राजनीति

पोखरा पुगेका कार्यकर्तालाई रास्वपाको चेतावनी : आन्दोलन छाडेर घुमघामको फोटो हाले कारबाही

By खबरहब

October 23, 2024

काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।

जिल्ला अदालत कास्कीमा सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा अघि बढाउन म्याद थप भइसकेको अवस्थामा रास्वपाका नेता कार्यकर्ता यतिबेला पोखरा केन्द्रित भएका छन् ।

पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेट्ववर्कका तत्कालीन प्रबन्धन निर्देशक लामिछानेलाई प्रतिशोधका आधारमा वर्तमान सरकारले फसाएको गुनासो उनीहरूको छ ।

यस्तोमा रास्वपा सांसदहरू डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, डा, तोषिमा कार्की, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, मनिष झा र गणेश पराजुलीसहित अहिले पोखरा केन्द्रित आन्दोलन गरेर बसेका छन् ।

पोखरा केन्द्रित आन्दोलनका लागि रास्वपाले देशभरबाट नेता-कार्यकर्तालाई बोलाएको छ । पोखरामै पनि आन्दोलनका लागि रास्वपाले घरदैलो अभियान चलाइरहेको छ ।

तर, आन्दोलनका लागि आएका नेता कार्यकर्ता पोखराका पर्यटकीयस्थल फेवातालसहितमा घुमघाममा केन्द्रित हुन थालेपछि रास्वपाले मोबाइल म्यासेज पठाएर सचेत गराउन थालेको छ ।

रास्वपाको केन्द्रीय अनुशासन आयोगले म्यासेज नै पठाएर आन्दोलन गर्न आएको अवस्थामा घुमघामका तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोस्ट् नगर्न भनेको हो ।

आयोगले पोखरामा पुगेका नेता-कार्यकर्तालाई आन्दोलन छाडेर घुमघामको फोटो पोस्ट् गरेको पाइए कारबाही नै गरिने चेतावनी दिएको हो ।

‘पोखरामा आएका साथीहरू आन्दोलनबाहेक घुमघामको फोटो पोस्ट् गरेको पाइए कारबाही हुन्छ’, अनुशासन आयोगले पठाएको म्यासेजमा भनिएको छ, ‘सबैजना पार्टी सदस्यहरूले आन्दोलनको फोटो र भिडियो शेयर गर्न पनि निर्देशन जारी गरिन्छ ।’