समाचार

होलीमा उपद्रो : १०३ पक्राउ, ७५० गाडी होल्ड

By खबरहब

March 24, 2024

काठमाडौं- देशका पहाडी जिल्लाका साथै काठमाडौं उपत्यकामा आइतबार होली मनाइएको छ । यसक्रममा मादक पदार्थ सेवन गरेर झगडा गरेको अभियोगमा १ सय ३ जना पक्राउ परेका छन् ।

मासपे गरेर सवारी चलाएको आरोपमा प्रहरीले साँझसम्म ७ सय ५० वटा सवारी साधन होल्ड गरेको प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले खबरहबलाई जानकारी दिए ।

आइतबारको होली विगतमा वर्षहरुको भन्दा शान्तिपूर्ण रहेको डीआइजी ढकालले बताए । उनले भने, ‘आज होली गत सालको तुलनामा धेरै शान्तिपूर्ण र मर्यादित रुपमा खेलेको पाइयो ।’

ढकालका अनुसार जबरजस्ती रंग दल्ने, हिलो छ्याप्ने र मापसे गरेर झैंझगडा गरेको अभियोगमा देशभरिबाट आइतबार साँझसम्म १ सय ३ जना पक्राउ परेका छन् ।

मापसे गर्ने र तीव्र गतिमा सवारी चलाउने ७५० जनाको गाडी र मोटरसाइकल होल्ड गरिएको ढकालले बताए ।

उपत्यकाबाट ७६ जना पक्राउ परेका छन् भने ६७६ वटा सवारी साधन होल्ड गरिएको छ ।

कोशी प्रदेशमा कोही पनि पक्राउ नपरेको तर तीनवटा सवारी साधन होल्ड गरिएको प्रहरीले बताएको छ । त्यस्तै, सुदूरपश्चिममा आइतबार कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

बागमतीमा उपत्यका बाहेकका जिल्लाबाट ११ जना पक्राउ परेका छन् भने ५८ वटा सवारी साधन होल्ड गरिएको छ ।

गण्डकी प्रदेशमा ५ जना पक्राउ परेका छन् भने ५० वटा सवारी साधन होल्ड गरिएको छ । लुम्बिनीमा ४ जना पक्राउ परेका छन् ।

त्यस्तै, कर्णालीमा ६ जना पक्राउ परेका छन् । मधेशमा सोमबार मात्र होली मनाइन्छ ।