अन्तर्राष्ट्रिय

आर्थिक समृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

By मनोज घिमिरे

April 24, 2024

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्। यी दुई देशबाट सामान्य कामदारदेखि दक्ष जनशक्तिसम्म कतार पुग्ने गरेका छन्। यी दुई देशको भ्रमणका क्रममा कतारका अमिर सेख तमिम बिन हमाद खल थानी नेपाल आएका छन्।

थानीको भ्रमणसँग श्रमिक जीवन र श्रम सुरक्षासँग जोडिएका विषय नै अन्तर्राष्ट्रिय चासोको विषय हुन्। ह्युमन राइट वाचको लागि समेत थानीको भ्रमण चासोको विषय बनेको छ।

अरब देश दक्षिण एसियाली देशका कामदारका लागि विशेष क्षेत्र हो। यो क्षेत्र प्रतिको आकर्षणका विविध पाटा छन्। अरबी भूमिको उच्च तापक्रम र कामदारको जीवनको समस्या अहिलेको टड्कारो विषय हो। यो अन्य अन्तर्राष्ट्रिय निकाय जस्तै थानीका लागि समेत महत्त्वपूर्ण विषय बनेको छ।

कतारमा कामदारले भोग्नु परेको समस्या दुवै देशका लागि उत्तिकै गम्भीर भएको ह्युमन राइटले जनाएको छ। ह्युमन राइटका मध्यपूर्व तथा उत्तर अफ्रिकाका डेपुटी माइकल पेजले यो समस्या गम्भीर भएको बताएका छन्।

अहिले नेपाल भ्रमणमा रहेका कतारका अमिर संसारमै कम उमेरमै ठुलो जिम्मेवारी ग्रहण गर्ने व्यक्ति मध्ये एक हुन्। सन् २०१३ मा अमिर भएका थानीको जन्म ३ जुन १९८० मा भएको हो। कतार एकेडेमीबाट अध्ययन सुरु गरेका उनी बेलायतको सेब्रान स्कुलमा थप अध्ययनका लागि पुगेका थिए। त्यही उनले रोयल मिलिटरी एकेडेमीमा अध्ययन गरेका हुन्। उनले आफ्नो ज्ञान र सिप कतारको सुरक्षा निकायमा प्रयोग गरे।

उनी कारका सोखिन पनि हुन्। बुगाटी चिरोन, बुगाटी भेरोन रामब्रन्ट, पोर्से ९१९ स्पाइडर लगायत संसारका महँगा कारहरू उनले चढ्ने गरेका छन्।

फरारेको रेसिङ कारमा समेत रमाउने उनी मोटरसाइकल राइडर पनि हुन्। उनी डुकाटी बाइक मन पराउँछन्।

५ अगस्ट २००५ का दिन उनलाई उत्तराधिकारी घोषित गरिएको हो। त्यसपछि उनी सेनाका डेपुटी कमान्डर इन चिफ घोषित भए। त्यसै समयमा उनले कतारको विभिन्न काउन्सिल तथा निकायमा प्रमुखको भूमिका निर्वाह गरे । कतार नेसनल भिजन २०३० का लागि उनको विशेष भूमिका र योगदान रहेको छ। सन् २००८ मा यसको सुरुआत हुने समयसम्म यो योजनाको प्रमुखको भूमिका पनि उनलाई नै प्रदान गरिएको थियो। त्यो योजनाको कार्यान्वयनमा उनी अझै तल्लीन छन्।

उनले नै आगामी पुस्ताका लागि कतारको इतिहास र यसको महत्त्वका बारे चासो रहोस् भन्ने सोचले भव्यताका साथ कतारको राष्ट्रिय दिवस मनाउने प्रचलनको सुरुवात गरेका हुन्। उनले राष्ट्रिय खेलकुद दिवसको घोषणा पनि युवराज भएकै समयमा गरेका हुन्।

२५ जुन २०१३ मा कतारको अमिर घोषित भएपछि उनले थुप्रै उल्लेखनीय काम गरे। साथै केही महत्त्वपूर्ण जिम्मेवारी समेत निर्वाह गरेका थिए।

सेनाका प्रमुख उनले आर्थिक मामला तथा लगानीको सर्वोच्च परिषदमा पनि प्रमुखको जिम्मेवारी लिए। उनले वितरण र विरासतको लागि सर्वोच्च समिति र राष्ट्रिय सुरक्षा परिषदमा पनि प्रमुखको जिम्मेवारी आफै लिएका छन्।

उनको शासनकालमै कतार थुप्रै सूचकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा माथिल्लो तहमा पुग्न सफल भयो। पुँजी लगानी, राजनीतिक र कानुनी क्षेत्रका विविध आयाममा कतारको सुचांक माथिल्लो रहन पुगेको छ।

कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय र कम बेरोजगारी दर कतारका विशेषता बनेका छन्।

संसारका ५ वटा राज परिवारलाई धनी परिवारको रूपमा चित्रण गरिन्छ। बेलायत, कतार, साउदी अरेबिया, कुवेत र संयुक्त अरब इमिरेट्सका राज परिवार संसारकै धनी परिवार मानिन्छन्। ३० अक्टोबरको आँकडा अनुसार उनको कुल आम्दानी वार्षिक ५ अर्ब अमेरिकी डलर छ। उनको आर्थिक हैसियत नै संसारको भू-राजनैतिक प्रभाव छाड्नका लागि उपयोगी भएको जनाइन्छ।

