काठमाडौं- ‘होली’ भन्नेवित्तिकै दुई-चार दिन घरको छत वा साँघुरो गल्लीमा लुकेर युवतीलाई पानी खन्याउनुपर्छ भन्ने परपीडक सोच भएका पुरुषहरु अहिले शायद ४०/५० वर्षका भए होलान् । शायद तिनीहरु सडकको पेटीबाट हेरिरहेका होलान्– होलीलाई नयाँ पुस्ताले कसरी उल्लासमय बनाएको छ ? बूढोपुस्ता पेटीमा पुगेको छ, सडकमा नयाँ पुस्ता छ ।
हिजोका दिनमा काठमाडौंमा होली त्राशदी बनेर आउँथ्यो, आज उल्लास बोकेर आएको छ । होलीलाई यस्तो उल्लासमय बनाउने अहम भूमिका अरु कसैले नभएर नयाँ युगका किशोर–किशोरीले खेलेका हुन् ।
यो पुस्ता कति बिन्दास छ भन्ने तथ्य फागु पूर्णिमाका दिन काठमाडौंका सडकमा पोखिएको उनीहरुको खुशियालीबाट सहजै मापन गर्न सकिन्छ ।
काठमाडौंको किशोरपुस्ता फेसनमा मात्र होइन, सभ्यतामा पनि पुरानो पुस्ताभन्दा स्मार्ट देखिएको छ । अरुलाई चोट नपुर्याई खुशियाली मनाउन सकिन्छ भन्ने कुरामा यो पुस्ता सचेत छ ।
आइतबार बसन्तपुर, दरबारमार्ग, बानेश्वर लगायतका स्थानमा भएका कन्सर्ट एवं मनोरञ्जनात्मक गतिविधिहरुमा झुमेको किशोर पुस्ता देख्दा उनीहरु कति बिन्दास र उदात्त छन् भन्ने प्रष्ट हुन्थ्यो ।
विगतमा सडकमा हिँड्दा अनेकन हिंसाजन्य व्यवहार खेप्नुपर्ने काठमाडौंका किशोरीहरुले पछिल्लो समय आफूलाई स्वतन्त्र र सुरक्षित महसुस गर्न थालेका छन् । उनीहरुको लवाइ–खवाइ र हिँडडुलमा विगतको जस्तो संकुचन र छेकबार देखिँदैन ।
यो पनि- फेरिएको काठमाडौं : त्यो लोला आतंक, यो ‘ह्याप्पी होली’
बसन्तपुरमा बेग्लै संसार (फोटो फिचर)
काठमाडौंका सडकमा पोखिएको बिन्दास युवा पुस्ताका केही दृश्यहरु-
तस्बिरहरु : चिरायु शाक्य/खबरहब