काठमाडौं– नेपाली समाजको बहुसङख्यक हिस्साले देवआस्था र पूजाआजाको जीवित संस्कृतिलाई निरन्तरता दिइरहेको छ । हिन्दु र बौद्धदेखि प्रकृतिपूजकसम्मले घर, मन्दिर, थान र पूजास्थलसम्म मूर्ति या देवताका रूपमा विभिन्न भौतिक कलाकृति अनिवार्य प्रयोग गर्छन् ।
पछिल्लो समय त मानिसहरूले घर सजाउनकै लागि भए पनि विभिन्न डिजाइन भगवानका मूर्तिहरू किन्ने गर्दछन् । यस्तै, आफूले मान्ने धर्म अनुसार पनि भिन्न-भिन्न भगवानको मूर्ति खोजिरहेका हुन्छौं ।
यस्तै मूर्ति टुकटुक कुँदिरहेका हुन्छन् गोपी बराइली ! उनले सानैबाट सिकेको सीप नै यही हो । विभिन्न खालका मूर्ति बनाउने र बुट्टा भर्ने काममा पोख्त छन् उनी । आफूले जानेको सीपलाई व्यवसाय बनाएर थुप्रै कामदारहरू पनि राखेका छन् ।
काम गर्न पढ्नैपर्छ भन्ने मान्यतालाई गलत साबित गर्दै पढेर भन्दा पनि परेर धेरै कुरा जानिने कुरामा उनी विश्वास राख्छन् । हरेक दिन बिहान ७ बजे कारखाना आइपुग्ने बराइली दिनभर साथीहरूसँगै काममा तल्लीन हुन्छन् । उनले बनाएका मूर्तिहरू भने देश तथा विदेशमा प्रख्यात छन् ।
परिवारबाटै सिके सीप
गोपीले सानैदेखि कसैले केही गरेको देखे भने त्यसलाई नियालेर हेर्ने गर्थे । मूर्ति बनाउने कुरा त उनका लागि नयाँ नै भएन । किनभने उनका घरपरिवारको जीविकोपार्जन नै लगभग मूर्तिकलामै आश्रित थियो । उनले मूर्ति बनाउने सीप घरबाटै पाए ।
काम सिके पनि पहिले त्यति बनाएनन् । अलि पछि बुबाले काम गर्न नसकेपछि आफैँले घरव्यवहार चलाउनुपर्ने भयो । अब उनले परिवारको जीविकोपार्जनका लागि केही न केही त गर्नैपर्थ्यो । अनेक विकल्पबारे सोचे । अन्तिममा उही पुर्ख्यौली उद्यम मूर्तिकलाबाटै आडभरोषा पाए । गाउँबाट मूर्ति बनाउने अर्डर आयो । अनि बनाउन थाले ।
काभ्रेको पाँचखालमा जन्मिएका गोपीलाई यो व्यवसाय नै बन्छ भन्ने लागेको थिएन । उनले त्यति धेरै औपचारिक अध्ययन गरेका छैनन् । उनलाई सुचना प्रविधिबारे ज्ञान पनि छैन । उनी जान्दछन् त मूर्तिलाई कसरी आकर्षक बनाउने भन्ने मात्रै !
अहिले उनले यही पेसालाई व्यवसाय बनाएर मूर्ति बनाउने उद्योग नै दर्ता गरेका छन् । जसलाई ‘चोली ह्याण्डीक्राफ्ट’को नाम दिएका छन् ।सुरुमा उनले मूर्ति बनाउँदै/बेच्दै गर्दथे । पछि अरूलाई पनि यो पेसाप्रति आकर्षण गराउन उनले उद्योग स्थापना गरेका हुन् ।
उद्योग खोल्न सात लाख रुपैयाँ ऋण
गोपीले राम्ररी जानेको काम मूर्ति बनाउने नै थियो । कसरी काम गर्ने भने ठूलो चिन्तामा थिए । अरूको उद्योगमा जागिर खाने योजना पनि नबनाएका होइनन् । तर, अरूकहाँ काम गरेर मात्रै जीवननिर्वाह नहुने भएपछि आफैँ केही गर्न उनले उद्योग दर्ता गर्ने निणर्य गरे ।
त्यसपछि आफ्नो घरजग्गा धितो राखेर उनले बैंकबाट ऋण लिए । जम्मा ७ लाख रुपैयाँ ऋण लिएर उनले पहिले जमिन भाडामा लिए । टहरो ठड्याए । केही कच्चा पदार्थ किनेर ल्याए ।
सुरुमा बौद्ध गुम्बाहरूमा आवश्यक पर्ने साना स-साना सामग्रीहरू बनाउन थाले । त्यसलाई चाबहिलमा ल्याएर बेच्न थाले । उनले बनाएका सामानलाई पसलेहरूले मन पराए । सामानको अर्डर बढ्दै गयो । उत्पादन बढाउन थाले ।
