स्टोरी

फेरिएको काठमाडौं : त्यो लोला आतंक, यो ‘ह्याप्पी होली’

By सीता न्यौपाने

March 24, 2024

एसएलसी सकेर कलेज पढ्न म ०६७ सालमा काठमाडौं आएँ । कलेज भर्नासँगै सानो जागिर पनि थियो ।

होली अर्थात् फागु नेपालीहरुको रमाइलो र विशिष्ट पर्व हो । गाउँमा पनि यो पर्व मनाइएकै हो । रंगीन पर्वका रुपमा पुराना मनमुटाव र दुश्मनी बिर्सिएर एक आपसमा सद्भाव साट्दै होली मनाउनुपर्छ भन्ने बुझिएको थियो । तर, ०६७ सालको काठमाडौंको होली देख्दा मलाई अचम्मै लाग्यो ।

होली आउनुभन्दा एक साता अगावै बाटो हिँडिरहेका बेला छतबाट कसैले बेलुनमा पानी भरेर लोला हान्यो । लुगा जम्मै भिज्यो । यो के रहेछ भनेर बुझ्दा होली खेलेको रे । जबकि फागु पूर्णिमा आएकै थिएन ।

एक साता अगाडिदेखि काठमाडौंका गल्लीमा युवतीहरुमाथि जबरजस्ती लोला हान्न सुरु हुन्थ्यो । होली नआउँदै घरबाट बाहिर निस्कने केटीहरु लोला प्रहारको शिकार बन्थे । छलबाट बाल्टीले पानी खन्याइदिने चलनसमेत थियो ।

बाटामा भेटिने आवारा केटाहरुको सामना गर्नुपर्रथ्यो । धेरैजसो गाजाँको नसामा हुन्थे । ‘बुरा नमानो आज होली है’ भन्ने हिन्दी उखान काठमाडौंमा पनि प्रचलित थियो । केटाहरु जानी–जानी दुर्वव्यवहार गर्थे । अञ्जान बाटोमा हिँडेकाहरुलाई पनि पानी छ्याप्न छुट थियो काठमाडौंमा । त्यो छुट पर्वको आडमा करिब दुई हप्तासम्म अपराधिक मानसिकता भएकाहरुले भरपुर दुरुपयोग गर्थे ।

त्यो बेलाको होली सम्झँदा आङ सिरिङ्ग हुन्छ । काममा निस्किएकी केटीलाई अण्डाले हिर्काउने, कालो मोबिल दल्ने, फोहोर पानी छ्याप्नेसमेत गर्थे । होली खेल्दिनँ भन्नेहरुलाई पनि जबरजस्ती दुःख दिने प्रवृत्ति थियो । प्रहरी देखेको नदेख्यै गथ्र्यो, मानौं–एक सातादेखि काठमाडौंमा महिलामाथि आक्रमण गर्न छुट छ ।

होलीमा केटीहरुलाई मात्रै सास्ती थिएन । खासगरी प्रहरीले युवाहरुमाथि बिचार नै नपुर्‍याई बल प्रयोग गर्थ्यो र दुःख दिन्थ्यो ।

म बसेको डेरामा तनहुँका दुई दाजुभाइ भाडामा बस्थे । दाजु पढाइ र जागिर गर्थे । भाइ पढ्दै थिए । उनीहरु केटीले जिस्काए भने पनि नजिस्कने स्वभावका थिए । दुबै दाजुभाइ वास्तवमै सोेझा र इमान्दार थिए ।

उनीहरु होली नखेले पनि, अरुले खेलेको हेर्न भनेर चोकमा निस्किए । तत्कालै उनीहरुलाई प्रहरीले समातेर भ्यानमा हाल्यो । हामीले कसैलाई लोला हानेको छैन भन्दा पनि प्रहरीले सुनेन ।

होलीमा होहल्ला गर्ने र अराजकता फैलाउनेहरुलाई पक्राउ गर्ने क्रममा तनहुँका सोझा दाजुभाइ परिबन्दमा परे । प्रहरीले उनीहरुलाई एकरात खोरमा राख्यो र एक हप्ता उठ्न नसक्ने गरी पिटेर पठायो ।

प्रहरीले छोड्ने बेलामा पनि कान समातेर उठबस गर्न लगाएछन् । दुई हात जोडेर अब आइन्दा कसैलाई जर्बजस्ती लोला नहान्ने कसम खुवाएर छोडिदिएछन् । तथापि उनीहरु लोला हानेका कारण समातिएकै होइनन् ।

कुनै गल्ती नगरेका दाजुभाइले सजाय पाए । शायद, बदनाम गल्लीमा सोझो पनि बदनाम हुन्छ भनेको यही होला । धेरै दिनसम्म ती दाजुभाइ कोठाबाट बाहिर निस्किएनन् ।

सुध्रिएको काठमाडौं !

करिब १४ वर्षको अन्तरालमा काठमाडौंको होलीको तरिका फेरिएको छ । बाटोमा केटाकेटी, युवायुवती मस्तसँग होली मनाइरहेका छन् । महिलाले अन्याय सहनुपरेको छैन । आफू–आफूसँगै रमाएर होली खेलिरहेका छन् । हातभरि रंग र लोला लिएर बसेकाहरुले पनि बाटो हिँड्ने अपरिचितलाई छोएका छैनन् । पछिल्लो केही वर्षयता काठमाडौंको होली निकै सभ्य बन्दै गएको छ ।

होलीको दिनमा घर बाहिर निस्कन दश पटक सोच्न पर्ने स्थिति थियो । तर अहिले कुनै संकोचविना निस्कन सकिन्छ । होलीकै दिन पनि बाटो हिँड्नेलाई कसैले अवरोध गर्दैन । मानिसहरु साथीभाइ र परिवार मिलेर होली खेल्छन् । कसैले कसैलाई जबरजस्ती व्यवहार गरेको देखिँदैन ।

सुरक्षाको हिसाबले प्रहरी चोक–चोकमै तैनाथ छन् । जर्बजस्ती गरेको पाइएमा प्रहरीले समातिहाल्छ । प्रहरीले मापसे पनि चेक गरिरहेको छ । आखिर नियम पालनाको त कुरा रहेछ ।

होलीलाई सभ्य र भव्य बनाउने काठमाडौंको युवा पुस्ता अनि नेपाल प्रहरीलाई समेत धेरै–धेरै धन्यवाद ।

अझै पनि होलीका दिन मदिरा खाएर सवारी चलाउने, अभद्र व्यवहार गर्ने र झगडा गर्नेहरु कतिपयलाई प्रहरीले समातेका खबर आउन छाडेका छैनन्।

आगामी दिनमा काठमाडौंको होली यस्तो होस्, एकजना पनि समातिएको खबर सुन्नु नपरोस् । ह्याप्पी होली !