सांकेतिक तस्बिर

अपराध

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

By खबरहब

April 24, 2024

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई चन्द्रागिरि बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ घर भई  वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।

सत्यन्द्रले जानुका निरौलासमेतलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु र क्यानडा पुगेर राम्रो काम लगाइदिन्छु, भन्दै ६८ लाख २० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार अनामनगरबाट पक्राउ गरेको हो ।

त्यस्तै, विवेकले सनिशा चौधरी समेत ३ जनालाई माल्टा पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभन देखाई तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बागबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।