मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित नेपाली सिनेमा हो भन्न सकिन्छ। हिनयान (थेरवाद) दर्शनमा व्यक्ति स्वयमले एकलरुपमा मुक्तिको प्रयास गर्नुपर्छ भन्ने बुझिन्छ। टासी व्यापारको सिलसिलामा ल्हासा गएपछि परिवारमा लागेको दागको पिरले सदाका लागि परिवार त्याग्छ र मुक्ति चाहन्छ।
तर, महायान बौद्ध दर्शनमा करुणाको ठूलो भूमिका हुन्छ। ब्रह्माण्डको सम्पूर्ण चराचर जगतसँग एकाकार भएर जीवनको मुक्ति खोज्नु महायानको अभिष्ट हुन्छ। त्यसकारण पेमा र कर्माले जीवनलाई सजिलोसँग जिउन प्रयास गरे।
रिम्पोछेले जन्मिने सन्तानको रक्षा करुणाले मात्र पूरा हुन्छ। भन्तेको सत्कर्म गुम्बामा बसेर गुरु र भगवानको स्याहार र भक्ति गर्नु मात्र नभई सांसारिक जीवन जिउने परिवारको रक्षा गर्नु सुरक्षा दिने जिम्मेवारीबाट मात्र बौद्ध दर्शनको अभिष्ट पूरा हुने सन्देश छ। जन्म महान् कुरा हो, कसको जन्मभन्दा पनि। संसार आफन्तीबाट घेरिए पनि अन्त्यमा बाँच्न एकल प्रयत्न जरुरी छ। हार्न आवस्यक छैन। हरेकलाई निन्दा भन्दा परबाट जन्मने अधिकार छ । आमा नै महान छिन्, जसले हरेक निन्दा हन्डरको बीचबाट पृथ्वीलाई सुन्दर बनाउँछिन्।
सिनेमाले तिब्बती महायानको पुनर्जन्मको दार्शनिक पक्षलाई प्रस्तुत गरेको छ। यो सुपरनेचुरल पराभौतिकी हो। जो सयौँ वर्षदेखि परम्परित भएर बाँचेको छ। संसार चल्न विज्ञान मात्रै पर्याप्त छैन। अरु तत्वले समेत यो लोक कब्जामा राखेको छ, जो रहस्यपूर्ण छ।
तिब्बती बज्रयानी सम्प्रदायबाटै महायान निर्माण भयो। हिमाली शेर्पा, लामा आदि समुदायले प्रत्येक घरबाट एकजना भिक्षुका लागि छोरा दान गर्छन् । भिक्षु भन्तेको जीवनदर्शन गुम्बामा जीवन समर्पण गरेर जिउँनु हो। आवश्यक पर्दा गृहस्थीमा फर्कनु विकल्प हो। त्यही कारणबाट बाध्य भएर गृहस्थीमा फर्कन्छ कर्मा।
तर यो बाध्यकारी जीवन सजिलो हुन्न। तथापि पेमाको अस्वीकार्यबीचको बिस्तारै हुर्कँदै गएको आकर्षणले तान्दै लान्छ। यो दुई आत्माको मिलन गराउने प्रयासमा सङ्गीतको भाषा महान छ। तर फूल अर्पण गर्नुआगावै कर्माले हतार नगर फक्रन देउ भनेबाट यो पूर्णता हुन रोकिन्छ। जो राम सरको प्रवेशले बोकेर आएको रिम्पोछेको मृत्युको खबरले समाप्त हुन्छ।
सङ्गीत जादुको बिम्ब भयङकर जादुमय छ। टासी र पेमाको प्रेमको गहिराई सङ्गीतले गर्यो । भन्ते कर्मा र पेमाको असम्भव मिलन पनि कर्माको टुङ्नाको सङ्गीतले जोडेको हो।
कथामा राम सरको आगमन पनि रोचक छ । हिमाली लामा परिवारको जीवनमा राम सरको ट्युसन शिक्षकका रुपमा प्रवेश भयानक अशिष्ट छ। पेमाले विद्यालयको होस्टेलमा चौठीमा तीनपाने रक्सी लगेर दावालाई पढाइदिन आग्रह गर्छिन् । राम सर घरमै पढाइका साथै खानपिनमा मस्त हुन्छन्। ज्यादा डोजले अचेत रामलाई घोडामा लादेर छाद्दै घर पुर्याएको हल्ला फैलिन्छ।
त्यो घटनाले पेमा र टासीको प्रेम जीवन टुङ्गिन्छ। राम नाम नै काफी छ एउटा सुन्दर संसार भत्काउन। अन्त्यतिर राम काठमाडौं फर्किन्छ, जब समस्या जटिल भइसकेको हुन्छ। शान्त समाज नभत्काउ, आफ्नै पनमा छोडिदेऊ । सिनेमा साउती गर्छ।
