ब्रेकिङ स्टोरी

कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ जारी

By खबरहब

June 24, 2024

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि बहस भइरहेको छ ।

सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा भइरहेको बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट बहस भइरहेको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीका तर्फको बहस हिजो नै सकिएको छ । आज बहस सकिएमा भोलिसम्ममा फैसला आउन सक्ने बताइएको छ ।

कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाइएको थियो ।

पूर्वमुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार गठनका लागि आह्वान गर्नु संविधान विपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् ।

कार्कीले रिटमा प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका छन् ।