राजनीति

शीर्ष नेताको बैठक : सहकारीबारे समिति बनाउन सबै तयार, ठोस सहमति भएन

By खबरहब

May 24, 2024

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको शीर्ष तहका नेताहरूको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नेमा सबैको जोडबल देखिएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘मूलभूत रुपमा जुन कुरा उठेको छ त्यसको सम्बोधन गर्ने गरी समिति गठन हुनुपर्छ भन्नेमा सबैको जोड बल छ । मूल विषयलाई सम्बोधन गरेर नै टुंग्याउने हो ।’

तर यो बैठकमा संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रव लामिछानेको नाम राख्ने नराख्नेबारे ठोस निर्णय दलहरूले गर्न सकेनन् ।

उनले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि भएको धरपकडबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि बताए ।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौँ । गम्भीर ध्यान आकृष्ट भएको छ भनेर कुरा उठायौँ भनेर कुरा उठायौँ,’ लेखकले भने ।