राजनीति

तीन दिने नेपाल भ्रमणमा आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन

By खबरहब

June 24, 2024

काठमाडौं- जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान आइपुगेका छन् ।

उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरे ।

भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालकातर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् ।

प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने छन् । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी असार १२ गते काठमाडौंबाट बेइजिङ फर्किने कार्यक्रम छ ।