काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्बन उत्सर्जन नगर्ने देशहरूलाई पर्याप्त मुआब्जा दिएर कार्बन व्यापार बजारमा सहभागी गराउनुपर्ने बताएका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलन सम्बोधन गर्दै उनले कार्बन उत्सर्जनमा कुनै योगदान नै नगरेका नेपाललगायतका देशहरूले जलवायु प्रकोपहरूको असर झेल्नुपरेको बताए ।
जलवायु परिवर्तनले निम्त्याएको गम्भीर चुनौतीहरूको सामना गर्न, कार्बन बजार उत्सर्जन व्यवस्थापनको साधनमात्र नभएर दिगो र समावेशी भविष्यतर्फको न्यायपूर्ण रूपान्तरणको आधारशीला बन्नुपर्ने थापाको भनाइ थियो ।
उनले कार्बन बजारको विस्तारले जलवायु जोखिममा रहेका राष्ट्रहरूलाई मात्र नभएर साझेदार र लक्षित लाभार्थीको रूपमा स्थान पक्का राख्ने संयन्त्र समावेश गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले ‘नेपाल खुद शून्य उत्सर्जनको दीर्घकालीन रणनीति’ बमोजिम नेपालले ऊर्जा, कृषि र वन क्षेत्रका सुधारहरूमा ध्यान केन्द्रित गर्दै आएको पनि सम्मेलनमा जानकारी दिए ।