ब्रेकिङ स्टोरी

प्रधानमन्त्री अमेरिकामा हुँदा काठमाडौंमा धरपकड किन ?

By ज्ञानु घिमिरे

September 24, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर देशभित्र छैनन् । उनी संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन न्यूयोर्कमा पुगेका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी कांग्रेस नेता प्रकाशमान सिंहले सम्हालिरहेका छन्। गृहमन्त्रालय कांग्रेसकै नेता रमेश लेखकले हाँकिरहेका छन् ।

प्रधानमन्त्री देश बाहिर भएका बेला यता स्वदेशमा दुर्गा प्रसाईं समातिएका छन् । सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले पक्रेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत पक्राउ पर्ने चर्चा व्याप्त छ ।

राज्य भनेको निरन्तरतामा चल्ने संस्था हो । प्रधानमन्त्री केही दिनका लागि विदेश जाँदैमा प्रधानमन्त्रीको कमाण्डमा देश छैन भन्न मिल्दैन । अहिलेको इन्टरनेटको जमानामा अमेरिकाबाटै प्रधानमन्त्री सूचना लिने र निर्देशन दिने काम भइरहेको पनि हुन्छ ।

प्रधानमन्त्री ओली देशमा नभएकै बेलामा दुर्गा प्रसाई समातिनु र रविलाई समात्ने तयारी गर्नुका पछाडि यो संयोग मात्रै हो कि यसमा खास गरी कांग्रेसको नेतृत्वले बढी जोड गरेको हो ? यस्तो प्रश्न पनि उठ्न थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल प्रधानमन्त्री विदेशमा भएका बेला यता काम अह्राएर साखिलो हुन खोजेको बताउँछन् । उनी प्रधानमन्त्री ओलीले नै सभापति लामिछानेलाई दुःख दिने नियत लिएको बताउँछन् ।

अर्यालले खबरहबसँग भने, ‘सेटिङ मिलाएर प्रधानमन्त्री साखिलो हुँदै हुनुहुन्छ । सबै यो सरकारको जाल हो । यहाँ हुँदा सक्नुभएन, उता गरेर नाटक देखाउनुहुन्छ ।

छविलाल जोशी पक्राउ पर्नु पनि सेटिङ नै हो त भन्ने प्रश्नमा अर्याल भन्छन्, ‘सबै ठूला नेताले फसाउन जाल गरिरहेका छन् ।’

रास्वपा सभापति रविले पनि आइतबार राति फेसबुकका स्टाटस लेखेर प्रधानमन्त्री ओलीले नै यो काम गरेको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस्, बसेर कुरा गरौँ । सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्नँ । बाँकी भोलि’

रास्वपा तरंगित

रासपाका उपसभापति स्वर्णिम वाग्लेको टोली शनिवार चीन प्रस्थान गरेको थियो । कम्युनिस्ट पार्टीको निमन्त्रणामा पहिलो पटक रास्वपाको टोली चीन गएको हो। उपसभापति वाग्लेको नेतृत्वमा पार्टीका प्रवक्ता समेत रहेका मनिषा झा, सांसदहरू शिशिर खनाल, गणेश पराजुली, डाक्टर तोशिमा कार्की, असीम शाह कोषाध्यक्ष लिमा अधिकारी लगायतको टोली चीनतर्फ गएको थियो।

कतिपय नेताहरू उपसभापति सहितको टोली चीन गएकै बेलामा नेपालमा सभापतिलाई पक्राउ गर्ने खोज्नु नियतवश भएको दाबी गर्छन्। रासपाका सभापति स्वर्णिम वाग्लेले नै ,आफूहरू विदेश भएका बेला सभापतिमाथि आक्रमण भएको उल्लेख गरेका छन्।

सभापति रवि लामिछानेलाई प्रहरीले पक्रन लागेको भन्दै राप्रपा नेताहरु तरंगित बनेका छन् । यही आवेगमा सभापति लामिछानेले चीन भ्रमणमा गएका १४ नेतालाई तत्काल स्वदेश फर्कन भनेका छन् ।

