राजनीति

विश्व उथल पुथलको युगमा प्रवेश गरिरहेको छ : चिनियाँ राजदूत

By खबरहब

January 24, 2024

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत छन सोङले अहिलेको विश्व परिवर्तन र उथलपुथलको नयाँ युगमा प्रवेश गरिरहेको बताएका छन् । साथै उनले नेपाल र चीनबीचको सहकार्य प्रगाढ बनेको बताएका छन् ।

‘अहिले विश्वमा तीव्र गतिमा ठुल्ठुला परिवर्तनहरु भइरहेका छन्’ विहीबार काठमाडौंमा चिनियाँ नयाँवर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राजदूत छनले भने, ‘विश्व सहयोग र इतिहासमा भएका परिवर्तनहरु अभूतपूर्वरुपमा प्रकट भइरहेका छन् र विश्व उथलपुथल र परिवर्तनको नयाँ युगमा प्रवेश गरिरहेको छ ।’

राष्ट्रपति सी जिनफिङले चीन मानव जातिको साझा भविश्यले भरिपूर्ण सुन्दर समुदायको निर्माणका लागि अन्य देशहरुसँग मिलेर काम तयार रहेको कुरालाई जोड दिएको राजदूत छनले स्मरण गरे । उनले भने, ‘यो भनेको हामीले कस्तो भविश्यको निर्माण गर्ने र त्यस विश्वलाई कसरी बनाउने भन्ने चीनको योजना हो, जुन सबै देशका जनताको साझा आकांक्षासँग मेल खान्छ र विश्व सभ्यताको प्रगतिको दिशालाई प्रष्टसँग औंल्याउँछ ।

चीनले आफ्नो विकास, विश्वको हित र विश्वको फाइदामा जोड दिँदै आएको दाबी गर्दै राजदूत छनले अगाडि भने, ‘चिनियाँ जनतालाई मात्रै राम्रो जीवन जिउने अवसरको सिर्जना नगरी नेपाल लगायत अन्य देशका मानिसहरुलाई पनि राम्रो जीवन बिताउन मद्दत गरेको छ ।’

राजदूत छन् सोङले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको दाबी गर्दै भने, ‘नेपाल र चीन पहाड र नदीले जोडिएका र पुस्तौं पुस्तादेखि मित्रवत् सम्बन्ध कायम हुँदै आएका राष्ट्र हुन् । कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ वर्षको यो अवधिमा दुई देशले आ–आफ्ना कार्यबाट ठूला र साना मुलुकवीच समान व्यवहार र दुईपक्षीय जीतमूलक सहकार्यको उदाहरण प्रस्तुत गरेका छन् ।’

राजदूतले अगाडि भने, ‘विगत एक वर्षमा दुई देशवीचमा राजनीतिक, अर्थतन्त्र, जनमानस र सांस्कृतिक क्षेत्रमा आदान– प्रदान र सहयोगको गहिराइपूर्ण विकास भएको छ । नेपाल चीन मित्रताका खिल्खिलाउँदा फूलहरु उत्तरी र दक्षिणी दुबैतर्फका हिमाली काखमा फुलेका छन् ।’ गतवर्षको सेप्टेम्बरमा नेपालका प्रधानमन्त्री प्रचण्डले चीनको औपचारिक भ्रमण गरेको स्मरण गर्दै राजदूत छनले भने, ‘भ्रमणका क्रममा नेपाल–चीनवीचको परम्परागत मित्रतालाई प्रगाढ बनाउने र पारस्पारिक लाभकारी सहयोग विस्तार गर्ने विषयमा व्यापक सहमति व्यक्त गर्दै दुई देशवीच सहयोगको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा प्रवर्धन गर्नुभएको छ ।’

चीन र नेपालको संयुक्त आयोजनामा काठमाडौंको दरबारमार्गमा बुधबार साँझ चिनियाँ नयाँवर्ष मनाइएको थियो । बसन्त चाड अर्थात नयाँ वर्ष चिनियाँहरुको सबैभन्दा महत्वपूर्ण परम्परागत चाड मध्ये एक मानिन्छ । यो चाडले पुनर्मिलन र खुशीयालीलाई उच्च महत्वका साथ दर्शाउने राजदूत छनले बताए । उनले कार्यक्रममा भने, ‘डिसेम्बर २०२३ मा संयुक्त राष्ट्र संघको महासभाले चन्द्र पात्रो अनुसारको नयाँ वर्षलाई कानुनी विदाका रुपमा तोक्ने प्रस्ताव पारित गरी चिनियाँ वर्षलाई विश्व विदामा स्तरोन्नति गरेको छ ।’

कार्यक्रममा चिनियाँ नयाँ वर्षको शुभकामना दिँदै राजदूत छनले भने, ‘नयाँ वर्षमार्फत नेपाल र चीनवीचको सांस्कृतिक आदान– प्रदानलाई थप प्रवद्र्धन हुने वर्षका रुपमा लिने अपेक्षा गर्दछौं । र, सांस्कृतिक शक्तिलाई दुई देशका जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउने मार्ग, दुईपक्षीय जीतमुलक सहकार्यको पुल निर्माण र नेपाल–चीनवीचको साझा भविश्यसहितको प्रणाली निर्माणका लागि भावनात्मक सम्बन्धलाई बलियो बनाउने महत्वपूर्ण मार्गका रुपमा लिइने अपेक्षा गर्दछौं ।’

गत जनवरी १४ मा प्रधानमन्त्री प्रचण्डले चिनियाँ नयाँ वर्षको स्वागत समारोह र चिनियाँ नयाँ वर्ष श्रृंखलाको उदघाटन समारोहमा सहभागिता जनाएका थिए । शुक्रबार चिनियाँ नयाँ वर्ष मनाउने श्रृंखलाको दोस्रो कार्यक्रममा नेपालका तर्फबाट सभामुख देवराज घिमिरेले आतिथ्य गरेका थिए । यसक्रममा राजदूत सोङको गृह नगरीसमेत रहेको चीनको आनहुई प्रान्तबाट आएका कलाकारहरुले सांस्कृतिक प्रस्तुत गरेका थिए ।

नेपालले चीनबाट बलियो साथको अपेक्षा गरेको छ : सभामुख

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको समृद्धिका लागि चीनको बलियो साथ आवश्यक रहेको बताएका छन् । ‘चीन संसारकै एउटा आर्थिक शक्ति हो । चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्थाको कल्पना पनि गर्न सकिँदैन । चीन पूर्णरुपमा राजनीतिक स्थायित्व र अनुशासित नागरिक बस्ने मुलुकका रुपमा विश्वभरि परिचित रहेको छ’ सभामुख घिमिरेले भने, ‘नेपालले समृद्धितर्फ अघि बढिरहेको अवस्थामा चीनको बलियो साथको अपेक्षा गरेको छ ।’

हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालवीच प्राग ऐतिहासिक कालदेखि नै सुमदुर सम्बन्ध रही आएको बताउँदै सभामुख घिमिरेले भने, ‘ऐतिहासिक सम्बन्ध रहेका नेपाल र चीनबीच पछिल्ला वर्षहरुमा आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक विकासमा समेत उल्लेखनीय प्रगति हासिल हुँदै आएको छ ।’

साथै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र नेपालमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिवद्धता पनि सरकारले जनाएको सभामुख घिमिरेले बताए ।