समाचार

अध्यादेशबाट बजेट ल्याउने तयारी छैन : सचेतक पाण्डे

By खबरहब

May 24, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका छन् ।

शुक्रबार संसद् भवनमा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको भन्दै अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका हुन् ।

सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको र सहमति जुट्ने उनको भनाइ छ ।

उनले संसद् चलिरहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने कुरा उचित नहुने बताए ।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसलाई संसदमा बोल्न नदिएको कुरा सही नभएको बताए । उनले प्रतिपक्षीले उठाएका मागलाई सम्बोधन गर्नेक्रममा कार्यदलमा छलफल हुँदा सदनको अवरोध हटाउन कांग्रेस तयार नभएको धारणा राखे ।

कांग्रेस निकासका लागि गम्भीर नभएको हो की भन्ने आभास भएको उनको भनाइ छ ।

उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सदनबाट बजेट ल्याउन नसक्ने अवस्था आए त्यसको सम्पूर्ण जबाफदेहिता र जिम्मेवारी कांग्रेसकै हुने बताए ।