रास्वपा उपसभापति अर्याल प्रहरीले सभापति लामिछानेलाई पक्रन खोजेको तर सूचना र अधिकारिकता नभएपछि कार्यकर्ताको डरले सरकार आफैं पछि हटेको दाबी गर्छन् । कुनै जानकारी र सूचना नदिइकन सरकारले रास्वपालाई धम्क्याएको उनी बताउँछन् ।

आइतबार शुभचिन्तक तथा पार्टी कार्यकर्ताहरू पार्टी कार्यालय आएपछि प्रहरीले रविलाई पक्रन नसकेको नेताहरुको दाबी छ । उपसभापति अर्यालका अनुसार सभापति रवि लामिछाने पनि पार्टी अफिसमा नै दिउँसैबाट थिए । उनी भन्छन्, ‘सादा पोशाकमा प्रहरी आएका थिए, तर भित्र पसेको होइन । चारतिर घेरा हालेर बसेका थिए ।’

रास्वपाका सांसद हरि ढकाल पनि सभापति लामिछानेलाई घर र पार्टी कार्यालयमा सादा पोशाकका प्रहरी परिचालन गरेर सरकारले दुःख दिएको बताउँछन् ।

आइतबार राति १० बजेसम्म सभापति लामिछाने शुभचिन्तकहरुसँगै पार्टी कार्यालयमै बसे । तर, पक्राउ परेनन् । प्रहरी पनि पक्राउ नगरी फर्कियो । रास्वपाका नेताका अनुसार ‘पक्राउ गर्ने आधार र जानकारी केही थिएन ।’

रास्वपा नेताका अनुसार सादा पोशाकमा दुई जना प्रहरी पार्टी कार्यालयभित्र छिरेकाथिए । सायद सभापतिलाई केही सोधपुछका लागि गएका होलान् । तर, पोशाक लगाएका प्रहरी भने आइतबार पार्टी कार्यालयभित्र प्रवेश गरेनन्।’

रास्वपा सचेतक निशा डाँगी प्रहरीको कुनै पनि निकाय पार्टी कार्यालयमा प्रवेश नगरेको र बाहिर समेत नआएको तर्क गर्छिन् । उनी सभापति रवि लामिछाने पक्राउ पर्ने कुरा मिडियामा आएको हल्ला मात्रै भएको दाबी गर्छिन् ।

बेलुका पार्टी कार्यालयमा उपस्थित भिडलाई सम्बोधन गर्दै रास्वपाका अर्का नेता विराजभक्त श्रेष्ठले भने, ‘उहिले पञ्चायतमा यस्तो हुन्थ्यो रे । हामी आधिकारिकता खोजिरहेका छौँ । आधिकारिकता ।’ आइतबार हल्लाखल्ला भए पनि सोमबार भने रास्वपा कार्यालयको वातावरण सुनसान थियो । सभापति लामिछाने पनि कार्यालयको काममै व्यस्त भए ।

उता, कांग्रेस नेता मीन विश्वकर्मा भने लामिछानेको कुनै गल्ती नभए प्रहरीले आफ्नो काम गर्न खोज्दा आत्तिएर नेता कार्यकर्ता भेला गर्न आवश्यक नभएको जिकिर गर्छन् । त्यस्तै, नेकपा एमालेका नेता पदम गिरी पनि रविको गल्ती नभए प्रहरीले गरेको अनुसन्धानमा किन नसघाएको ? भनेर प्रश्न गर्छन् ।

छवि पक्राउ पर्दा किन पक्राउ परेनन् रवि ?

