ब्रेकिङ स्टोरी

कतारका राजाको भ्रमण : नेपाली मजदुरका विषयमा मौन

By खबरहब

April 24, 2024

काठमाडौं- कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी नेपालको दुई दिने भ्रमण सकेर फर्किएका छन् ।

दक्षिण एसियाको अर्को मुलुक बंगलादेशमा पनि महत्वपूर्ण सम्झौता गरेर काठमाडौं आइपुगेका थानीले नेपालमा आफ्नो प्रभाव विस्तार गरेर फर्किएका हुन्‌ ।

भौगोलिक रूपमा संसारका साना मध्येमा पर्ने कतार पछिल्लो समय विश्व राजनीतिमा प्रभावशाली शक्ति बनेको छ ।

आतंकवादीहरूलाई सघाएको भन्दै सन् २०१७ देखि २०२१ सम्म कतारले लामो नाकाबन्दी झेल्यो । कतारलाई साउदी अरेबियाको नेतृत्वमा युएई, बहराइन लगायत ९ वटा देशले संयुक्तरुपमा नाकाबन्दी लगाएका थिए । तर कतार उक्त नाकाबन्दीलाई चिर्दै मध्यपूर्वमा अलग्गै शक्तिका रूपमा उदाएको छ ।

नाकाबन्दीलाई असफल सावित गर्दै अघि बढेको कतारले सन् २०२३ मा अर्जेन्टिनाले उपाधि उचालेको विश्वकप फुटबल प्रतियोगिताको भव्य आयोजना गर्‍यो । जसलाई अहिलेसम्मकै सबैभन्दा भव्य विश्वकपको संज्ञा दिइएको छ ।

उक्त कतार विश्वकपलाई सफल बनाउन नेपालबाट गएका लाखौँ मजदुरले आफ्नो रगत-पसिना बगाए । विश्वकपका लागि स्टेडियम बनाउँदा नेपालका सयौँ आप्रवासी कामदारले ज्यान गुमाए भने कयौँ अंगभंग भएर फर्किएका छन् ।

त्यसरी स्टेडियमसहितका संरचना बनाउन योगदान गरेका नेपाल, भारत र बंगलादेशसहितका मजदुरहरूलाई कतारले विश्वकप फुटबलसमेत नि:शुल्क देखाएको थियो ।

कतारमा अहिले पनि ३ लाख ६४ हजारभन्दा धेरै नेपाली श्रमिकहरू कार्यरत छन् । १२ वर्षअघिको कुरा गर्ने हो भने कतारमा त्यहाँका नागरिकभन्दा धेरै नेपाली आप्रवासी श्रमिक थिए ।

सन् २०१२ सम्म कतारका नागरिकको संख्या ३ लाख मात्रै थियो । कतारीहरुभन्दा धेरै नेपाली र भारतीय थिए । त्यसबेला कतारमा नेपाली १६ प्रतिशत थिए । तर कतारमा कतारीको संख्या १५ प्रतिशत थियो । अहिले त्यहाँको अवस्था फेरिएको छ, त्यहाँको जनसंख्या बढेर करिब २६ लाख पुगेको छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतारमा नेपालीको संख्या अहिले पनि साढे ३ लाखभन्दा माथि छ । गत असारसम्मको विवरण अनुसार कतारमा नेपाली पुरुष श्रमिक ३ लाख ४८ हजार ८३४ र महिला १५ हजार ५५५ थिए । अहिले पनि यो संख्यामा खासै तलमाथि भएको छैन ।

राजाको भ्रमण

कतारलाई समृद्धिको उचाइमा पुर्‍याउन नेपालीहरूले कयौँ वर्षदेखि त्यहाँ कठिनभन्दा कठिन श्रम गरिरहेका छन् ।

यस्तोमा मंगलबार काठमाडौं आइपुगेका त्यहाँका राजा र नेपाल सरकारका अधिकारीबीच नेपाली मजदूरहरूबारे ठोस केही सम्झौता हुन सक्ने अपेक्षा थियो ।

तर यी दुई देशबीच नेपाली मजदुरका विषयमा कुनै ठोस सहमति भएन । होटल सोल्टीमा भएको द्विपक्षीय वार्तामा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल पनि सहभागी भए ।

उक्त वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारमा रहेका नेपाली मजदुर दुई देशका सम्बन्धका सेतु रहेका भन्दै प्रशंसा पनि गरे । तर उनीहरूको हितको पक्षमा कतारका राजा नै आएका बेला नेपालले कुनै ठोस प्रस्ताव राखेर समझदारी गराउन सकेन ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले कतारमा कार्यरत करिब ४ लाख नेपालीहरू द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताए । उनले अहिलेसम्म अदक्ष कामदारहरू धेरै जाने भएकाले अब नेपालले दक्ष कामदार उत्पादन गर्ने योजना बनाएको कतारी राजालाई सुनाए ।

उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरू पठाउन नेपालमा व्यावसायिक तालिम र सीपविकास केन्द्रहरू स्थापना गर्न लागिएकाले सहयोग गर्न आग्रह गरे । प्रचण्डले नेपाली श्रमिकको सुरक्षाबारे चासो राखेका उनको सचिवालयले उल्लेख गरेको छ ।

‘नेपाल आफ्ना नागरिकहरूका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चत गर्न प्रतिबद्ध छ’, उनले भने, ‘यससँग सम्बन्धित समस्याहरूलाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।’

नेपाल र कतारबीच विभिन्न ८ बुँदे सम्झौता हुँदा नेपाली श्रमिकहरूबारे कुनै विषय समेटिएको छैन ।

कतारी राजाको भ्रमणका क्रममा कला र संस्कृतिका क्षेत्रमा सहकार्य गर्न दुई देश तयार भएको उल्लेख गरिएको छ ।

दुई देशका समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेशराज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेका हुन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।