बनाउँदै जाने क्रममा उनले अझै धेरै सिक्दै पनि गए । सुरुमा उनले एकजना मात्रै साथी राखेर काम थालेका थिए । काम बढ्दै गयो । उद्योगमै आएर भगवानका मूर्ति अर्डर दिन थाले । दुई जना कामदार थपे । मानिसहरूले उनले बनाएका सामानहरूको फिनिसिङ धेरै नै मन पराए ।
धार्मिक मान्छे (विशेष गरेर बौ धर्मावलम्बी)हरू उनको उद्योगमा धाउन थाले । त्यो ठाउँमा मात्रै उत्पादन गरेको सामानले पुगेन । अब उद्योग विस्तार गर्नुपर्ने भयो । नयाँ ठाउँको खोजीमा हिँडे । कोठाभन्दा केही पर एउटा नयाँ भवन भाडामा लिए र कामलाई विस्तार गरे । कामदार पनि थपे ।
अहिले उनको उद्योगमा १० कामदार छन् । उनीहरूसँगै गोपी पनि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्छन् । ‘मलाई काम गर्न अल्छी लाग्दैन, साथीहरूसँगै काम गर्छु । अर्डर जाने दिन त राति १० बजेसम्म पनि काम गर्नुपर्छ । त्यस्तो समयमा त म घर जानै भ्याउँदिन । यहीँ बस्छु रातभर काम गर्छु । एकजना साथी पनि राख्छु । उनीहरूलाई पनि रातमा काम गरेको पैसा दिन्छु,’ गोपी सुनाउँछन् ।
माग धान्नै मुस्किल
गोपीको मूर्ति उद्योगबाट उत्पादित सामानको माग उच्च छ । तर, आर्थिक सङ्कटका कारण उनले माग भए अनुसारको सामान नै पुर्याउन सकेका छैनन् ।
विषेशगरी बौद्ध धर्मसँग सम्बन्धित मूर्ति वा पूजाका लागि आवश्यक पर्ने सामानहरू बनाउने गोपीको उद्योगमा दिनहुँ लाखौं रुपैयाँ बराबरका सामानको अर्डर आउँछ । तर, कच्चा पदार्थ किन्ने पर्याप्त रकम नहुँदा सामान बनाएर दिन नसक्ने अवस्था रहेको उनी बताउँछन् ।
‘आफूसँग सीप त छ, तर त्यसको उपयोग गर्न सक्ने पूर्ण आर्थिक आधार छैन । आर्थिक अवस्था कमजोर भएक कारण सोचेजस्तो सामान दिन सकिरहेको छैन,’ गोपी भन्छन् ।
केही अघि उनलाई ३० लाख रुपैयाँ जति लागत लाग्ने मूर्तिका अर्डर आएको थियो रे ! तर, आफूसँग मूर्ति बनाउन आवश्यक कच्चापदार्थ किन्ने रकम नभएका कारण ग्राहक नै फर्काउनुपरेको उनी बताउँछन् । सामान अर्डर दिने बिक्रेताहरूले सुरुमा सबै पैसा नदिने र थोरै पेश्कीले मात्रै मूर्ति बनाउने कच्चापदार्थ किन्न नपुग्ने भएकाले आफूले नचाहँदा-नचाहँदै अर्डर फिर्ता गरेको उनले बताए ।
‘ठूलो–ठूलो अर्डर पनि आउँछ, तर हामीसँग बचत रकम नहुने हुनाले अर्डर पूरा गर्नै सक्दैनौँ । बनिसकेपछि त पैसा आउँछ, तर पहिले सामान किन्ने रकम नै नभएका कारण मैले धेरै अर्डर फर्काएको छु,’ उनी भन्छन् ।
मूर्तिमा भगवानका विभिन्न रूपहरू धेरै सामान प्रयोग गरेर बनाइएको हुन्छ । यस्तै, कतिपय मूर्तिमा सुनको मात्र लेपन लगाइन्छ भने कतिमा चाँदी पनि प्रयोग गरिएको हुन्छ । ठूला मूर्ति बनाउन तीनदेखि चार महिनासम्म लाग्ने उनी बताउँछन् ।
