समाचार

मखमली फूल टिप्न र माला गाँस्न व्यस्त भक्तपुरका किसान

By खबरहब

October 23, 2024

काठमाडौं –  तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् ।

तिहार आउन एक सातामात्रै बाँकी रहँदा गुण्डुका किसानहरु मखमली फूलको माला बनाएर बिक्रीका लागि तयारी अवस्थामा राख्न व्यस्त देखिएका हुन् ।

भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुँदै आएका छन् । वर्षेनी मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारीहरू खेतबारीमा नै पुग्ने गरेको किसानहरूको भनाइ छ । उपत्यकामा खपत हुने धेरै मखमली फूल गुण्डु क्षेत्रकै उत्पादन भएको किसानहरू बताउँछन ।

केही किसानहरूले विदेशमा समेत मखमली फूल निर्यात गर्ने गरेका छन् । दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ । दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला पहिराउने परम्परा रहँदै आएको छ ।