स्वास्थ्य

मौसम परिवर्तनसँगै फ्लुका बिरामी बढे : मास्क लगाउन चिकित्सकको सुझाव

By पवन मुडभरी

September 24, 2024

काठमाडौं – भर्खरै पानी पर्ने मौसमबाट सुख्खा मौसमको सुरु हुँदैछ। यो मौसम परिवर्तनसँगै हावा पानी परिवर्तन हुने, वायु प्रदूषण हुने भएकाले हाम्रो जीवनशैली पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने हुन्छ। अहिलेको मौसममा बिहान बेलुका हल्का चिसो हुने र दिउँसो चर्को घाम लाग्ने भएकाले हाम्रो रहनसहन खानपानलगायत कारणले स्वास्थ्यमा विभिन्न समस्या देखिने गर्छन्।

ज्वरो, रुघाखोकी, दम, लगायतका स्वास्थ्य समस्या यो मौसममा धेरै हुने चिकित्सक बताउँछन्। जसलाई चिकित्सकीय भाषामा मौसमी फ्लु भनिन्छ। दीर्घ रोगी, बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा मौसमी फ्लुको धेरै जोखिम हुने चिकित्सक बताउँछन्।

फिजिसियन डा. प्रतिक पौडेलका अनुसार मौसम परिवर्तनका बेला विशेष गरी दुई किसिमका समस्या धेरैलाई देखिने गर्दछन्। उनी भन्छन्, ‘एउटा सिजनल फ्लु र अर्को कोल्ड। कोल्ड मात्रै भयो भने रुघा खोकी लाग्ने, मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् भने सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्नेसँगै रुघाखोकी लाग्ने हुन्छ। तर यी दुवै भाइरस किटाणुकै कारणले हुने गर्दछन्। जसलाई इन्फ्लुएञ्जा भाइरस भनिन्छ।’

यसका भाइरस ए, बी, सी र डी गरेर चार प्रकारका हुने उनले बताए। यसमा मान्छेमा धेरै देखिने र बढी घातक ए र बी हुन्। यो फ्लु विश्वमा नै बढ्दो क्रममा रहेको उनले बताए। फ्लुले विश्वमा हरेक वर्ष एक अर्ब मानिस प्रभावित हुने गरेको तथ्याङ्क रहेको डा. पौडेलको भनाइ छ।

तथ्याङ्क अनुसार हरेक वर्ष फ्लुकै कारण दुईदेखि ६ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि असोज कार्तिक महिना अर्थात् जाडो सुरु हुनु अगाडि फ्लुका बिरामी बढ्ने गरेको पाइएको उनले बताए। डा. पौडेलले भने, ‘अहिले दैनिक ओपिडीमा आउने बिरामीमा २५ प्रतिशत बिरामी फ्लुका आउने गरेका छन्। कोभिड महामारीपछि फ्लुका बिरामीको संख्यामा केही कमी आएको छ। तर गत वर्षको तुलनामा अहिले बढेका छन्।’

नाक, कान, घाँटीका बिरामी बढे वीर अस्पतालमा कार्यरत नाक, कान र घाँटी रोग विशेषज्ञ डा. अरुण केसी मौसम परिवर्तनसँगै नाक, कान र घाँटीका बिरामीहरु बढेको बताउँछन्। त्यसमा पनि सबैभन्दा बढी नाकको एलर्जीका बिरामी आउने उनको भनाइ छ।

डा. केसीका अनुसार वीर अस्पतालमा अहिले दैनिक १५० देखि दुई सय जना बिरामी नाक, कान र घाँटीको समस्या लिएर आउने गरेका छन्। कानको जालीमा पहिलेदेखि नै प्वाल परेका, नाकमा मासु पलाएका, घाँटीमा एलर्जीको समस्या धेरै देखिएका बिरामीमा भाइरल इन्फेक्सन र एलर्जीको समस्या धेरै देखिने उनले बताए।

त्यस्तै मौसमी फ्लुसँगै डेङ्गीको संक्रमण पनि बढ्दो क्रममा रहेको र कोभिडका बिरामी देखिन थालेको वीर अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा बताउँछन्। डा. शर्माले भने, ‘मौसम परिवर्तनका बेला विभिन्न भाइरस सक्रिय हुन्छन् त्यसमा कोभिडका विभिन्न भेरीयण्टका बिरामी थपिएका छन्।’