यस्ता मूर्तिहरू विशेषगरी विदेश निर्यात गरिन्छ । तर, उनी आफैँले भने अन्य देशहरूलाई बेच्न सकिरहेका छैनन् । किनभने विदेशतर्फ एकैपटक ठूलो परिमाणमा सामान पठाउनुपर्ने हुन्छ । त्यति सामान आफूले एकैपटक बनाउन नसक्ने उनी बताउँछन् । मूर्ति कुँद्न चाहिने लाहादेखि सम्पूर्ण सामानहरूको भाउ महँगो भएको र आफूले पर्याप्त व्यवसाय गर्न नसकेका कारण अलि पछि परेको उनको अनुभव छ ।
काम गर्ने कामदारहरूलाई पनि अगाडि नै आधा तलब दिनुपर्ने भएका कारण बचत गर्न गाह्रो हुने उनी बताउँछन् । आफ्नो जीविकोपार्जनदेखि छोराछोरीलाई शिक्षादीक्षा दिनेसम्मको आधार यही पेसा भएकाले बचत गर्न नसकेको गोपीले सुनाए ।
पाए स्टार्टअप कर्जा
केही समयअघि सरकारले साना उद्योगहरूलाई प्रोत्साहन गर्ने उद्धेश्यले स्टार्टअप कर्जा प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबारे उनलाई थाहै थिएन ।
एकजना साथीले उनलाई यो सुविधाबारे बताए । उनले पनि फर्म भर्न लगाए । उद्योगको अवस्था हेरेर प्रदान गर्ने उक्त सुविधाअन्तर्गत उनले २५ लाख रुपैयाँ माग गर्दै फर्म भरेका थिए । आठ लाख रुपैयाँमात्रै पाए । सोही रकमबाट उनले उद्योगका लागि नयाँ मेसिन अर्डर गरिसकेका छन् । ‘मलाई यो कर्जा पाउँछु भनी आश नै लागेको थिएन, पाएँ । त्यसैले उद्योगमा मेसिन ल्याउन अर्डर गरेको छु,’ उनले भने । मेसिन आइसकेपछि काम गर्न अझै सजिलो हुने र अहिलेभन्दा धेरै सामान दैनिक बनाउन सकिने उनको भनाइ छ ।
उद्योग विस्तार गर्ने लक्ष्य
गोपीले बाबुबाजेको पेसालाई अपनाउँदा कामबाट पछुताउनु परेको छैन । यो पेसामा खट्न सक्दा राम्रो कमाइ पनि हुने गरेको छ ।
उनले बैंकबाट लिएको ऋण पनि यही उद्यमबाट भएको आम्दानीले तिरिसकेका छन् । दुई छाक खान पनि धौ-धौ पर्ने उनलाई अहिले त्यस्तो समस्या छैन । त्यसैले उद्योगलाई बढाएर अझै ठूलो बनाउने उनको योजना छ । उनलाई आफूले बनाएका सामानहरू आफ्नै पसल खालेर बेच्ने ठूलो रहर छ ।
‘मलाई आफूले बनाएका सम्पूर्ण सामग्रीहरू आफ्नै पसलबाट बेच्न र ती सामान कसरी बन्छन् भनी राम्ररी बुझाउन मन छ । तर, अहिलेसम्म पसल खोल्न चाहिँ सकेको छैन । एक वर्षअघि चाबहिलमा एउटा पसल हेरेको थिएँ । भाडा धेरै महँगो भनेपछि आँट गर्न सकिनँ,’ उनले भने ।
गोपीले बनाएका मूर्तिहरू चिनियाँहरूले निकै मन पराउने गरेका छन् । अहिले त चिनियाँहरूले आफूलाई भेट्न थालेको उनी बताउँछन् । नयाँ मेसिन आएपछि काम गर्न धेरै सहज हुने र व्यवसाय बढ्ने उनको अपेक्षा छ ।
‘सरकारले यो क्षेत्रलाई चिन्न सकेन’
गोपीले बनाएका ८० प्रतिशभन्दा धेरै मूर्ति तथा सामानहरू विदेश निर्यात हुन्छन् । बौद्ध धर्म मान्नेहरूका लागि नेपाल महत्वपूर्ण स्थल भएका कारण नेपालबाट यस्ता मूर्तिहरू विदेशमा लैजानेहरू धेरै छन् ।
तर, सरकारले भने यो क्षेत्रलाई बेवास्ता गरेको उनको भनाइ छ । महिनौं लगाएर बनाएका मूर्तिको न निश्चित मूल्य छ, न त मापदण्ड नै ! उनलाई मान्छे अनुसार डिल गर्नुपर्दा साह्रै झन्झट लाग्छ ।
‘निश्चित मूल्य भएको भए सामानमा बार्गेनिङ गर्नु पर्दैनथ्यो । तर, सरकारले उद्योगको रूपमा नै हेरेन । यसबाट सरकारले पाउने राजस्व नै बुझेन । यसको फाइदा अन्य देशहरूले उठाइरहेका छन् ।’