएको छ ।  आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.५६ प्रतिशतले घटेर २ हजार ८५१.६८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.४८ प्रतिशतले घटेर २०.८७ विन्दुमा पुगेको छ ।

 बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन : नेप्से  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हालसम्म कसैलाई पनि बजार विश्लेषकको मान्यता नदिएको बताएको छ । सोमबार नेप्सेको आधिकारिक फेसबुक पेजमार्फत नेप्सेले सो जानकारी गराएको हो । 

‘नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन’ नेप्सेले भनेको छ, ‘फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ ।’ यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेप्सेले लगानीकर्तालाई आग्रह समेत गरेको छ ।