बुद्धको जीवन पुनर्जीवनमा आधारित छ भन्छ तिब्बती महायान बौद्ध दर्शन। हिन्दुले बुद्ध र राम विष्णुको अवतार भन्छन् । त्यसैले मीन भामले राम सर पेमाको जीवनमा प्रक्षेपण गरे। सिनेमाभरि पेटको बच्चालाई दुई अर्थमा बोकियो। गाउँले र टासीले रामको अवैध सन्तान भने। त्यसैले टासीले गर्भपतन गराउन जोड गर्यो । रिम्पोछे र कर्माले जन्म महान हो, निन्दा मिथ्या छ, यो रिम्पोछेको पुनर्जन्म हो भने।
पेमाले त्यो रहस्यमय तत्व मात्र टासीलाई बताउने प्रतिज्ञा गरिन्।समुदायको व्यभिचारको आक्षेपलाई साँस्कृतिक कानुनमा टुङ्ग्याउन तारो हान्ने चुनौती दिइन् र समाजसँगै टासी हार्यो ।
बच्चालाई जन्माएर देह त्यागिन् । स्वर्गमा रिम्पोछेसित मिलन भयो। बच्चा टासीको थियो। टासीको चित्त ईर्ष्या, घृणा जलनले भरिएकाले स्वर्ग जाने मार्गमा अनुहार लुकाएर बसेको थियो।
ढोकामा झुन्डिने दोचाको बिम्बले त्यो घरमा शान्ति समुन्नति छ । वैवाहिक जीवन सुखमय छ। बहुपति प्रथामा दोचाधारीकी पत्नीमाथि हैकम छ भन्ने बुझिन्छ। ल्हासा क्याराभान जाँदा छिमेकीले पोल लाएर टासीको मन भाँचिई नफर्केपछि कान्छा दावाले ढोकामा आफ्नो दोचा झुन्ड्यायो। पेमालाई म अब यो घरको मूली हो, रक्सी ल्याउ भनेर आदेश गर्यो। पेमाले थर्काएर भताभुङ बनायो।
बिहेको दिन पेमालाई तिम्रा तीन पतिहरु हुन् भनिएको तर आमाबाट कानमा एउटा मात्रै विशेष हुन्छ भनिएको थियो। टासी पेमाका खास पति थिए र प्रेम उसैसित गर्थी।
हृदय टासीसित नै थियो। शारीरिक आवश्यकता र हृदयको प्रेम नितान्त फरक हो भनेको छ सिनेमाले। महिला अरुले सोचेजस्तो नहुने निर्क्योल पेश गरेको छ।
हिमाली डोल्पो लामा शेर्पा जातिको बहुपति प्रथाको फेहरिस्त पूर्वको ताप्लेजुङदेखि मनाङ-मुस्ताङ हुँदै पश्चिम डोल्पा हुम्लासम्म १७ पुस्ता ज्यादा परम्परित भएको संस्कृति हो। यो आफ्नो सम्पति, पशुपालन, व्यापार र पारिवारिक एकता जोगाउन कैयौं शताब्दीसम्म टिकेको प्रथा हो। तर हाल आएर यो सिनेमाको जस्तो छैन।
सिनेमाले बहुपति प्रथामा नारीको स्वीकारोक्ति छ भन्ने दृश्य खिच्छ। तीन पतिसित बिहे गर्ने कुरामा पेमाको हँसमुख सहज अवस्थाले त्यस्तो बिम्ब प्रतिबिम्बित गर्छ।
तथापि वर्तमानमा नारी अधिकार, स्वतन्त्रता, शिक्षा आदि कारणले सिनेमाको जस्तो समाज सजिलै पाइँदैन। होला, कसैलाई मनदेखि नै यो इच्छा नहुने होइन।
साम्बालाले हिमाली भेगको खास जातिगत जीवनशैली र प्राकृतिक सौन्दर्यको बृहत्तर उत्खनन् गर्ने अर्को जमर्को गरेको छ। वर्तमानमा यसअघि उजागर नगरिएको मूलधारबाट लुप्त बनाइएको समाज, संस्कार, संस्कृति, आख्यान, प्रथा, चालचलन, सीप, कला, लोकनाच, लोकसंस्कृति, बाजा, पहिरन, दक्षता, भूगोल आदिलाई ७० को उत्तरार्ध र ८० को पूर्वाध दशकमा नेपाली सिनेमाले जोड गरिरहेको छ। जारी, गाउँ आएको बाटो र घरज्वाइँ त्यसैका प्रयास हुन्।
नेपाली भाषाको सिनेमा कि नेपाली सिनेमा ? को प्रसव पीडामा छ नेपाली सिनेमा। साम्बलाले भन्न खोजेको नेपाली सिनेमा त्यही बाटोमा छ। बहुभाषिक बहुजातीय बहुसांस्कृतिक बहुधार्मिक नेपालको नेपाली सिनेमाको लम्बेतान गोरेटो हिँड्ने प्रयासमा साम्बाला सफल भएको छ।
