राजनीति

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

By खबरहब

April 24, 2024

 

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले दिवंगत पितासमेत रहेका नेता सुवास नेम्वाङले देखाएको बाटोमा अघि बढ्नु पर्ने बताएका छन् ।

बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाएको बाटोबाट विचलित नहुने बताए ।

‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु’, सुहाङले भने ।

इलाममा आफू माओवादी केन्द्र, नेकपा र परिवार दलको साझा उम्मेदवार बन्दा यो चुनावी गठबन्धन मात्रै नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको सुहाङले बताए ।

युवा र अनुभवी नेताको योगबाट मात्रै समृद्ध नेपाल बनाउन सकिनेमा उनले जोड दिएका छन् ।

नेपाली समाज इन्द्रेणी जस्तै रङ्गिन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उच्छृङ्खल भएर प्रस्तुत नहुन आग्रह गरे ।

सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उनले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन आग्रह गरे ।

उनले त्यस्ता भ्रममा नपर्न अनुरोध गरे । अब एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनतामाझ जानु पर्ने उनको भनाइ थियो ।

इलामले विकासमा फड्को मारेको बताउँदै सुहाङले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । ती बाँकी काम पुरा गर्न सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिए ।