फाइल फोटो

समाचार

नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण

By खबरहब

June 24, 2024

काठमाडौं–  सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्‍याउने काम झनझन् बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

 घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे। 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रुपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनी रुपमा रहेको तथ्य प्रस्तुत गरे । 

पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनी रुपमा कुवेत पुगेको सूचना प्राप्त भएको उनले बताए। 

सांसद गुरुङले आफू कुवेतमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गरे । 

उनले भने,  ‘झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति ६ लाख ५० हजार लिएर बेल्ग्रट पुर्‍याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’