मुद्दाको प्रकृति हेर्दा रवि लामिछाने र छवि जोशीको केस एउटै हो । सहकारी समितिको प्रतिवेदनमा रवि लामिछाने र छवि जोशीलाई समान रुपमा कारबाहीका लागि सिफारिस भएको छ। तर, आइतबार छवि जोशी पक्राउ पर्दा रवि लामिछाने भने समातिएनन् । आखिर किन ?

पूर्वडीआइजी  एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी

नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल प्रहरीले विशेष अवस्थालाई ख्याल गरेर रविलाई पक्राउ नगरेको हुन सक्ने बताउँछन् । उनी रास्वपा सभापति भएको सरकारमा कुनै न कुनै ढंगले जोडिएका कारण पनि प्रहरीले तत्काल धरपटट नगरेको हुनसक्ने बताउँछन् ।

‘हिजोको परिस्थिति अलि फरक थियो छविलाई पक्राउ गर्दा उनी पब्लिक मान्छे थिएनन् । सहज भयो तर रविलाई पक्राउ गर्न खोज्दा उनी पब्लिक मान्छे भएको कारणले समाजमा अराजकता फैलिने डरले पनि प्रहरीले यस्तो केसमा विशेष संवेदनशीलता अपनाउने गर्छ,’ मल्लले भने, ‘शान्ति सुरक्षा कायम गर्नका लागि एक व्यक्ति पक्राउ गर्दा अरू थप यति नहोस् भन्ने हिसाबले पनि रविलाई पक्राउ नगरेको देखिन्छ ।’

मल्लको विश्लेषणमा राजनीतिक हिसाबले कुनै न कुनै रूपमा रवि पनि सत्ताको वरिपरि नै छन् । यसअघि पनि उनले सहकार्य गरेकै हुन् । ठूलो पार्टीको सभापति भएका कारण पनि उनलाई संरक्षण भएको हुनसक्छ ।

प्रधानमन्त्री विदेश भ्रमणका भएका बेलामा सरकारले दाउ हेरेको हो त ? भन्ने प्रश्नमा मल्लले भने, प्रहरीले त्यो ढङ्गले नहेरेको हुन सक्छ । छविलाल जोशी र रवि लामिछाने पक्रनुको कारण एउटै भए पनि उनीहरूको केस अलग–अलग ढंगले पनि अगाडि बढ्नसक्ने बताउँदै मल्लले खबरहबसँग भने, ‘यो विषयमा प्रधानमन्त्रीलाई पनि जानकारी त भएकै हुन्छ । तर, यो संयोग होला ।’ प्रहरीले काम गर्दा प्रधानमन्त्री बाहिर छन्, कुरेर बसौँ भनेर नसोच्ने मल्ल अनुभव सुनाउँछन् ।

मल्लले जुनसुकै अवस्थामा पनि रवि लामिछाने पक्राउ पर्न सक्ने बताए । कम क्षति हुने ध्यानलाई मध्यनजर गर्दै रविलाई बाटोमा हिँड्दा, घरमा वा अन्य क्रियाकलापका बेलामा प्रहरीले पक्राउ गर्न सक्छ । उनले भने, ‘पब्लिक मान्छेलाई प्रहरीले पक्राउ गर्ने कुरा हल्ला गर्नुपर्ने विषय थिएन, हिजो धेरै हल्ला भयो।’

रविको गुनासो : सरकारले जुनसुकै बेला जे पनि गर्न सक्छ

आइतबार १० बजे राति पार्टी कार्यालयबाट घर फर्कनुअघि रवि लामिछानेले आफू असुरक्षित भएको र सरकारले जुनसुकै बेला जे पनि गर्न सक्ने बताए । ‘साथीहरू संयमित भइदिनुहोला, यो सरकारले मलाई जे पनि गर्न सक्छ । म असुरक्षित भएको छु।’

