धर्म / संस्कृति

पहाडी भेगमा होली पर्व मनाइँदै 

By खबरहब

March 24, 2024

काठमाडौं– सद्भावनाको पर्व होली, देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाएको छ ।

फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदै छ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिँदैन नाचगान पनि गरिन्छ । बुढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।

हिन्दु धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्क्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भाग दौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको मानिन्छ ।

होली पर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको संस्कृतिविद्हरूको भनाइ छ ।

तस्बिर : रासस