फिल्मले कसरी उत्तरी सीमानाका मानिसहरुको जिन्दगी पशुपालन र तिब्बतसँगको व्यापार गर्दै जिन्दगीको कथा बुन्छ भन्ने एउटा रोमाञ्चक सन्कसनीपूर्ण कथा भन्छ।
चौँरी, याक, भेडा, च्याङ्ग्रा आदि पाल्नु, हिमालको फेदमा सिरेटोसँग जीवन बिताउनु अनि हेमान याक जोत्नु कति अद्भूत दृश्यले दर्शकको मन चलायमान हुन्छ। चौँरीको क्याराभान लावालस्कर लिएर पठारै पठार हिउँको ओछ्यानमाथि तिब्बत पुग्नु र अग्लो पास भञ्ज्याङ मुस्किलले छिचोल्नु कम जोखिमपूर्ण र रोमान्चक छैन।
आफ्नो मान्छे हराएपछि एक्लै नाम्खा घोडा लिएर दोजिया पेमाले कसरी यात्रा गरिन्, सहरिया नारीहरूले सोच्न पनि नसक्ने सहास भन्छ साम्बालाले।
घोडा चोरी भएर भएको झगडामा भन्ते कर्माले द्वन्द्व समाधान गर्न आफ्नै घोडा फिर्ता गर्न उल्टै पैसा तिर्छ। छोरीको मृत्युमा सदगत गर्ने लामा नपाउँदा पश्चातापले पैसा फर्काउँदै माफी माग्छ।
जिन्दगीमा परिबन्दले कसरी मानिसलाई मान्छे बनाउँछ। दया कति महान कुरा हो। हामी एउटै होमोसेपियन्सका सन्तानहरु आफ्नो पृथक भूगोल संस्कारले फरक छौँ । त्यो रिवाज हामीले बाँचेको समय र स्थानले निर्मित छ । त्यसैले विविधता छ। फरक भएकै कारणले अचम्मित छ। त्यो अद्भुत सत्यले यो पृथ्वी जिउन सजिलो बनाएको छ। नत्र मान्छे दिक्क भएर आत्महत्या गरिसक्थे होलान्। यसको सम्मान गरौं ।
सिनेमाको अर्को शक्ति भनेको पात्रको मातृभाषा, लवज, भेषभुषा, चलन, आचरण र भूगोल पनि हो। पेमाको भाषिक क्षमताले भूमिकामा न्याय गरेको छ। पानी नपाइने भेगमा खुट्टा छोएको हात टक्टकाएर औंलाले घुमाउँदै खाना खानु सिनेमाको सबल पक्ष हो।
त्यस्तै, यो सिनेमा पूर्ण सांस्कृतिक बन्न राजनीतिबाट सम्पूर्ण रूपमा अलग गरेर प्रस्तुत गरिएको छ। मात्र सांस्कृतिक आदिवासी कानुन हाबी छ। सिनेमाले भन्न नसकेको कथा पनि छ।
यो मोबाइल, इन्टरनेटअघिको ४० को दशकको कथा हो। फोटो बोकेर हिँड्ने रिलको समय। तर, राम सर फेदर ज्याकेट लाएर सिनेमाभरि छाउँछन् । फेदर चुज पेन्ट ७० उत्तर दशकको कुरा हो। ओभरकोट र बेगी पेन्ट हो त्योबेला।
बहुपति प्रथा अस्वीकार गर्दै एकल बिबाह गर्ने विद्रोहीको कथा छैन साम्बालामा।
कारण साम्बालाले अस्वीकार्य गर्ने विद्रोहीको कथा भनेको होइन। यो त्यो बहुप्रति प्रथाको सांस्कृतिक कथा हो।
नाम्खा घोडालाई हिमाली ब्वाँसोले मारेको पार्स्व कथा मात्र छ। ब्वाँसोको शिकार सिनेमाले खिच्न नसक्ने र आवश्यक पनि ठानेन। कठिन भञ्ज्याङ छिचोलेर ल्हासा पुगेको सानो क्लिप्स कठिन र अनावश्यक भएर नराखेको होला।
साम्बालाले हिमाली जीवनमा बौद्ध दर्शनभित्र सपना पुनर्जीवन स्वर्ग-नर्क बीचको बहुपति र प्रेमीसमेत पेमाजस्ती नारीले कसरी भोगेर आधा शताब्दी ज्यादा बाँचेर आएको छ, यस्तो अद्भूत कथा विश्वलाई समर्पण गरेको छ। मीन भामलाई साधुवाद ! अलि अघिबाट कविता आख्यानले काँध हाल्यो र भर्खरै हो नाटक सिनेमाले आदिवासी सौन्दर्यको भरमार बाढी बोकेर हिँडिरहेको समय।