आर्थिक हैसियत र खेलकुदमा चासो

उनको राजनीतिक हैसियत नै आर्थिक आम्दानीको एउटा मुख्य श्रोत भएको जनाइन्छ। साथमा विभिन्न क्षेत्रमा उनको लगानी नै आम्दानीको एउटा कारण बनेको छ। उनको खेलकुद क्षेत्रमा प्रशस्त चासो र लगानी छ।

सन् २००५ मा उनले ओआरवाइएक्स कतार स्पोर्ट्स किनेका थिए। उनी प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मनका समेत मालिक हुन्। खेलकुदमा विशेष रुचि भएका उनी सन् २००६ मा भएको एसियाली खेलकुदको आयोजक कमिटीका प्रमुख थिए। साथै उनी सन् २०२२ को विश्वकप आयोजनाको अवसर कतारलाई दिलाउन पनि सफल भएका थिए।

हरोड, बारक्लेज बैङ्क, सेनब्युरे तथा लन्डनको साय स्काइ रापर लगायतमा उनको त्यत्तिकै लगानी छ।

उनको कार्यकालको सुरुआती चरण भने विवादास्पद भएको थियो। केही छिमेकी देशसँगको सम्बन्धमा समेत तुसारापात आएको थियो।

सन् २०१७ मा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनसँगको सम्बन्ध बिग्रिएको थियो। त्यो धक्काको क्षतिलाई कम गर्न कतारले चलाखीपूर्ण रूपले टर्की, इरान, कुवेत र अ‍ोमानसँगको सम्बन्धलाई कसिलो बनाएको हो।

थानी वंश मध्य अरेबियाबाट कतार प्रायद्वीपमा पुगेको हो। सो परिवारको १९ औ. शताब्दीदेखि कतारमा पकड रहँदै आएको छ। दोस्रो सेख कसिम बिन मोहम्मदलाई कतारको संस्थापक मानिन्छ। सातौँ सेख खालिफ बिन हमादले कतारलाई सन् १९७१ मा बेलायतबाट मुक्ति दिलाएका हुन्। उनी नै कतारका पहिलो अमिर हुन्। उनका छोरा अमान बिन खालीफाले कतारमा तेल प्रशोधनलाई धेरै अगाडि बढाएका थिए। त्यसै शासन कालमा कतार प्राकृतिक ग्यासमा पनि अघि बढेपछि आर्थिक समृद्धिसहित कतार संसारकै धनी देशको सूचीमा पुगेको थियो। सन् २०१३ मा ३३ वर्षीय छोरालाई नेतृत्व हस्तान्तरण गरेपछि कतारले नयाँ गति लिएको थियो।

वर्तमान अमिरको कार्यकालमा कतारका सडक फराकिलो बनाइए भने दोहा मेट्रो सिस्टमको विकास भयो। हमाद अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा पेन्सनमा वृद्धि लगायत विषयमा उनी लोकप्रिय छन्।

मानव अधिकारको सवालमा आलोचित

आर्थिक विकासमा अग्रणी कतार मानव अधिकारको सवालमा भने आलोचित रहँदै आएको छ। सन् २०१४ मा साइबर अपराध सम्बन्धी कानुन पास भएको थियो। सो कानुन मानव अधिकारको बर्खिलाप भएको भन्दै एम्नेस्टी इन्टरनेसनल लगायतले विरोध गरेका थिए।

वैदेशिक मामलामा सफल अमिरको डाफर सम्झौतामा भूमिका मात्र होइन, अहिले सिरियाको सङ्कटमा पनि त्यत्तिकै चासो छ। इजरायल हमासको युद्ध विराम सहितको बन्दी रिहाइमा समेत कतारको महत्त्वपूर्ण भूमिका रहेको थियो।

भारतसँग सुमधुर सम्बन्ध बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका उनले इजिप्ट प्रति सहयोगी भूमिका निर्वाह गर्दै आएका छन्। उनले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि उनले बङ्गलादेशको भ्रमण पनि गरे।

प्रतिव्यक्ति आयका हिसाबले संसारको पाँचौँ धनी देश कतार एक दशक अघि नै तेल उत्पादनको कारण संसारको धनी देश भएको थियो। अहिले यो देशलाई लक्जेम्बर्ग, बर्मुडा, नर्वे र स्वीजरल्यान्डले पछि पारेका छन्। तथापि कतार अहिले एउटा शक्तिको रूपमा उदाउँदै गरेको छ।

आर्थिक स्तरका कारण संसारभर प्रभाव जमाएको कतारका यी अमिरका लागि बङ्गलादेश र नेपाल दुवै देशको भ्रमण अत्यन्त महत्त्वपूर्ण हो।

कतारमा चार लाखभन्दा बढी नेपाली कामदार छन्। त्यहाँको तापक्रम ४० डिग्री भन्दा बढी छ। माइकल पेगले भने जस्तै कामदारले भोगेको समस्या नै नेपाल र कतार बिचको सम्बन्धको मुख्य विषय हो।

ज्यालामा असमानता, सम्झौता विपरीत काम र क्रोनिक बिमारी नेपालीका समस्या हुन्। आर्थिक समृद्धिका अग्रणी कतारका यी युवा नेतृत्वका सामु उठेका श्रम बजारका समस्या समाधानको पनि सायद पहल हुनेछ। स्रोतः दिवान डट जीओभी, ह्युमन राइट, अल जजीरा, एपी