लामिछानेले अगाडि भने, ‘नयाँ दलको उदय भएपछि यसलाई कसरी फसाउनु भनेर यी ठूला दलहरू आत्तिएका छन् । यहीबेला नयाँ शक्तिहरू एक भएर जुट्नुपर्छ । नत्र यी ठूला दलले जे पनि गर्न सक्छन् । मेरो गल्ती भए कारबाही भोग्न तयार छु तर सरकारको पञ्चायती शैली र अधिनायकवाद मलाई ठीक लागेको छैन । नयाँ दलहरू एक हौँ आउनुहोस् ।’

नेताहरू विदेश गएका बेला रविलाई नियतबस पक्राउ गर्न रोज्नु भएको हो भन्ने प्रश्नमा सरकारका प्रवक्ता पृथ्वी एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले खबरहबसँग भने, ‘प्रहरीले आफ्नो काम गर्ने हो, सरकारले आफ्नो । प्रतिवेदनले नै दोषी देखाएपछि ढाकछोप गर्न किन नानाथरी भन्नु र ? अपराधी जोसुकै होस् प्रहरीले छानविन गर्छ । प्रकृया पुर्‍याउँछ ।’

दुर्गा प्रसाईँ पनि पक्राउ हुनु संयोग कि योजना ?

सरकारले आइतबार नै मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि उनकै निजी निवास भक्तपुरबाट पक्राउ गरेको छ। उनलाई रास्वपा नेत्री ज्वाला संग्रौलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ गरिएको हो । गृह मन्त्रालयका एक अधिकारी प्रधानमन्त्री विदेशमा भएका बेला पक्राउ पर्नु संयोग मात्रै भएको बताउँछन्।

उनले भने, ‘सरकारले अपराधी कहिले पक्रने भनेर हेरेर बसेको हुँदैन, यो संयोग मात्र हो। सरकारले अपराधीलाई कानुनको दायरामा ल्याएरै छाड्छ। बाँकी काम प्रहरीको हो ।’

धनराजमाथि विपक्षीको प्रश्न

सहकारी प्रकरण विपक्षीहरु पक्राउ पर्ने तर कांग्रेस नेता धनराज गुरुङ किन पक्राउ नपर्ने भन्दै रास्वपा लगायतका विपक्षी दलका नेताहरुले प्रश्न उठाएका छन् । तर, सभापति रवि लामिछाने र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको मुद्दाको प्रकृति अलग भएको कारण यसलाई एउटै डालोमा राखेर हेर्न नहुने सरकारका प्रवक्ता गुरुङ बताउँछन् ।

सहकारी अपचलनमा धनराज गुरुङ प्रत्यक्ष ढङ्गले नजोडिएको तर उनीमाथि नेपाल प्रहरीको उच्च अधिकारी साइबर ब्युरोले अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ ।

कांग्रेस सांसद धनराजले श्रीमती ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीको १४ करोड ८१ लाख रकम हिनामिना गरेर भागेको कारण सहकारीका अध्यक्ष कुम्भराज राईले प्रहरीमा उजुरी गरेका छन् । सो उजुरी उपर छानबिन भइरहेको सीआईबि प्रहरी प्रवक्ता होविन्द्र बोगटी बताउँछन् । प्रहरीले आफ्नो काम गरिरहेको छ । बोगटीले भने, ‘तथ्य प्रमाणहरू बटुल्न समय लाग्छ । दोष हो होइन कसरी भन्ने ? अहिले अनुसन्धान भइरहेको छ ।’

पूर्वडीआइजी मल्ल भने धनराज पनि कुनै न कुनै हिसाबले कानुनको दायरामा आइछाड्ने बताउँछन् । सबैको पालो आउँछ, श्रीमतीले गरेको काममा श्रीमानको पनि हात हुन्छ त्यो पनि काम काम बिग्रेपछि डिभोर्स भएको रहेछ, पूर्वडिआइजी मल्लले भने, ‘प्रहरीले जुनसुकै ढङ्गले भए पनि सबैलाई कारबाही गरेरै छाड्नु पर्ने हो, ठगीका कुरामा राजनीति स्वार्थ राख्न भएन ।’