अन्तर्राष्ट्रिय

चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी

By खबरहब

April 24, 2024

एजेन्सी- आसन्न लोकसभा चुनावको प्रचारका क्रममा भारतका एकजना केन्द्रीय मन्त्री बेहोस भएर ढलेका छन् ।

महाराष्ट्रको यवतमालमा केन्द्रीय मन्त्री नितिन गडकरी चुनावी र्‍यालीका क्रममा बेहोस भएर ढलेका हुन् ।

उनी यहाँ एनडीएबाट शिवसेनाका प्रत्याशी राजश्री पाटिलको समर्थनमा चुनावी र्‍यालीलाई सम्बोधन गर्न आएका थिए ।

गडकरीले र्‍यालीलाई सम्बोधन गरिरहेकै बेला अचानक स्वास्थ्य बिग्रिएर बेहोस हुन पुगेका थिए । मञ्चमै ढलेका उनलाई त्यहाँ रहेका अन्य सहयोगीले अस्पताल लगे ।

घटनाको केही बेरपछि उनले अस्पतालबाट एक पोस्ट सामाजिक सञ्जालमा हाल्दै आफू ठिक रहेको बताएका थिए ।

‘र्‍यालीका क्रममा गर्मीका कारण असहज महसुस गरेँ । तर अब म पूरा स्वस्थ छु । अघिल्लो सभामा भाग लिन वरूडका लागि निस्किसकेँ’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

सन् २०१८ मा पनि नितिन गडकरी महाराष्ट्रको अहमदनगरमा एक कार्यक्रमका क्रममा मञ्चमै बेहोस भएका थिए । त्यसबेला महाराष्ट्रका तत्कालीन राज्यपाल विद्यासागर रावले उनलाई जोगाएका थिए ।