मैसमी फ्लु र कोभिडको लक्षण मिल्दोजुल्दो भएकाले यसबाट जोगिन मास्कको प्रयोग अनिवार्य गर्न उनको सुझाव छ। साथै यो मौसमी फ्लुबाट विशेष गरी दीर्घरोगी प्रभावित हुन्छन्। कलेजोका बिरामी, मिर्गौलाका बिरामी, मुटु, सुगर तथा प्रेसरका बिरामी बढी प्रभावित हुने भएकाले मौसम परिवर्तनको समयमा भाइरसबाट बच्न भ्याक्सिन लगाउनु राम्रो हुने उनले बताए।

टेकुमा सरुवा रोगका बिरामीको चाप मौसम परीवर्तनसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा एक सातायता डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको उनको भनाइ छ। उनका अनुसार डेंगी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन्।

अस्पतालका निर्देशक डा. बसौलाले अहिले सरुवा रोगका दैनिक आठ जना बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये धेरै डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामी छन्। भदौयता डेंगीका १९५, स्क्रब टाइफसका १३ र सर्पदंशका ७१ बिरामीले उपचार गरेका छन्।

स्वास्थ्य विभागका अनुसार देशभर ११ हजार ५ सय ४५ जनाका डेंगुको संक्रमण देखिएको छ। जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ।

उपचार के छ ? मौसमी फ्लुको यो औषधी छ भन्ने हुँदैन। बिरामीहरु प्राय भर्ना गरेरै उपचार गर्नुपर्ने खालका हुँदैनन्। पहिले रोगको पहिचान गरेर उपयुक्त उपचार गर्नुपर्ने चिकित्सक बताउँछन्।

जस्तै ज्वरो आएको छ भने सिटामोल दिने, घाँटी दुखेको छ भने नुन पानीले कुल्ला गर्ने, एलर्जी छ भने एलर्जीको औषधी खानु राम्रो हुने चिकित्सकको भनाइ छ। सामान्य अवस्थामै कडा औषधी नखानु राम्रो हुन्छ। सुरुमा एन्टिबायोटिक प्रयोग गर्दा त्यसले स्वास्थ्यमा अन्य असर गर्ने जोखिम भएकाले यसलाई आफूखुशी प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका छन्। स्वास्थ्य समस्या लामो समयसम्म रहेमा सम्बन्धित विज्ञलाई भेटेर जाँच गरेर औषधि खान सकिने उनीहरुको भनाइ छ।

बच्न के गर्ने ? मौसमी फ्लु भनेपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडो फैलिने भएकाले यसबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने चिकित्सक बताउँछन्।

डा. पौडेलले भने, ‘कोभिड जस्तै भाइरसबाट सबै रोग चाँडो फैलिने भएकाले सरसफाइ, पोषण लगायतका कुरामा ध्यान दिनु आवश्यक छ।’ पछिल्लो समय एन्फ्लुएञ्जा भाइरसको संक्रमणबाट बच्नका लागि भ्यक्सिन नेपाल लगायत विश्वभर नै उपलब्ध छ। जसले एक वर्षसम्म भाइरसको संक्रमणबाट जोगाउन सहयोग पुर्याउने उनले बताए।

यो भ्याक्सिन गर्भवतीदेखि बालबालिका र वृद्धवृद्धा सबैले लगाउन मिल्ने भएकाले एकदमै सुरक्षित हुने र असोज कात्तिकमा लगाउँदा अझ बढी प्रभावकारी हुने उनको भनाइ छ।

डा. केसीले भने, ‘कोभिडको बेलामा मास्कको प्रयोग अनिवार्य भएकाले मौसमी फ्लु तथा नाक, कान र घाँटीका बिरामीमा कमी आएको थियो। मौसम परिवर्तनको बेलामा बिहान बेलुका चिसो हुने र दिउँसो गर्मी हुने भएकाले त्यही अनुसारको खाना खान र लुगा पनि त्यही अनुसारको लगाउनुपर्छ।’

लामखुट्टेको टोकाइबाट सर्ने डेंगी लगायत विभिन्न सरुवा रोगको प्रकोप पनि बढ्दो क्रममा रहेकाले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, घर वरपर सफा राख्ने, पानी जम्न नदिने लगायत आवश्यक सतर्कता अपनाउन चिकित्सकको सुझाव छ।